arrow

सुन्तला यस वर्ष पाँचथरमा वढ्ने अनुमान

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
432462346.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । अलैँची पछिको मूख्य नगदे बाली सुन्तलाको उत्पादन यसवर्ष पाँचथरमा बढ्ने अनुमान गरिएको छ । फूल खेलेर चिचिला लाग्ने बेलामा असिना नपरेपछि अघिल्लो वर्ष भन्दा बढि सुन्तला उत्पादन हुने भएको हो । अमरपुरका सुन्तला कृषक पुण्यप्रसाद सुवेदीले सुन्तला नटिपेको तर बढि फलेको बताए । २२ वर्ष देखि सुन्तलाबाट आम्दानी लिँदै आएका सुवेदीले यसवर्ष ५ लाख मूल्य बराबरको सुन्तला बेच्ने सोच बनाउनु भएको छ । गत साल एक हजार बोटबाट ६० क्वीन्टल सुन्तला फल्दा चार लाख आम्दानी गरेका थिए ।

उनले उत्पादन गरेको सुन्तला व्यापारी मार्फत झापाको विर्तामोड निर्यात हुने गरेको छ । तर बोटमा लाहा जस्तो रोगको संक्रमण देखिएको र रोगको निदान गर्न नसकिएको बताए । उता कुरुम्बाकी सुन्तला कृषक इन्दिरा लावतीले सुन्तला राम्रै फलेको बताईन् । बगानमा सुन्तला सन्तोषजनक फलेको र आम्दानी पनि कम्तीमा तीन लाख हुने उनको भनाई छ । बगान नयाँ लगाएको हुँदा स–साना बोट रहेको तर मनग्ये आम्दानी लिने बेलामा पात सुक्दै बोट पनि सुक्न थालेपछि चिन्तित भएको बताए ।

जिल्ला कृषि विकास कार्यालयबाट आफूहरुलाई संक्रमण हटाउनेबारे वर्षमा एक पटक तालिम दिँदै आएको र थप्नु पर्नेमा जोड दिए । कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत हरीप्रसाद पाण्डेले फ्रुट फ्लाई(फल कुहाउने औँस)को संक्रमण बढेको भन्दै निदानको लागि प्रयास गरिरहेको बताए । बगान क्षेत्रमा बस्तु बान्ने,खनजोत गरिनाले पनि रोगको संक्रमण हुने उनले उल्लेख गरे  । पाँचथरको कुरुम्बा,आङसराङ,रानिगाऊ,चिलिङदेन,नाँगी,लुम्फाबुङ र फिदिम नगरपालिकाको चोकमागू र सिवालाई सुन्तलाको पकेट क्षेत्र मानिन्छन् ।

 अधिकाँश कृषकहरुले खोकु स्थानीय र उन्सु जातको सुन्तला खेती गर्ने गरेका छन् । कूल ६ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कमा गत साल ७ हजार ५ सय ८७ दशमलव ३४ मेट्रिक टन सुन्तला उत्पादन भएको र ४२ सय ५२ मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको उल्लेख छ । जसबाट ३४ करोड ,१४ लाख १५ हजार रुपैयाँ आम्दानी भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ