arrow

भाते बानी हटाउन खाद्यको महोत्सव

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
Grocery_shopping_online.jpg.jpeg
काठमाडौं । आम नेपाली सर्वसाधारणमा बढ्दै गएको भाते वानीलाई परिवर्तन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले खाद्य महोत्सव गर्ने तयारी गरेको छ । आधुनिक र जंक खाद्य पदार्थ खाना र खाजाको रुपमा सेवन गर्दा विभिन्न प्रकारका रोगहरु निम्तिनुका साथै कुपोषण बढ्दै गएको ठहर गर्दै बिभागले पौष्टिक तत्व भएको पोषिलो खाना र खाजा सेवन गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो महोत्सवको आयोजना गरेको हो । 
 
महोत्सव आगामी असार १० गतेदेखि दुई दिनका लागि भृकुटी मण्डपमा आयोजना गरिनेछ । ‘भाते वानीका कारण हामी नेपालीले बढी पौष्टिक तत्व भएको मकै, ढिडो, आलु, कोदो, फापरजस्ता खाद्य पदार्थ खान छाड्यौं’, विभागका महानिर्देशक संजीवकुमार कर्णले भने,‘हामी खानाको रुपमा भातमा मात्रै भर पर्‍यौं । जसले गर्दा कुपोषण बढेर विभिन्न प्रकारका रोगले संक्रमण गरेको छ । कुपोषण्बाट जोगिन पोषणयुक्त आहारा खानुपर्छ ।’
 
उनकाअनुसार व्यस्त र आधुनिक जीवन शैलीका कारण व्यस्क र बालबालिकासमेत होटेल र रेष्टुंरासहित तयारी खानेकुरामा बढी जोड दिएका कारण मुलुकका लागि कुपोषण ठूलो चुनौती बनेको छ । कुपोषणका कारण पाँच बर्ष मुनिका झण्डै ४१ प्रतिशत वालवालिका कुपोषित अवस्थामा भेटिएका छन् भने करिब ५० प्रतिशत महिलामा पनि यो समस्या भेटिएको छ ।
 
५० प्रतिशतमध्ये ३५ प्रतिशत महिलामा फलामे तत्व कम भएर रगतको कमीबाट हुने रोग एनेमियाको समस्या देखिएको छ । सहर बजारका सम्पन्न परिबारका महिलाहरुमा भने नजानेर बढी परिमाणमा पोषण तत्व सेवन गरेका कारण करिब १४ प्रतिशतमा मोटोपनाको समस्या देखिएको छ । कुपोषणका कारण बच्चा पाउने समयमा र बच्चा पाइसकेपछि बढी संख्यामा महिलाको मृत्यु हुने गरेको छ ।
 
‘कुपोषणलाई रोक्न र स्थानीय स्तरमा उपलब्ध हुने पोषणयुक्त खाद्यान्न, सागपात, तरकारी, गेडागुडीको सहि रुपमा प्रयोग गर्न महोत्सवमार्फत अबलोकनकर्तालाई जनचेतना दिन्छौं’, विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने,‘कुपोषणबाट जोगिन स्थानीय स्तरमा भेटिने गेडागुडी, फलफुल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपातलगायतका खाद्यान्न पदार्थहरु संतुलित परिमाणमा खानुपर्छ ।’
 
 महोत्सवमा विभिन्न जाति, जनजातिका परम्परागत खाद्य परिकार सहितका १८ स्टांल, विभिन्न संघसंस्थाका जानकारी मूलक २४ स्टांल, र विभिन्न उद्योगबाट उत्पादित खाद्य बस्तु बिक्रि बितरण गर्ने गरी ३६ स्टांल गरी ७८ वटा विभिन्न प्रकारका निः शुल्क स्टाँल राख्ने व्यवस्था मिलाइएको छ । जसमा आदीवासी जनजातिले पौष्टिकयुक्त मौलिक र परम्परागत खाना तथा खाजाको स्टाँल राख्नेछन् ।
 
मेला अवधीभर विभिन्न जाति, जनजातिको परम्परागत संस्कृति झल्काउने झांकी तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको वस्तीले जानकारी दिए । मेलामा खाद्य प्रशोधनसंग सम्बन्धित व्यवसायको लागि आवश्यक पर्ने उपकरण रसायन तथा मेसिनरीसम्बन्धि पनि स्टांल राख्ने व्यवस्था गरिएको छ ।
 
नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ(नेफोस्टा), कृषि उद्यम केन्द्रलगायतका संघसंस्थाको सहयोगमा आयोजना गर्न लागिएको महोत्सवमा ५० हजार सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको छ । अवलोकनकर्ताका लागि निः शुल्क प्रवेशको व्यवस्था गरिएको विभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ