arrow

भैलो खेलेर अस्पताललाई डिजिटल एक्सरे मेसिन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
968086734.jpeg
निर्मल खत्री, म्याग्दी। रोजगारको सिलसिलामा हङकङ पुगेका म्याग्देलीहरुले जिल्ला अस्पताल म्याग्दीलाई अत्याधुनिक डिजिटल एक्सरे मेसिन उपहार दिएका छन्। म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले शुभ दीपावलीको अवसरमा देउसी–भैला कार्यक्रम सञ्चालन गरेर साढे ११ लाख रुपैयाँ लागतमा एक्सरे मेसिन उपलब्ध गराएका हुन्। उक्त मेसिन अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच सांसद नरदेवी पुन मार्फत अस्पताललाई हस्तान्तरण गरिएको छ। 
 
हङकङमा म्याग्देली र नेपाली समुदाय माझ दुईघण्टा भैलो खेलेर १८ लाख ११ हजार ६४ रुपैयाँ संकलन गरिएको मोना हङकङका अध्यक्ष इन्द्र एलजी थापामगरले जानकारी दिए। बाँकी ६ लाख ६५ हजार रुपैयाँ मेसिनको मर्मतसम्भारका लागि अक्षयकोषको रुपमा राखिने छ। ‘जिल्ला अस्पतालबाट एकबर्ष अघि यस्तो अभाव छ भनेर प्रस्ताब आएको थियो, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्दा देउसीभैलौ नै उत्तम विकल्प बन्यो’, अध्यक्ष थापामगरले भने, ‘यसले जिल्लाबासीलाई धेरै सहयोग मिल्ने अपेक्षा लिएका छौँ ।’ 
 
प्रवासमा रहेपनि स्वदेश र जन्मभूमि प्रति केहि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि आफुहरुले सहयोग गरेको उनले बताए। ‘हामीले खेलेको देउसीभैलोमा म्याग्देली मात्र नभएर सबै नेपालीहरुले सहयोग गर्नुभयो, उहाँहरुलाई पनि धन्यबाद दिन चाहन्छौँ, अध्यक्ष थापाले थपे, ‘मेसिनको सहि सदुपयोग हुन्छ भन्ने विश्वास लिएका छौँ ।’ मेसिनको प्रयोग र मर्मत सम्भारका अक्षयकोषबाट आउने व्याजको रकम प्रयोग गर्न अस्पताल र मोना बीच सहमति भएको छ। 
 
दुबै संस्थाका पदाधिकारीको संयुक्त दस्तखतमा सञ्चालन हुने अक्षयकोष सञ्चालन कार्यविधी तयार पारिएको छ। पुरानो र मर्मत हुन नसकेको एक्सरे मेसिनका कारण विरामी जाँच र समस्या पहिचानमा समस्या भईरहेको समयमा प्राप्त आधुनिक मेसिनले ठुलो राहत मिल्ने अस्पताल डा. हेमा जोशीले बताईन्। ‘आधुनिक सामानले हामीलाई काम गर्न पनि सजिलो हुन्छ, विरामीलाई पनि छिटो सेवा दिन सकिन्छ, डा जोशीले भनिन्, ‘अहिले हाम्रोमा पर्वत, मुस्ताङ र बाग्लुङ जिल्लाका विरामी समेत उपचारका लागि आउने भएकाले पुरानो मेसिनबाट सेवा पुर्‍याउन धेरै समस्या भएको थियो।’ 
 
अस्पताल विकास समितिका अध्यक्ष चन्द्र केसीले प्राप्त सहयोगको सहि सदुपयोग हुने विश्वास दिलाए। ‘नेपाल सरकारले भर्खरै ५० शैथ्याको अस्पतालको स्वीकृत दिएको छ, यस्तोबेला प्राप्त सहयोगले ठुलो सहयोग पु्ग्छ, उनले भने । 
 
मोना हङकङले प्रवासमा रहेर पनि म्याग्दी जिल्लाको स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था कमजोर भएको लगायतका बिभिन्न बिकास निर्माणका कार्यक्रममा सहयोग गदै आएको छ। मोना हङकङले बिभिन्न कार्यक्रम गरि संकलन भएको रकमले जिल्लामा रहेका तीनवटा फरक क्षमता भएका बिद्यार्थी अध्यनरत बिद्यालयमा १० लाखको अक्षय कोष प्रवेशिका परिक्षामा सामुदायिक बिद्यालयकाट उत्कृष्ट हुनेलाई नगद सहित सम्मान लागयतका कार्यहरु गर्दै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ