arrow

उदयपुरका गाउँमा सिटामोल नै छैन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
962179412.jpeg
हरिकुमार राई, उदयपुर । भारतले केही महिनाअघि देखि गरेको सीमा नाका बन्दका कारण औषधि आयात हुन नसक्दा उदयपुर जिल्लाका ग्रामीण भेकका स्वास्थ्य चौकीमा जीवनजल र सिटामोलजस्ता औषधिको समेत अभाव भएको छ । 

जिल्लाको ग्रामीण भेगका स्वास्थ्य चौकीमा सामान्य जीवनजल तथा सिटामोलजस्ता औषधिसमेत सकिएपछि अहिले स्थानीय जनता पखाला लाग्दासमेत उपचारका लागि जिल्लाबाहिर जान बाध्य हुनु परेको स्थानीय जनताको गुनासो छ । 

जिल्ला अस्पतालमा समेत सामान्य औषधिको भण्डारण नै रित्तो भएका कारण जिल्लाको ग्रामीण भेगमा अहिले सामान्य झाडापखालाको उपचार गर्नसमेत औषधिको अभाव हुन थालेको हो । जिल्लाका कतिपय ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा अहिले सामान्य काटेको घाउमा लगाउने झोल औषधिसमेत नभएको सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले नै बताउने गरेका छन् । 

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको हर्देनी, लेखानी, सोरुङ छबिसे, लिम्पाटार लगायतका स्वास्थ्य चौकीमा अहिले सामान्य औषधिको समेत अभाव भएको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मी बताउँछन् । यस्तै मध्यपहाडी क्षेत्रको बलाम्ता, ठानागाउँ, बाँसबोटे, ताम्लिछा, आँपटार, जाँते, पोखरेका स्वास्थ्य चौकीमा सामान्य औषधिसमेत नभएका कारण पखाला लाग्दासमेत जीवनजलको अभावमा अन्यत्र उपचारका लागि जान बाध्य हुनु परेको स्थानीयवासी बताउँछन् । 

स्वास्थ्य चौकी लेखानीका अहेब भूपेन्द्रराज भट्टराई भछन्, “कात्तिकदेखि नै स्वास्थ्य चौकीमा जीवनजल तथा सिटामोलसमेत सकिएको छ, अहिले बिरामीका लागि सामान्य औषधि पनि छ्रैन ।” यस्तै स्वास्थ्य चौकी डुम्रेका अहेब पुष्पराज गुरागार्इंले पनि स्वास्थ्य चौकीमा अहिले काटेको घाउमा लगाउने झोल औषधिसमेत सकिएर औषधिको भण्डारण नै रित्तो भएको कुरा बताउँछन् । स्वास्थ्य चौकी इनामेका अनमी पदमकुमारी दनुवारका अनुसार पनि स्वास्थ्य चौकीमा कात्तिकदेखि नै औषधिको अभाव भएको छ । 

उदयपुरको ग्रामीण भेगका स्वास्थ्य चौकीमा अहिले सामान्य टाउको दुखेको नियन्त्रण गर्ने औषधि सिटामोल र पखालामा प्रयोग हुने औषधि जीवनजल समेतको भण्डारण सकिएपछि स्थानीय जनता सामान्य प्राथमिक उपचारका लागि पनि जिल्लाको सदरमुकामका निजी क्लिनिक वा जिल्लाबाहिर जान बाध्य भएका छन् । ठानागाउँ–५ का भाष्कर राउत भन्छन्, “दसैँको समयमा अलिकति हात काटिएपछि उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा औषधि नहुँदा उपचारका लागि सिरहाको लाहान पुगेर उपचार पाएँ ।” 

उदयपुर जिल्ला अस्पतालमा नै मुख्य औषधिलगायत सामान्य औषधिको भण्डारण नै रित्तो भएको कुरा जिल्ला अस्पताल उदयपुरका प्रमुख डा चुमनलाल दासले बताए । जिल्ला अस्पतालमा औषधिको अभाव भए पछि स्थानीयवासी निजी क्लिनिक तथा जिल्लाबाहिर समेत सहजै उपचारका लागि जाने गरेका छन् । तर अहिले जिल्लाको दुर्गम ग्रामीण भेगमा बसोबास गर्ने जनताले पखाला लाग्दा जीवनजल र टाउको दुख्दा सिटामोलसमेत खान नपाएपछि उपचारका लागि बाध्य भएर अन्यत्र जान परेको गुनासो गर्ने गरेका छन् । भारतको सीमा नाका बन्दका कारण अहिले उदयपुरको ग्रामीण भेगमा बसोबास गर्ने जनताले सिटामोल र जीवनजलसमेत प्रयोग गर्न नपाएको स्थानीय जनताको गुनासो व्यापक रुपमा बढ्दै जान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ