arrow

बढ्दैछ जलवायु परिवर्तनको खतरा

logo
दिलीप शर्मा,
प्रकाशित २०७३ जेठ ८ शनिबार
Climate-change.jpg.jpeg
काठमाडौँ । जलवायु परिवर्तनका कारण समुद्रको सतह बढेका कारण प्रशान्त महासागरीय क्षेत्र, दक्षिण एवम् दक्षिणपूर्वी एसियामा पनि यसको व्यापक असर पर्ने एक अध्ययनले देखाएको छ । 
 
सन् १९९० को दशकपछि विश्वव्यापी रुपमा प्रत्येक बर्ष औसत ०.१४ इन्चका दरले समुद्रको सतहमा वृद्धि भएको विभिन्न वैज्ञानिक अनुसन्धानले देखाइरहेका छन् । उच्च तापक्रम, खराब मौसमी घटना, बढ्दो वायु प्रदुषण, औद्योगिक क्षेत्रको अव्यवस्थित सञ्चालन जस्ता कारणले उच्च समुद्री सतहको समस्या देखिएको छ र यसका कारण उष्ण जलवायुको समस्या प्रतिवर्ष थपिँदै छ । 
 
उच्च तापक्रम खराव मौसमी घटना र उच्च समुद्री सतह जस्ता घटना सबै बढ्दो जलवायु तापमानसँग सम्बन्धित छन् र त्यसको प्रभाव विश्वका विभिन्न भागमा चरम रुपमा पर्दैछ । 
ध्रुवीय हिउँका तटहरु घटदै जानुमा बढ्दो तापक्रम वृद्धि कारक तत्व मानिन्छ । बढ्दो तापक्रमका कारण आर्कटिक सागरमा पनि हिउँको पत्र खिइँदै छ यद्यपि त्यसबाट समुद्री सतहको वृद्धिमा भने कुनै प्रभाव पर्दैन । 
 
विश्व तापमान वृद्धि सन् २०१५ को जनवरीदेखि अक्टोबरसम्ममा १४.१ सेल्सियस रहेके अमेरिकी अनुसन्धान संस्था ‘नेशनल ओसेनिक एण्ड एट्मस्फेरिक एडमिनिस्ट्रेसन’ ले बताएको छ । 
 
कम विकसित राष्ट्रको समूहले हरितगृह ग्यास उत्सर्जनलाई कमगर्न सन् २१०० सम्म औद्योगिक व्यवस्थापनलाई पूर्व अवस्थामा पु¥याउन १.५ डिग्री सेल्सियस भन्दा कम गर्नुपर्ने अडान राख्दै पेरिस जलवायु सम्मेलनमा विकसित राष्ट्रहरुलाई पनि सो कार्यमा सघाउन दवाव सिर्जना गरिसकेका छन् । 
 
सन् २०५० सम्म पुग्दा सामुद्रीक सतह बढेका कारण पर्ने उच्च प्रभाव विश्वका विभिन्न दश मुलुकमा पर्ने संयुक्त राष्ट्रसङ्घको वातावरण मामिला सम्बन्धमा अध्ययन गर्ने संस्था (जिइओ–६) को प्रतिवेदनले जनाएको छ । यीमध्ये सात राष्ट्र एसिया तथा प्रशान्त महासागरीय क्षेत्रका रहेको बताइएको छ । 
 
जलवायु परिवर्तनबाट अनपेक्षित रुपमा देखिँदै आएको सामुद्रीक सतह वृद्धिबाट एसियाली मुलुक भारतमा सबैभन्दा बढी चार करोड मानिस प्रभावित हुनसक्ने छन् । 
 
चीन, बङ्गलादेश र फिलिपिन्समा यसको बढी प्रभाव पर्ने संयुक्त राष्ट्रसङ्घको वातावरण मामिलासम्बन्धमा अध्ययन गर्ने संस्थाले हालै प्रकाशित अध्ययन प्रतिवेदनमा बताएको हो । 
 
सामुद्रीक सतहमा आउने परिवर्तनका कारण दुई करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ । त्यस्तै चीनको दुई करोड र फिलिपिन्सको एक करोड ५० लाख जनसङ्ख्या यसबाट प्रभावित हुनेछन् । 
 
खासगरी दक्षिण एसियामा वस्ती विकासको संरचना, सहरीकरण तथा सामाजिक तथा आर्थिक अवस्थाका कारण वातावरण परिवर्तनमा आउने परिणामले अनपेक्षित रुपमा समस्या झेल्नुपरेको राष्ट्रसङ्घको ठहर छ । 
 
तीव्र सहरीकरण र आर्थिक वृद्धिसँगै सम्बद्ध क्रियाकलापहरुबाट हुने, प्राकृतिक रुपमा कैयौँ सामुद्रिक तट क्षेत्रमा बढ्दो सहरीकरणका कारण प्राकृतिक प्रणालीमा असर पर्दा वातावरणका सन्तुलनको लागि खेल्ने भूमिकामा कमी आउँदा समस्या थप हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । 
 
चीन, भारत र थाइल्यान्डलगायत केही एसियाली मुलुकका खासगरी सहरी क्षेत्रहरु तापमान वृद्धिका कारण देखिएका समुद्री सतह वृद्धिका कारण चपेटामा पर्ने अनुमान गरिएको छ । 
 
भारतका मुम्बई, कलकत्ता, चीनको गोन्जाओ, बङ्गलादेशको ढाका, थाइल्यान्डको बैंकक अनि भियतनामको अधिकांश हिस्सा सन् २०७० सम्ममा तटीय डुबानबाट प्रभावित हुने क्षेत्रका रुपमा जिइओन्हुको प्रतिवेदनमा सूचिकृत गरिएको हालैमात्र सार्वजनिक भएका हो । 
 
उक्त प्रतिवेदनमा उल्लेख गरिएका अधिकांश सहरहरु यस्तो डुबानको खतरामा अहिल्यैदेखि रहेको तर उनीहरुसँग यसको जोखिम न्यूनीकरण गर्ने अनुकुलन क्षमता अत्यन्न न्यून रहेको समेत बताइएको छ ।
 
आगामी साता नैरोवीमा हुने राष्ट्रसङ्घको वातावरण सभाको पूर्व सन्ध्यामा हालैमात्र प्राकाशित एक अर्काे अनुसन्धानमा प्रशान्त तथा दक्षिण एवम् दक्षिणपूर्वी एसियामा जलवायु परिवर्तनका अझ खतरनाक प्रभावहरु पर्ने सम्भावना औँल्याइएको छ । 
 
सन् २०११ सम्ममा जलवायु परिवर्तनको कारण अत्यन्त जोखिममा रहेको विश्वका १० राष्ट्रमध्ये ६ वटा एसिया तथा प्रशान्त क्षेत्रमा रहेका थिए । प्राकृतिक प्रकोप, आर्थिक सङ्कट र जलवायु परिवर्तनले मानिसको दैनिकीलाई नकारात्मक प्रभाव पार्ने कुरा देखिएको छ । 
 
प्रशान्त क्षेत्रमा चल्ने पश्चिम तटीय आँधी र चक्रवात बाट सिर्जित प्राकृतिक प्रकोपको उच्च जोखिममा तटीय क्षेत्रमा बसोबास गर्ने खासगरी गरिब समुदाय रहेको पाइन्छ । 
 
जलवायु परिवर्तन र मौसमी विविधता एवम् समुद्री सतहको वृद्धिले अधिकांश विकासशील राष्ट्रहरुमा विभिन्न आयामद्वारा सिर्जित गरिबीजन्य जटीलताहरुलाई निम्ताउने गरेका तथ्यहरु अनुभव गरिने गरेका छन् । 
 
सन् २०५० भित्र बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया र फिलिपिन्सका गरी पाँच करोड ८० लाखभन्दा बढी जनसङ्ख्या आँधीका कारण उत्पन्न हुने जोखिममा रहने संयुक्त राष्ट्रसङ्घले बताएको छ । 
 
करिब १८ हजार वर्ष पहिले अहिलेको समुद्री सतहको तुलनामा ३०० फिट कम भएको जलवायु परिवर्तन सम्वन्धि विभिन्न अध्ययनले बताएका छन् । 
 
भारत, चीन, बङ्गलादेश, फिलिपिन्स, मालदिभ्स, कोरोमस, अमेरिकाको न्यू योर्क, इटालीको भेनिस लगायतले सामुद्री सतह वृद्धिपछि देखिएका खतरा निराकरणका उपाय बेलैमा सोच्नु जरुरी हुनेछ । अन्यथा सतह वृद्धिका कारण भयावह परिणाम आउनसक्ने छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ