arrow

जापानमा रहेका ६० हजार नेपालीले जापानीहरुलाई धन्यवाद दिने

नेपाल जापान सम्वन्धको ६०औं बर्षगाठ पनि मनाइने

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
nepal-japan-thanks.jpg.jpeg
जापान। नेपालमा २०७२ साल वैशाखमा आएको विनाशकारी भूकम्पपछि जापान र जापानी नागरिकले नेपाललाई गरेको सहयोग हामी भूल्ने छैनौं, सहयोगको लागि धन्यवाद, नेपालमा यहाँलाई स्वागत छ भन्ने सन्देश सहित मे २९ तारिखमा जापानभरका नेपालीहरुले जापानी नागरिकलाई धन्यवाद दिने भएका छन्।
 
धन्यवाद दिने प्रयोजनका लागि नेपाली राजदूतावास जापानले ३० हजार प्रति धन्यवाद सहितको 'पोष्ट कार्ड' समेत छपाएको छ। जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीका अनुसार नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र एनआरएन जापानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।
 
भुकम्पको देशको रुपमा चिनिएको जापान र जापानीहरुबाट नेपालीहरुले भुकम्पको बेलामा पाएको सहयोग र सद्भावप्रति कृतज्ञता ज्ञापन गर्न धन्यवाद कार्यक्रम आयोजना गर्न नेपाली दुतावासले यसको यसको नेतृत्व लिएको छ। 
 
नेपालमा भुकम्प आएको बर्ष दिनको अवसर पारेर अप्रिल २५ मा कार्यक्रम गर्न खोजिएपनि त्यस समयमा जापानमा आएको भुकम्पका कारण केहि समय पछि यसलाई सारिएको थियो। 
 
नेपाल जापान सम्वन्धको ६०औं बर्षगाठको अवसर पारेर अप्रिल २५मा रोकिएको कार्यक्रम मे २९ मा गर्न लागिएको कार्यवाहक राजदूत राजभण्डारीले बताए। 'एभरेष्ट डे' अर्थात सगरमाथा दिवस समेत यहि दिन पर्ने हुनाले दुतावासको तर्फबाट नयाँ मिति प्रस्ताव गरिएको थियो। नेपालको मनास्लु हिमालमा जापानीहरुले ६० बर्ष अघी आरोहण गरेको स्मरण तथा नेपाल जापान दौत्य सम्वन्ध स्थापनाको पनि ६०औं बर्षगाठ पनि पारेर नेपालीहरुका तर्फबाट जापानीहरुलाई धन्यवाद दिने कार्यक्रम राखिएको राजभण्डारीले हाम्राुकरा डटकमसँग टेलिफोनमा बताए।
 
 गहेन्द्रराज राजभण्डारी
धन्यवाद लेखिएको ३० हजार पोष्टकार्डमा जापानीहरुले ६० बर्ष अघी आरोहण गरेको मनास्लु हिमालको तस्विर पनि राखिएको छ। जापानी र अंग्रेजी भाषामा लेखिएको पोष्टकार्डमा जापानमा रहेका नेपालीहरुका तर्फबाट धन्यवाद दिदै नेपालमै पनि नेपालीहरुले प्रत्यक्ष धन्यवाद दिन चाहेको भन्दै नेपाल भ्रमण गर्न आग्रह पनि गरिएको छ। यो धन्यवाद दिने कार्यक्रमका साथ नेपालको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमको रुपमा पनि लिएको राजभण्डारीले बताए। 
 
जापानीहरुको धेरै आवातजावत हुने जापानको विभिन्न ठाउँमा नेपालीहरुले नेपाली राष्ट्रिय तथा विभिन्न संस्कृति झल्कने पोशाक सहित जापानीहरुलाई सम्वोधन गरिएका व्यानर वोकेर धन्यवाद दिने कार्यक्रममा सहभागिता जनाउने विश्वास दुतावासको छ। दुतावासले व्यानरमा राख्नका लागि नेपालीहरुमाझ पठाएको सन्देशमा ' नेपालीहरुले तपाइहरुलाई नेपालमै धन्यवाद भन्न चाहेका छन्। नेपालमा तपाईहरुलाई धन्यवाद दिन चाहेका छन्।' लेखिएको छ।  
 
जापानमा लगभग ६० हजार नेपालीहरु रहेका छन्। करिव ४ हजार नेपाली रेष्टुरेण्टहरु रहेका छन्। जापानमा रहेका नेपालीहरुको छवी अझ राम्रो हुने विश्वासका साथ कार्यक्रम गर्न लागिएको कार्यवाहक राजदुत राजभण्डारीले बताए। राजभण्डारीले मे २९ दिनको ३ देखी ४ बजे सम्म हुने कार्यक्रममा जापानमा रहेका करिव ६० हजार नेपालीहरुले पायकको ठाउँमा सहभागीता जनाउने अपेक्षा समेत गरे। 
 
कार्यक्रममा उपस्थित हुनेहरु तोकिएका स्थानमा पंक्तिबद्ध भएर नेपाली राजदूतावास जापानले उपलब्ध गराएको धन्यवाद जापान लेखिएको पोष्ट कार्ड बोकेर उभिनेछन्। सबैले सो बाटो भएर हिँड्ने जापानीहरुलाई कार्डमा लेखिएको विवरण अनुसार मात्रै हुनेगरि धन्यवाद सहित नेपाल भ्रमणको निम्तो समेत दिनेछन्।
 
कार्यक्रम सुरु हुनुअघि गत बर्ष बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा परि मृत्यु भएका प्रति श्रद्धाञ्जली सहित एक मिनेट मौन धारण गरिने बताइएको छ। कार्यक्रम समापन भएको कार्यक्रम संयोजकले गर्नेछ भने कार्यक्रम समापन भएपनि त्यस वरपर कार्यक्रममा दिइएका सामग्री छरिएको, खसेको वा फ्याँकेको भए सफा गर्ने सर्कुलर पनि गरिएको छ।
 
कार्यक्रम अवधिभर तोकिएको र सिमित फोटो मात्र खिच्नुका साथै अनावश्यक हो हल्ला, यात्रुलाई अवरोध हुनेगरि बाटो अवरुद्ध, नारा लगाउने, चन्दा संकलन जस्ता कार्य नगर्ने एनआरएन जापानले आचारसंहिता बनाएको छ।
 
आरिगात्तोउ जापान र लेट्स गो टु नेपाल लेखेर धन्यवाद र नेपाल भ्रमणको निम्तो सन्देश लेखिएको पोष्टकार्डमा अगष्ट ६ र ७ तारिखमा टोकियो योयोगि पार्कमा हुने नेपाल फेस्टिवलबारे समेत उल्लेख गरिएको छ। 
 
कहाँ कहाँ हुँदैछ कार्यक्रम
कान्तोको शिबुया, सिन्जुकु, इकेबुकुरो, योकोहामामा कार्यक्रम हुँदैछ। त्यसैगरि गुम्वा क्षेत्र, तोउचिगि, क्यूस्यु, ओकिनावा, हिरोसिमा, खान्साई, नागोया-होकुरिकु, नागानो, निगाता, सिजोओखा, होक्काइदोमा कार्यक्रम तय भएका छन भने अन्य स्थानहरुको बारेमा एनआरएन जापानले गृहकार्य गरि निर्णय गर्ने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ