arrow

सानो आकारको कृति ‘गाभा’

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
_MG_3951.JPG.jpeg
काठमाडौं । कवि सुनील पुरी हाइकु संग्रह ‘गाभा’ लिएर पाठकमाझ आएका छन् । सुरञ्जना पुरी प्रकाशक रहेको यस कृतिको शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रगान सर्जक व्याकुल माइलाले विमोचन गरे । ६४ पृष्ठको यस कृतिमा ५१ वटा हाइकु संग्रहित छन् । यसको आकार १/१.५ सेन्टिमिटर रहेको प्रकाशन पक्षले जनाएको छ । 
 
स्पर्श नेपालद्वारा आयोजित कार्यक्रममा राष्ट्रगान सर्जक माइलाले यो कृतिले नेपाली साहित्य वैविध्यपूर्ण रहेको देखाएको उल्लेख गर्दै यो अर्थपूर्ण रहेको टिप्पणी गरे । यस कृतिको आकारभन्दा विचार पक्ष महत्वपूर्ण रहेको उनको भनाइ थियो । 
 
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङले लेखन पहिलो सर्त भए पनि कृतिका लागि अहिले अन्य पक्ष पनि महत्वपूर्ण रूपमा आएको बताए । “सानो–ठूलो भन्ने सेकेन्डरी कुरा हो, लेखन नै महत्वपूर्ण हुन्छ,” उनले भने, “तर, यो कृतिको आकार आकर्षण बनेको छ । यस्ता विविध पक्ष पनि कृतिलाई चिनाउन प्रभावकारी बन्न थालेको छ ।” उनले फेसबुकमा ‘संसारकै सानो कृति’ भनेर पोस्ट गरेपछि यो कृतिले चर्चा पाएको उल्लेख गरे । 
 
समीक्षक मित्रबन्धु पौडेलले जापानमा विकसित भई नेपालमा भित्रिएको हाइकु साहित्यमा सुनील पुरीको यो कार्यलाई प्रयोगको संज्ञा दिए । नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले आफूले अहिलेसम्म यही कृति सबभन्दा सानो पाएको उल्लेख गरेका थिए । 
 
लेखक पुरीले हाइकु सूक्ष्म तथा प्रभावकारी भाव सम्प्रेषण गर्ने विधा रहेको उल्लेख गर्दै यही कुराले कृति प्रकाशनमा प्रेरणा मिलेको सुनाए । अब संख्याभन्दा गुणस्तरमा युवा लेखकले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ