arrow

आर्थिक वर्ष ०७३-७४ को नीति तथा कार्यक्रम वैशाख २६ मा

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
CA-building.jpg.jpeg
काठमाडौँ। सरकारले आगामी आव ०७३-७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदन समक्ष प्रस्तुत गर्ने भएको छ।
 
व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सो कुरा उल्लेख छ। नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अपराह्न ४ बजे सदन समक्ष प्रस्तुत गर्नु हुनेछ।
 
त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी जेठ १५ गते अपराह्न ४ बजे प्रस्तुत गर्ने गरी संसद् सचिवालयले कार्यसूचीको खाका तयार गरेको छ।
 
संसद्को आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचिवालयले चालु अधिवेशनका लागि तयार गरेको उक्त कार्यक्रम र समय तालिकाको प्रारम्भिक खाका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकलाई उपलब्ध गराइएको थियो।
 
संसद् सचिवालयका अनुसार भूकम्पपछिको पुनःनिर्माण, मुलुकका विभिन्न स्थानमा भएका आगलागी लगायत समसामयिक विषयमा यही वैशाख २२ र २३ गते संसद्को पूर्ण बैठकमा छलफल हुनेछ। 
अर्थमन्त्री पौडेलले यही वैशाख २३ गते संसद् समक्ष पेस गर्ने पूर्वबजेट अर्थात् बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख २४ र २५ गते छलफल गरिने छ।
 
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि अध्ययन र संशोधन गर्न वैशाख २७ गते बिहान ११ देखि ४ बजेसम्मको समय प्रस्ताव गरिएको छ। सदनमा वैशाख २८ देखि ३० गतेसम्म छलफल हुने सरकारको नीति तथा कार्यक्रम पारित गर्नका लागि वैशाख ३१ गते निर्णयार्थ प्रस्तुत गरिने छ।
 
सरकारले आह्वान गरे अनुसार राजनीतिक दलले भूकम्पपछिको पुनःनिर्माणमा स्वयम्सेवी परिचालन गर्ने सन्दर्भलाई दृष्टिगत गरेर जेठ १ देखि १२ गतेसम्म संसद्को बैठक नराखिने भएको छ। जेठ १३ गते मुलुकको आर्थिक सर्भेक्षण प्रस्तुत गरिने छ भने बजेटमाथिको सामान्य छलफलका लागि जेठ १७ देखि १९ गतेसम्मको दिन प्रस्ताव गरिएको छ।
 
अर्थमन्त्रीबाट बजेट छलफलका क्रममा उठेका प्रश्नको जेठ २० गते जवाफ दिएपछि संसद्को बैठक जेठ २१ देखि ३२ गतेसम्म बस्ने छैन। विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल र विनियोजन विधेयक पारित गर्ने समय असार १ देखि १५ गतेसम्मको दिन छुट्याइएको छ।
 
नीति तथा कार्यक्रम र पूर्वबजेट छलफल सामान्यतः बिहान ११ देखि ५ बजेसम्म हुने संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। भूकम्पपछिको पुनःनिर्माण र समसामयिक विषयमा वैशाख २२ र २३ गते हुने छलफलका लागि १२ घन्टाको समय निर्धारण गरिएकाले सांसदलाई बोल्न दलीय आधारमा समय प्रदान गरिने उल्लेख छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ