arrow

कक्षा १२ को परीक्षा : सामूहिक चोरी भएको पाइएमा परीक्षा केन्द्र खारेज हुने

परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवाना

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
HSEB.jpg.jpeg
भक्तपुर। आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । 
 
उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभर कुल ९२१ परीक्षा केन्द्रमार्फत बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरेको छ । वैशाख ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ८२ वटा विषयको परीक्षा हुनेछ । 
परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी हुने परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । 
परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ । 
 
परीक्षा सञ्चालन अवधिभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्तिबाहेकका व्यक्तिलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्णरुपमा निषेध गरिएको छ । 
 
परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ भने परीक्षा मर्यादाविपरीत सामूहिक रुपमा मास चिटिङअर्थात् सामूहिक चोरी भएको पाइएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यवस्था गरिएको छ । 
 
परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले परीक्षा अनुगमनका लागि शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय उपनिर्देशक, क्षेत्रीय प्रशासक, जिल्ला शिक्षा अधिकारीलगायत मन्त्रालय मातहतका विभिन्न व्यक्तिको नेतृत्वमा ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । 
 
कक्षा ११ को परीक्षा भने आगामी जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी हुनेछन् । 
 
कक्षा ११ र १२ मा गरी कुल सात लाख १५ हजार ८५३ जना परीक्षार्थीले परीक्षा दिने भएका छन् भने दुवै कक्षामा गरी सबैभन्दा कम मनाङ जिल्लामा २०० र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट एक लाख १४ हजार ३२२ जना परीक्षार्थीले परीक्षा दिने भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ