arrow

पाण्डेको उपन्यास‘सल्लीपिर’माथि चितवनमा समीक्षा

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Sallipeer_nayan_Raj_pande.jpg.jpeg
रत्ननगर (चितवन) । ‘उलार’ र ‘लु’जस्ता चर्चित उपन्यास लेखेर चर्चा बटुल्नुभएका उपन्यासकार नयनराज पाण्डेको सातौँ उपन्यास ‘सल्लीपिर’ माथि आज चितवनमा समीक्षा गरियो । 
 
हिमाल र खुम्बु क्षेत्रको कथा समेटिएको उपन्यास सल्लीपिरको आज चितवनका स्रष्टाकामाझ विमोचन गर्दै समीक्षा गरिएको हो । यसअघि उहाँले तराईका विषय समेटेर लेख्दै आउनुभएको थियो । 
 
आज चितवनमा वरिष्ठ लेखक तथा समीक्षक खगेन्द्र सङ्ग्रौला र साहित्यकार एलवी क्षेत्रीले उपन्यास विमोचन गर्नुभएको हो । 
 
सो क्रममा बोल्दै सङ्ग्रौलाले समकालीन नेपाली आख्यानको देउराली नयनराज पाण्डे रहेको उल्लेख गर्नुभयो । उलार, लु जस्ता उपन्यास तथा संस्मरण र थुप्रै कथा लेख्ने आख्यानकार पाण्डे साहित्यको सामयिक प्रयोजनलाई स्वीकार्ने मान्छे भएको सङ्ग्रौलाको टिप्पणी थियो । 
 
उलार, लु पछिको तेस्रो उपन्यास कमजोर भएको विश्लेषण सुनाउँदै सल्लीपिरलाई पढेपछि मात्रै प्रतिक्रिया दिने वचन दिनुभयो । उहाँले पाण्डेलाई समाज, पुस्तक, सत्यनिष्ठा र इमानमा प्रतिबद्ध व्यक्तिको सङ्ज्ञा पनि दिनुभयो । 
 
काठमाडौँमा शनिबार विमोचन गरिएको उक्त उपन्यास आज चितवनमा गरिएको हो र पोखरामा पनि विमोचन हुने जनाइएको छ । सल्लीपिरमाथि समीक्षा गर्दै मदन पुरस्कार विजेता श्रष्टा अमर न्यौपानेले यो उपन्यास हिमाल जस्तै विशाल र हिउँ जस्तै सफा रहेको टिप्पणी गर्नुभयो । सल्लीपिरले प्राण भर्न जान्ने आख्यानकारका रुपमा पाण्डेलाई परिचित गराएको भन्दै न्यौपानेले यसमा कथाहरु धारिलो रहेको प्रतिक्रिया दिनुभयो । 
 
‘फूर्तिला शब्दको खेलाडी, उलारभन्दा अलिकति ढिलो तर सुन्दर तरिकाले शब्दको गोल हानिएको छ’ – न्यौपानेले टिप्पणी गर्नुभयो – ‘उपन्यासको शब्द खेलाडीका रुमपा म मेसीसँग तुलना गर्छु ।’ फरक किसिमको शैलीको आविष्कार भन्दै उहाँले इन्द्रबहादुर राईको लेखनसँग तुलना गर्नुभयो । 
 
स्वैरकल्पना शैलीले उपन्यासलाई सुन्दर बनाएको उहाँको टिप्पणी थियो । अर्का लेखक भूपिनले लामो अवधिपछि प्रभावित पार्ने उपन्यास आएको प्रतिक्रिया दिनुभयो । मुख्यगरी यसमा शैक्षिक मुद्दा उठाइएको छ । खुम्बु र शेर्पाको कथा जोडिएको उक्त उपन्यासमा नियत र नियतीवश चौँरी गोठालो वा हिमालका भरिया हुनुपरेको घटनाक्रम रहेको उहाँले बताउनुभयो । 
 
‘बलियो पक्ष भनेको मिथकको कुशल चित्रण हो’ – भूपिनले भन्नुभयो । स्थानीय लवज पछिसम्म राखिएको भए अझै सुन्दर हुने उहाँको टिप्पणी थियो । 
 
साहित्यकार एलबी क्षेत्रीले एक अंश पढेको र त्यही एक अंशले नै समग्र बुझ्न सकिने फिल्मको दृश्य झैँ कथा भएको बताउनुभयो । उहाँले यो उपन्यास नेपाली आख्यानमा जम्ने विश्वास व्यक्त गर्नुभयो । 
 
समीक्षाका क्रममा बोल्दै उपन्यासकार पाण्डेले कविता प्रतिको मोहलाई प्रकट गर्ने कथाको मागअनुसार अभिप्रेरित भएर लेखिएको उपन्यास भएको बताउनुभयो । स्थानीय भाषाको गन्ध ल्याउन कठिन भएको भन्दै पाण्डेले संस्कृतिलाई गौण राख्दै मुद्दालार्ई अघि सारेको प्रस्ट्याउनुभयो । 
आजै पाण्डे सहितको टोली पुस्तक विमोचनका लागि पोखरा लागेको छ । पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ