arrow

नयनराज पाण्डेको सल्लीपिर सार्वजनिक

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
nayanraj.jpg.jpeg
काठमाडौं । लेखक नयनराज पाण्डेको नयाँ उपन्यास सल्लीपिर सार्वजनिक भएको छ । उपन्यास कवि श्यामल र पाण्डेले संयुक्त रुपमा पुस्तकको अनावरण गरेर उपन्यासको विमोचन गरेका थिए । लू, उलारजस्ता उत्कृष्ट उपन्यास पछि लेखक पाण्डेको यो सातौं उपन्यास हो । 
 
विमोचन कार्यक्रममा बोल्दै कवि श्यामलले भने, ‘पहिलेका पुस्तकहरुमा तराइको मनछुने कथाहरु ल्याएर सबैको मनमा बस्न सफल नयनराज पाण्डेले यसपालि बेग्लै थलो, परिवेश र पात्रहरुमार्फत पनि उस्तै मीठो सिर्जना गरेका छन् ।" 
 
आफू हुर्केको पश्चिम तराईलाई आफ्नो कथा, उपन्यासका परिवेश बनाउँदै आएका पाण्डे सल्लीपिरमा हिमाली भूभागतर्फ उक्लेका छन् । पाण्डेले भने, ‘वृत्तचित्र र सिनेमामा काम गर्दा कुनै बेला म खुम्बुमा ६ महिना बसेको थिएँ । शेर्पाहरुको जन्मदेखि मृत्युसम्मको संस्कार नजिकबाट देख्न पाएको थिएँ । त्यसको एउटा गहिरो छाप मेरो स्मृतिमा परेको थियो । त्यही छापले मलाई सल्लीपिर लेख्न प्रेरित गरिरह्यो । लामो प्रतिक्षापछि शेर्पा संस्कृतिमाथि लेख्न पाएकोमा निकै खुशी लागेको छ ।’
 
सल्लीपिर हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीतिको कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरिएको छ । यसमा तीन पुस्तको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्द छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौं समस्याको सामना गर्ने आमाको संघर्षको कथा छ । 
 
पाण्डले भने, ‘मैले कृतिहरुमार्फत सामाजिक विसंगति र कुरितीबारे पनि आवाज उठाउन खोजेको छु र यस्ता संवेदनशील विषयवस्तु भएका कृतिहरुलाई पनि पाठकहरुले मनपराउनु हुन्छ र गम्भीरताका साथ लिनुहुन्छ भने त्यसलाई पाठकको चेतना र पठन संस्कृतिकै अभिवृद्धी भएको मान्नुपर्छ । यसैले गर्दा फेरि पनि लेख्ने हौसला मिल्छ ।’  
 
पुस्तकको प्रकाशन फाइनप्रिन्टले गरेको हो । पुस्तकको विमोचन चितवन र पोखरामा पनि गरिनेछ । पुस्तकको मूल्य ३४८ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ