arrow

अघोषितरुपमै खुल्यो वीरगन्ज नाका, किन सहयोग गरेनन् भारतीयले ?

नाकाबन्दीपछि पहिलोपटक बुलेट भित्रियो, दुई करोडभन्दा राजश्व संकलन

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
तीन-बुलेट-ग्यास.jpg.jpeg
काठमाडौं । नेपालको नयाँ संविधानप्रति असन्तुष्टि प्रकट गर्दै भारतले लगाएको अघोषित नाकाबन्दी अघोषित रुपमै हटाएको छ ।
 
मोर्चाको निर्णय बिना नै शुक्रबार वीरगन्ज–रक्सौलबीच मितेरी पुलको धर्ना सीमावर्ती क्षेत्रका व्यापारीले हटाएपछि शनिबार पुन: नाका अवरोध गर्न नेता तथा कार्यकर्ता पुगेका थिए । लिखित रुपमै निर्णय गरी मोर्चाका स्थानीय नेतृत्वले कार्यकर्तालाई २ बजे नाकामा पुग्न आह्वान गरेको थियो । उल्लेख्य रुपमा जनता नआएपछि केही कार्यकर्ता लिएर करिब साढे ३ बजेतिर नेता नाकामा पुगेका थिए । धर्नामा बस्न नदिने भन्दै विहानै देखि सशस्त्र र नेपाल प्रहरी नेपाल पट्टिको दसगजा क्षेत्रमा तैनाथ गरिएका थिए । पुलको मध्य भागमा पुगेर आन्दोलनकारीले सवारी आवागमन अवरोध गर्न खोज्दा सादा पोसाकमा रहेका रक्सौल हरैया थानाका प्रहरीको सहयोगमा व्यापारीले प्रतिकार गरेका थिए । पुलमा नबस्न भन्दै धक्लेर तल पुर्‍याएका थिए ।
 
कान्तिपुर दैनिकमा भूषण यादव लेख्छन्-आक्रोशित बनेका मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेपछि भारतीय व्यापारीले पनि ढुंगा हान्दै नेपाल तर्फ लखेटेका थिए । पुल नजिकै रहेका नेपाल प्रहरीले हस्तक्षेप गरी दोहोरो झडप हुन रोकेका थिए । ढुंगा प्रहारले मोर्चाका २ जना घाइते भएका छन् । धर्नाको सुरुवाती चरणदेखि साथ दिँदै आएका भारतीय प्रशासन र व्यापारीले सहयोग नगर्ने थाहा पाएपछि मोर्चाका नेता मोटरसाइकल चढेर वीरगन्ज तर्फ लागेका थिए । सम्वद्ध स्रोतका अनुसार औपचारिक निर्णय बिना नै मूख्य नाकाको धर्ना हटेकाले मोर्चाका केन्द्रीय नेताले स्थानीय नेतृत्वलाई १ घन्टाका लागि भएपनि धर्नामा बस्न निर्देशन दिएका थिए । स्थानीय प्रहरी प्रशासनलाई समेत नेताहरुले कम्तिमा १ घन्टाका लागि मात्र बस्न दिन आग्रह गरेका थिए । मोर्चाको एक घटक सदभावना अपराह्न करिब १० मिनेट तनावग्रस्त बनेको नाका पुन: सहज बनेको छ । वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सुशिल शर्माका अनुसार नाका सहज बनेको दोस्रो दिन २ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ ।
 
 
मालवाहक सवारी, क्लिकंर बोकेका ट्रीपर, तेस्रो मुलुकका कन्टेनर धमाधम भित्रिरहेका छन् । नाकाबन्दी भएदेखि शनिबार पहिलो पटक यस नाकाबाट खाना पकाउने ग्यासका बुलेट समेत भित्रिएका छन् । वीरगन्ज भएर भित्रिने २ सय ७५ मध्ये ६२ वटा मात्र रोकिएका थिए । बाँकी रिरुट गरि नेपाल भित्रिसकेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार शनिबार आएका ४ बुलेट ६२ मध्येका हुन् । अन्य बुलेटका पनि रिरुटका कागज बनिसकेकाले त्यो खारेज गरी रक्सौलबाटै भित्र्यिाउने उनले जनाए । नाका सहज भएपनि रक्सौल स्थित इन्डियन आयल कर्पोरेशनबाट इन्धन लोड गर्न अझै २ दिन कुर्नुपर्ने कर्मचारीले बताएका छन् । लामो समयदेखि वीरगन्ज नाका अवरुद्ध बनेकाले रक्सौल डिप्पोबाट इन्धन भर्दै आएका नेपाली ट्यांकरलाई जोगबनी र भैरहवा नाकाबाट इन्धन भित्र्याउन इजाजत दिइएको थियो ।
 
अहिले पुन: रक्सौल नाकाबाटै इन्धन लिन जान पाउनका लागि नयाँ इजाजत पत्रको आवश्यकता पर्छ । आइओसीको मुम्बई स्थित मूख्यालयबाटै आवश्यक कागजात बनाउनु पर्ने भएकाले केही ढिलाई भएको प्रजिअ घिमिरेले बताए । ‘आइतबार भारतमा बिदा हुने भएकाले सोमबारबाट रक्सौल डिप्पोबाट इन्धन भित्रिने सम्भावना छ,’ कान्तिपुरसँग उनले भने । काठमाडौँमा प्रयोग हुने करिब ९० प्रतिशत इन्धन रक्सौल स्थित इन्डियन आयल कर्पोरेशनबाट आपूर्ति हुँदै आएको थियो । लगातारको नाकाबन्दीले आजित बनेका स्थानीयले शुक्रबार अपराह्न वीरगन्ज रक्सौलबीचको मितेरी पुलमा धर्नाकारी बस्ने टेन्ट जलाएपछि मुलुकको प्रमुख नाका सहज बनेको हो । ‘जोगबनी, रुपैडिहा र सुनौला नाका बन्द गरेपछि मात्र यहाँ बस्न दिन्छौं भन्दै दर्जनौँको संख्यामा रहेका व्यापारीले पुलबाट नेतालाई हटाएका थिए ।
 
 
किन सहयोग गरेनन् भारतीयले
गत असोज ७ देखि धर्नाकारीलाई मेस सञ्चालन गरी खाना खुवाउँदै आएका भारतीयले यसअघि नेपालका सुरक्षाकर्मीले हस्तक्षेप गर्दा आन्दोलनकारीसँगै मिलेर प्रतिकार गर्ने गरेका थिए । कात्तिक १६ गतेको दोहोरो झडपमा सीमावर्ती भारतीय नागरिक आशिष रामको प्रहरीको गोली लागेर ज्यान समेत गयो ।नेपालको आन्दोलनमा आफ्नो नागरिक मर्दा पनि भारतीय प्रशासन र स्थानीयले मोर्चालाई सहयोग गर्दै आएको थियो ।
 
पुसको दोस्रो सातादेखि अन्य नाका सहज बनिसक्दापनि वीरगन्ज रक्सौलबीचको नाका ठप्पनै बनिरह्यो । मालवाहक सवारी नछाडेपनि खुद्रा सामान छाडै आएका कर्मचारीले माघयता एलसी, एआरई १ मार्फत आयात हुने सामानको पनि जाँचपास सुरु गरेका थिए । धर्नास्थल भएर भित्रिने सामानबाट मोर्चाका केही नेता र कार्यकर्ताले रंगदारी टैक्स असुल्न सुरु गरेपछि सीमावर्ती क्षेत्रका व्यापारी आक्रोशित बन्दै गएका थिए ।
 
‘ठेला, बैयलगाडा, नयाँ ट्याक्टर भित्रिदा पैसाको मोलमोलाई गरेर मात्र छाड्थे,’ रक्सौलका एक एजेन्टले भने, ‘जसका लागि हामीले यत्रो दिन बन्द गऱ्यौँ उनीहरु नै हामीसँग जबरजस्ती असुल्न थाले ।’आक्रोश बढ्दै गएपछि शुक्रबार मध्यान्ह धर्नाकारीको टेन्ट जलाएको स्थानीयले बताएका छन् । ‘यत्रो दिन पख्र्यौ,’ अर्का व्यापरी रमेश कुमारले भने, ‘अझ २/३ दिन धर्ना जारी हुँदा केही हुँदैन्थ्यो ।’ तर, धर्नाको नाममा पुलमा मधेस भन्सार खडा गरेर अवैध असुलीले सबैलाई आक्रोशित बनाएको उनको दाबी छ ।  
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ