कालीकोट। कालीकोटमा पछिल्लो छ महिनामा ११ जना एचआइभी सङ्क्रमितको सङ्ख्या बढेको छ । जिल्लामा यसअघि ३० जना एचआइभी सङ्क्रमित रहेकामा यस आवको छ महिनाभित्र लालु गाविसमा मात्र ११ जना एचआइभी सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
कार्यालयका अनुसार लालु गाविसमा देखिएका ११ जनाको रगत परीक्षणमा एचआइभी देखिएको हो । युनिसेफको सहयोगमा गर्भमा रहेका बालबालिकालाई कसरी एचआइभीबाट बचाउन सकिन्छ भन्ने विषयमा कार्यालय लागिपरेको एचआइभी एड्स स्रोतव्यक्ति भानुभक्त सञ्ज्यालले बताए ।
कालीकोटमा यसअघि एचआइभीको क्षेत्रमा काम गर्ने दलित उत्थान समाजले जिल्लाका विभिन्न क्षेत्रमा रगत परीक्षण गरेर एचआइभी सङ्क्रमितलाई एआरभी औषधि खुवाउने गरेकोमा अहिले जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले आफैँ हेरिरहेको छ ।हाल जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४० पुगेको जिल्ला अस्पताल कालीकोटले जनाएको छ ।