arrow

नाकाबन्दीले पोल्ट्रीमा रु तीन अर्ब नोक्सान

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
POULTRY__8981f.jpg.jpeg
चितवन । भूकम्प र त्यसपछिको नाकाबन्दी र बन्द, हड्तालले पोल्ट्रीजन्य क्षेत्रमा रु तीन अर्ब ३१ करोड ७१ लाख बराबरको नोक्सान भएको छ । भूकम्पयता ब्रोइलर चल्ला, लेयर्स चल्ला, अण्डा, ब्रोइलर कुखुरा, दाना, सप्लायर्सका गाडी, कर्मचारी, अन्य बैंक ब्याजसमेतको नोक्सानी समावेश गरिएको छ । लागतभन्दा कम मूल्यमा बेच्नु पर्दा परेको रकमलाई मात्र समावेश गरिएको छ । 
 
नेपाल दाना उद्योग सङ्घका पूर्वअध्यक्ष डा तीलचन्द्र भट्टराईका अनुसार ब्रोइलर चल्ला प्रतिदिन दुई लाख ५० हजार ८१ वटा उत्पादन हुन्छ भने लागत मूल्य प्रति चल्लाको रु ४८ पर्छ । भूकम्पपछि प्रतिचल्ला रु ३० मा बिक्री भएको छ । “ब्रोइलर चल्लामा रु एक अर्ब एक करोड २८ लाख नोक्सान भएको छ” उहाँले भन्नुभयो । 
 
त्यसैगरी लेयर्स चल्ला प्रतिदिन २१ हजार ४२९ वटा उत्पादन हुन्छ भने लागत मूल्य प्रतिचल्ला रु ७२ पर्छ । भूकम्पपछि सरदर रु ४० मा चल्ला बिक्री भएको छ भने प्रतिचल्ला रु ३२ नोक्सान भएको छ । लेयर्स चल्लामा रु १५ करोड ४२ लाख नोक्सान भएको छ । अण्डा प्रतिदिन ३१ लाख ८३ हजार वटा उत्पादन हुँदै आएको छ भने लागत मूल्य आठ रुपैयाँ ५० पैसा प्रतिगोटा पर्छ । पछिल्लो समयमा प्रतिगोटा रु सातमा बिक्री भइरहेको छ । प्रतिअण्डा एक रुपैयाँ ५० पैसा नोक्सान भइरहेको छ । भूकम्प गएयता रु एक अर्ब २६ लाख नोक्सान भएको कार्यालयले जनाएको छ । 
 
यस्तै ब्रोइलर कुखुराको मासु प्रतिदिन चार लाख चार हजार ३७७ किलो उत्पादन हुन्छ भने यसको लागत मूल्य प्रतिकिलो रु १५५ पर्न आउँछ । यस अवधिको १२० दिनमा मासु सरदर प्रतिकिलो रु १४० मा बिक्री भएको छ भने प्रतिकिलो रु १५ नोक्सान भएको छ । भूकम्पपछि मासुमा रु ७२ करोड ७८ लाख घाटा भएको छ । 
 
कुखुराका लागि दाना दैनिक दुई हजार ४०० टन उत्पादन हुने गर्छ । दानाको लागत मूल्य प्रतिकिलो रु ५३ पर्छ भने अहिले प्रतिकिलो रु ५१ मा बिक्री हुँदै आएको छ । पछिल्ला ८५ दिनमा रु ४० करोड ८० लाख दानाबाट नोक्सान भएको पूर्वअध्यक्ष भट्टराईको भनाइ छ । पछिल्लो समयमा सप्लायर्सका ५०० गाडी चल्न सकेका छैनन् । “सप्लायर्सका गाडी, कर्मचरी, बैंक व्याजसहित रु एक करोड १४ लाख नोक्सान भएको छ” उहाँले भन्नुभयो । औषधि, क्रेट, प्याकिङ र प्रशोधन खर्चमा भएको नोक्सानको तथ्याङ्क सङ्कलन भइरहेको छ । 
 
पोल्ट्री क्षेत्रमा नेपालमा रु ७० अर्बको हाराहारीमा लगानी भएको व्यवसायीको भनाइ छ भने रु ४० अर्ब बराबर बैंकिङ लगानी छ । कृषि क्षेत्र भए पनि सुलभ ऋण पोल्ट्री व्यवसायीले पाएका छैनन् । सात दशमलव ५ देखि ११ प्रतिशत ब्याज तिर्न व्यवसायी बाध्य भएको पूर्वअध्यक्ष भट्टराईले बताउनुभयो । आत्मनिर्भर बनेको पोल्ट्रि व्यवसाय नोक्सानका कारण धरासायी हुन सक्ने चिन्ता व्यवसायीमा छ । 
 
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्कर कँडेल सरकारको पहलमा बैंकले नोक्सान अवधिको ब्याज मिनाहा दिनुपर्ने, किस्तालाई छ महिना पछाडि सार्नुपर्ने, परियोजनालाई आधार मानेर ऋण थप्नुपर्ने बताउनुहुन्छ । सरकारले समयमै सम्बोधन गर्न नसकेमा व्यवसायी मात्र नभएर लगानी गरेका बैंकसमेत समस्यामा पर्ने उहाँको भनाइ छ । यस अवधिमा भएको नोक्सानलाई परिपूर्ति गर्न व्यवसायलाई निरन्तरता दिनै पर्नेमा कँडेलले जोड दिनुभयो । 
 
बर्सेनि कच्चा पदार्थका लागि भारतमाथी निर्भर हुनुपर्ने हुँदा ठूलो रकम जाँदै आएको छ । वार्षिक रु १३ अर्ब बराबरको मकै, भटमास, सूर्यमुखी पिना, तीलको पिना भारतबाट आयात हुन्छ । नेपालमा यी कच्चा पदार्थ उत्पादन गर्न सके अन्यत्र निर्भर हुन नपर्ने नेपाल दाना उद्योग सङ्घका पूर्वअध्यक्ष डा भट्टराई बताउनुहुन्छ । नाकाबन्दीका कारण मुख्य रुपमा इन्धन र कच्चा पदार्थमा व्यवसायीले नोक्सान व्यहोर्नु परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ