arrow

लिटरेचर फेस्टिवलमा राजनीतिदेखि यौनसम्मका चर्चा

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
barkha-dutt.jpg

पोखरा। पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिबल २०१६ मा राजनीति, साहित्यदेखि यौनसम्मका चर्चा भएका छन्। तेस्रो दिन विभिन्न ८ सत्रमा देशी विदेशी लेखक, विचारक र राजनीतिज्ञहरु प्रस्तुत भए। भारतीय लेखक तथा पत्रकार बरखा दत्तको नेपाली टाइम्सका सम्पादक कुन्द दिक्षितसँग भएको कुराकानी विशेष सत्र रहेको थियो।

आफ्नो पत्रकारिताको अविस्मरणीय घटना एवं हालको असहिष्णु समाजकाबारेमा दत्तले प्रकाश पारिन्।लेखक युग पाठकले पत्रकार प्रशान्त झा र सामाजिक विश्लेषक आहुतीसँग “बहिष्करणको दलन” सत्रमा दर्शकलाई राष्ट्रको बहिष्करणमा परेका समूहबारे सुन्न निम्तो दिए। दोस्रो सत्रमा सरस्वती प्रतीक्षाले कुमार नगरकोटी, अमर न्यौपाने र शारदा शर्मासँग लेखनमा सामाजिक यथार्थवाद र नयाँ प्रयोगहरुको सन्तुलनबारे कुराकानी गरेका थिए। 

फेस्टिबलको तेस्रो दिनमा दुई बाल पुस्तकहरुको पनि विमोचन भयो। बन्दना तुलाचनको सचित्र पुस्तक “सानु र आँधीबेरी” र उबाहाङ नेम्वाङको “यात्रा” विमोचन गर्दै कलाकार राजेश हमालले भने, “म प्रत्येक पटक घरबाहिर निस्कँदा तीन चार वटा पुस्तक साथमा राख्छु, किनभने पढ्ने मान्छे कहिल्यै एक्लो हुँदैन।”

फाइनप्रिन्ट प्रकाशनको बाल संस्करण “फाइन्ट्यासी” को पहिलो यी दुई प्रस्तुतिका बारेमा बोल्दै फाइनप्रिन्टका तर्फबाट अजित बरालले भने, “हाम्रो प्रयास बालबालिका तथा किशोरकिशोरीका लागि अन्र्तराष्ट्रिय स्तरका पुस्तक प्रकाशित गर्नु हो।” विमोचन पश्चातको सत्रमा कान्तिपुरका सम्पादक र लेखक सुधीर शर्माले पूर्व मुख्य सचिव लीलामणि पौड्याल र सांसद गगन थापासँग देशले वर्तमान परिस्थितिमा भोगिरहेको नेतृत्वको संकटका बारेमा छलफल गरेका थिए।

प्रांगणमा भएको पाँचौ सत्रमा पत्रकार सुबिना श्रेष्ठले पत्रकारहरु युवराज घिमिरे, किरण नेपाल र चन्द्रकिशोरसँग मिडियामा मधेशको उपस्थिति र प्रतिनिधित्वबारे बहस चलाए। उता हलमा भने ऋचा भट्टराई र भारतीय लेखिका इरा त्रिवेदीका बीचमा पुस्तकमा प्रेम, यौन र विवाहका बारेमा अन्तरक्रिया भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ