arrow

सांसद रविन्द्र अधिकारीको “समृद्ध नेपाल” पुस्तक विमोचित

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
Rabindra_Adhikari_hamrakura.jpg.jpeg
पोखरा । नेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । आजबाट पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति विमोचन गराउनु भएको थियो । कृतिको बारेमा बोल्दै अधिकारीले भन्नुभयो, “हाम्रो देशको राजनीति पूर्णरुपमा विकासमा आधारित छैन । हामीले हाम्रो देशमा प्रशस्त मात्रामा रहेको श्रोत र ज्ञानको सदुपयोग गरि विकासको पाइला पछ्याउनु अत्यावश्यक भइसकेको छ । अन्यथा हामी धेरै पछाडि पर्नेछौँ ।” 
 
फाइनप्रिन्टले प्रकाशनमा ल्याएको “समृद्ध नेपाल” अधिकारीको विकास धारणामा आधारित छ । विशेषगरि भूकम्प, नाकाबन्दी र त्यसले पारेको आर्थिक–सामाजिक असरका बारेमा टिप्पणी गरिएको कृतिमा अधिकारीले नेपाललाई समृद्ध बनाउन लागू गर्न सकिने उपायहरु पनि संलग्न गर्नुभएको छ ।
 
कृतिका बारेमा अर्थविद स्वर्णिम वाग्लेको भनाइ थियो, “नेताहरुले पढ्दैनन् र बुझ्दैनन् भन्ने आम धारणाका विपरित लेखकले शक्तिशाली कृति प्रस्तुत गरेका छन् । बृहत विषयहरुको उठान गरिएको यो कृतिमा एकैखेपमा नेपालमा विद्यमान समस्या र तिनको समाधानबारे जान्न चाहने पाठकहरुका लागि अति उपयोगी छ ।” आफ्ना टिप्पणीहरुलाई सकेसम्म तथ्याङ्कमा आधारित गर्ने अधिकारीको परिपाटीको पनि वहाँले सह्राहना गर्नुभयो ।
 
इञ्जिनियर तथा नीति विश्लेषक सुर्य राज आचार्यले कृतिको समालोचना गर्दै भन्नुभयो, “जनताका सामान्य आवश्यकतालाई ध्यानमा राखेर राजनीतिज्ञको आँखाबाट लेखिएको यो शायद पहिलो कृति होला । अहिले देशको विकासको मेशिन बिग्रिएको भान भए पनि अधिकारी जस्ता नेताले यसका पाटपुर्जालाई सम्हाल्ने प्रयास गरिरहेको हामी पुस्तकमार्फत बुझ्न सक्छौँ ।” राजनीतिक विश्लेषक झलक सुवेदीले असल नेतृत्व र देशलाई समुन्नत बनाउने यस्ता विचारहरु प्रकट भइरहे नेपाल पक्कै पनि विकासतर्फ लम्किने बताउनुभयो ।
 
“समृद्ध नेपाल” अधिकारीको दोश्रो कृति हो । १५ माघ देखि १८ माघ सम्म चल्ने यो साहित्यिक महोत्सवको सत्रहरुमा साहित्य, कला, समाजशास्त्रदेखि अर्थशास्त्र, सिनेमा लगायतका विषय हुनेछन् । महोत्सवमा इरा त्रिवेदी, बर्खा दत्त, लीलामणि पौड्याल, पिताम्बर शर्मा, सरस्वती प्रतिक्षा, विजय कुमार पाण्डे, नयनराज पाण्डे, नारायण ढकाल, अमर न्यौपाने, मनु मञ्जिल, राजेश हमाल, बाबुराम भट्टराई, कुन्द दिक्षित, गगन थापा, मोहन मैनाली, बुद्धिसागर लगायत १०० भन्दा बढी वरिष्ठ व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ