arrow

नेपाली चियाको आफ्नो प्रजाति नहुँदा कठिनाइ

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
tea_Ilam.jpeg
इलाम। खेती सुरु भएको डेढ शताब्दी बितिसक्दासमेत चियाको आफ्नै प्रजाति विकास गर्न नसक्दा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सकेको छैन । 
 
रैथाने प्रजाति विकास गर्र्ने प्रयास भए पनि सो विफल भएको छ । हिमालयन टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) नामक संस्थाले पहल थाले पनि निरन्तरता नपाउँदा निष्प्रभावी भएको हो । 
 
सबैभन्दा पुरानो इलाम चिया बगानका बोटबाट बीउ ल्याएर नयाँ र मौलिक प्रजाति विकास गर्ने उसको अभियान संस्थाको निष्क्रियतासँगै असफल रह्यो । यसबाहेक कसैले पनि आफ्नै प्रजाति विकासको प्रयास गरेका छैनन् । 
 
सन् २००४ देखि तीन वर्षसम्मको कार्यक्रम सकिएपछि फिक्कलमा अलपत्र भएको नर्सरी चिया तथा कफी विकास बोर्डलाई हस्तान्तरण गरियो । तर उचित व्यवस्थापन हुन नसक्दा त्यसको अस्तित्व नै समाप्त भयो । 
 
नेपालमा नै पहिलोपटक तत्कालीन बडाहाकिम गजराज सिंह थापाले इलाम चिया बगानमा विसं १९२० मा चिया रोपेका थिए । त्यतिबेलादेखिका बोट अझै पनि रहेकाले त्यसबाट आफ्नै प्रजाति निकाल्न सम्भव रहको चियाका जानकार कन्यामका काजीमान कागते बताए । 
 
चियाको विकासका लागि क्रियाशील चिया तथा कफी विकास बोर्डमार्फत नै दीर्घकालीन योजना बनाएर प्रयास भए अझै पनि नेपाली क्लोन निकाल्न सकिने उहाँको भनाइ छ । चियाका प्रजातिमा तक्दा ७८, तक्दा ८३, आम्बाणी एभी २ (गुम्ती) र थोरै मात्रामा चाइनिज प्रजाति भेटिन्छन् । 
 
होड्पाले बगानमा बुस छनोट गर्नेदेखि भारतबाट वैज्ञानिक ल्याएर आफ्नै ‘क्लोन’ विकास गर्न पर्याप्त प्रयास गरेको थियो । करिब एक दशक लाग्ने उक्त अभियान तीन वर्षमा छाडिएपछि नेपालको चिया विश्वमा चिनाउने अभियान असफल भएको हो । 
 
“अभियान पूरा भएको भए नेपालको चिया चिनाउन र बजार प्रवद्र्धनका लागि मद्दत पुग्थ्यो,” कागतेले भने । 
 
प्रविधि विकासका प्रयास असफल 
 
होड्पाअन्तर्गत नै रहेको हिमटेक्सले माटो परीक्षणका लागि ल्याएको सोइल टेष्ट ल्याब टी बोर्डलाई जिम्मा दियो । चिया खेतीका लागि माटो परीक्षण अनिवार्य भन्दै बोर्डले फिक्कलस्थित चिया विस्तार आयोजनामा ल्याब राखेको छ । ल्याबमा चिया खेतीका लागि खासै माटो परीक्षण गर्न किसान आएनन् । दक्ष जनशक्ति अभावमा ल्याब प्रभावकारी हुन सकेको छैन । 
 
चिया अनुसन्धान, माटो परीक्षण, टी टेस्टिङजस्ता कार्यका लागि प्रयोगशाला स्थापना गरिएको थियो । प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालनको तयारी भइरहेको चिया तथा कफी विकास बोर्डका बिर्तामोडस्थित क्षेत्रीय कार्यालयका निर्देशक इन्द्र अधिकारी बताउछन् । 
 
पछिल्लो समय केन्द्रीय चिया सहकारी सङ्घ र जिल्ला सहकारीले कृषक तहमा पुगेर गुणस्तरीय उत्पादनका लागि पहल गरिरहेका छन् । चिया खेती प्रवद्र्धनका लागि टी बोर्डलगायत विभिन्न संस्थाले महत्वकाङ्क्षी योजना अघि सारे पनि उपलब्धिमूलक परिणाम नदेखिएको कृषकको गुनासो छ । 
 
चियाको प्रविधि विकासमा गरिएको लगानी खेर गइरहेको र कृषकले सहुलियत ऋण, दक्ष जनशक्ति, बजार अनिश्चिताको अभाव सधैँ खेपिरहनुपरेको साँखेजुङका चिया कृषक नवराज दाहाल बताउछन् । 
 
मुलुकमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चियाको राजधानी भनेर चिनिए पनि सरकारले चिया क्षेत्रमा खासै चासो नदिँदा चिया खेतीमा संलग्न कृषक रुष्ट छन् । चिया तथा कफी विकास बोर्डले चिया उत्पादन हुने पूर्वका विभिन्न स्थानमा चिया विस्तार आयोजना कार्यालय स्थापना गरे पनि नर्सरीका लागि चियाका डाला वितरण गर्ने र सामान्य प्राविधिक ज्ञान दिनेबाहेकका काम गर्न सकेको छैन । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ