arrow

रानीपोखरी निर्माण अलपत्र, पोखरीमा पानी अड्याउनेबारे टुंगो लागेन

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
ranipokhari-update.jpeg
काठमाडौं । काठमाडौंको मध्यभागमा रहेको रानीपोखरीको पुनर्निर्माण अलपत्र परेको छ । पोखरीमा के राखेर पानी अड्याउने भन्नेबारे टुंगो नलाग्दा पुनर्निर्माणको काम रोकिएको हो ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष रानीपोखरी पुनर्निर्माणको उद्घाटन गरेकी थिइन् । काठमाडौं महानगरपालिकाले ०७३ कात्तिकमा सक्ने गरी रानीपोखरी निर्माण कार्य अघि बढाएको थियो । 
 
यसका लागि १० करोड रुपैयाँ बजेट पनि विनियोजन भएको थियो । डिजाइन गरेर काम थाले पनि पोखरीमा पानी अड्याउने उपायबारे अन्योल हुँदा निर्माण अलपत्र परेको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले जानकारी दिए ।
 
‘रानीपोखरी निर्माण गर्ने त भनियो । बजेट पनि विनियोजन भयो । आकर्षक नक्सा बन्यो र काम पनि अघि बढ्यो,’ काफ्लेले भने, ‘तर, पोखरीमा पानी अड्याउने विषयतर्फ कसैको ध्यान पुगेन । यही कारण अहिले रानीपोखरी निर्माण अलपत्र बन्न पुगेको छ ।’
 
महानगरपालिकाले नक्साअनुसार पोखरी निर्माण गर्न माछा सारेर वरिपरि पर्खाल लगाउन थालेको थियो । 
 
पोखरीमा जमेको माटो हटाउँदा पिँधमा बालुवा भेटियो । बालुवामा पानी नअडिने भएकाले अब पिँधमा टायल राख्ने कि माटो भन्नेबारे महानगरपालिका अलमलमा छ ।
 
‘नक्साअनुसार पोखरीको पानी झिकियो ।माछा अन्यत्र सारियो । पोखरीमा जमेको माटो निकाल्दै जाँदा पिँधमा बालुवा भेटियो,’ महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले भने, ‘बालुवामा पानी त अडिन सक्दैन । 
 
यस्तो अवस्थामा के गर्ने भनेर नक्सामा केही भनिएको छैन । यो कारण पनि निर्माण अलपत्र परेको हो ।’ रानीपोखरी पुनर्निर्माणको डिजाइनमा अत्याधुनिक बगैँचा बनाउने उल्लेख छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ