arrow

काँग्रेस बैठकमा खुमबहादुरको लिखित प्रस्ताव लुकाइयो, निर्णयमा निम्तियो विवाद

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
congress-cc-meeting.jpeg

काठमाडौँ । काँग्रेस केन्द्रीय समितिको बैठकमा खुमबहादुर खड्काले पेश गरेको लिखित प्रस्तावमा छलफल नभएको बताइएको छ । बैठकमा पेश भएका ९ वटा एजेण्डामा संयुक्त छलफल भएपनि खुमबहादुर खड्काले प्रस्तुत गरेको लिखित प्रस्तावमाथि छलफल नभएको बताइएको हो ।

१३ चैत देखि सुरु भएको बैठक १० बुँदे निर्णय गर्दै मंगलबार राति अबेर सकिएको थियो । नेता खड्काले हिन्दु राष्ट्रको एजेण्डा राष्ट्रिय विषय भएकाले त्यसबारे उत्पन्न क्रिया प्रतिक्रियालाई व्यवस्थापन गर्न काँग्रेसले पहल गर्नु पर्ने प्रस्ताव गरेका थिए । खड्काले हिन्दु राष्ट्रबारे थुप्रै चर्चा भइसकेकाले जनमत संग्रहबाट त्यसको चाँडै छिनोफानो गर्नु पर्ने प्रस्ताव गरेको उनी निकट केन्द्रीय सदस्य एवं सांसल मोहन बस्नेतले हाम्राकुरालाई जानकारी दिए ।

बस्नेतले भने, ‘हिन्दुवादका कुरामा धेरै चर्चा भयो । जनमतसंग्रहबाट टुंगो लगाइदिनु पर्छ भनेर प्रस्ताव राख्नु भएको थियो । त्यसलाई राज्यले बेवास्ता गर्न मिल्दै भन्ने उहाँको तर्क हो ।’ यो विषयलाई चाँडै टुंग्याइनु पर्नेमा नेता खड्काले जोड दिए ।
केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले खुमबहादुर खड्काको प्रस्तामाथि छलफल नभएको जानकारी दिए । उनले भने, ‘निर्वाचनको विषयमा छलफल बढी केन्द्रीत भयो । समय अभावकै कारण छलफल नभएको होला । अहिले निर्वाचनको वातावरण बनाउन दलीय छलफलमा लाग्नु पर्ने र संविधान संशोधनको विषय किनारा लगाउनु पर्ने भएकाले पनि छलफल नलम्ब्याइएको हो ।’ काँग्रेसले मधेस केन्द्रीत दललाई साथमा लिएर चुनावमा जाने रणनीति बनाएको नेता ढुंगानाले जानकारी दिए ।

निर्णय विवादमा लैजानु हुँदैन
काँग्रेस केन्द्रीय समितिले गरेका केही निर्णयमा विवाद आएको छ । केन्द्रीय कार्यसम्पादन समिति गठन र गाउँपालिका नगरपालिका समन्वय समिति गठनमा विवाद आएको हो । केन्द्रीय कार्यसम्पादनमा ४६ साल देखि आन्दोलनमा होमिएकाहरुको मूल्याङ्कन नभएको भन्दै असन्तुष्टी बढेको छ भने गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने अधिकारी गाउँपालिका र नगरपालिकाको केन्द्र भएको इकाई सभापतिलाई दिने निर्णय पनि व्यवहारिक नभएको भन्दै आलोचना बढेको छ ।

नयाँ संविधान अनुसार गठित गाउँपालिका र नगरपालिका विकेन्द्रीकरणको सिद्धान्त अनुसार भएपनि काँग्रेसले स्थानीय तहमा तत्काल झारा टार्ने गरी पहिलेकै केन्द्रीकृत सासन सत्ता प्रेरित नेतृत्व दिएको भन्दै आलोचना भएको छ । काँग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णयको ३ नम्बर बुँदाको २ (क) अनुसार गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ इकाइ सभापतिलाई संयोजक र अन्य इकाई सभापतिहरुलाई सह–संयोजक र सबै इकाइ कार्यसमितिका आजका मितिसम्म कायम रहेका सबै पदाधिकारीहरुलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने र एक वा एक भन्दा बढी वडा गाभिएर कायम भएको वार्डको हकमा पनि यसै अनुरुप गर्ने भनिएको छ ।

केन्द्रीय सदस्य आनन्द ढुंगानाले स्थानीय तहको संख्या र सीमाना निर्धारण अघि नै आफुहरुको महाधिवेशन भइसकेकाले तत्काललाई यो समन्वय समिति व्यवहारिक नै हुने बताए । उनले भने, ‘१४औँ महाधिवेशनमा नयाँ संरचना अनुसार पार्टी संरचना हुन्छ । यसमा विवाद गरिरहनु पर्ने आवश्यकता छैन । यो व्यवस्था निर्वाचन परिचालनका लागि हो । निर्णयले व्याख्या नै गरिदिएको छ ।’ यद्यपि, जिल्लाका नेताहरुले यो निर्णयले समस्या निम्तिने बताएका छन् । काँग्रेसले स्थानीय तहको संख्या निर्धारण गर्दा समेत पुरानै इलाकालाई आधार मान्न भनेको थियो । सोही अनुरुप स्थानीय तहको संख्या बढेको बताइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ