arrow

राप्रपा छोडेका लोहनीले गरे नयाँ पार्टी घोषणा, यस्तो छ संरचना

एजेण्डा : नेपाल हिन्दु अधिराज्य हुनुपर्ने

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Prakashchandra-Lohani-new-ppp.jpeg

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी घोषणा गरेका छन् । सुकेधारास्थित पार्टी कार्यालय नजिकै रहेको एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी लोहनीले ‘एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी’ दल घोषणा गरेका हुन् । थापा नेतृत्वको पार्टी लोहनी राष्ट्रिय अध्यक्ष थिए ।

लोहनीको अध्यक्षतामा तत्काललाई ७१ सदस्यीय केन्द्रीय समिति गठन भएको बरिष्ठ नेता केशरबहादुर विष्टले जानकारी दिए । विष्टका अनुसार महाधिवेशन वा राष्ट्रिय भेला नभएसम्म अध्यक्ष र बरिष्ठ नेताको सल्लाहमा पार्टीको कार्यसम्पादन हुनेछ । विष्टलाई बरिष्ठ नेता बनाइएको छ । विष्ट एक वर्ष पहिले देखिनै एकिकृत राष्ट्रिय राप्रपाको अभियान चलाउँदै हिँडेका थिए । यस्तै, पुरानो राप्रपामा छुट्टै धार बनाएकाहरु समेत लोहनी नेतृत्वमा आएका छन् ।

व्यवस्था के छ ?
पार्टीको केन्द्रीय कार्यसमितिमा अध्यक्षपछि बरिष्ठ नेता र त्यसपछि सह–अध्यक्ष रहने बताइएको छ ।  यस्तै, उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहने छन् । तत्काललाई अध्यक्ष र बरिष्ठ नेता मात्रै घोषणा भएका छन् । बाँकी पदाधिकारी कति हुने र को–को हुने टुंगो शुक्रबार बस्ने पहिलो बैठकले लगाउने विष्टले जानकारी दिए । यस्तै, ८० प्रतिशत पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचनबाट आउने, २० प्रतिशत पदाधिकारी र सदस्य सल्लाहमा मनोनयन हुने व्यवस्था राखिएको छ ।

एजेण्डा के हो ?
विष्टले भने, ‘हाम्रो एजेण्डा नेपाल हिन्दु अधिराज्य हुनुपर्छ र संवैधानिक राज संस्था हुनुपर्छ भन्ने नै हो ।’ संघीयता अधिकार प्रत्यायोजन र समस्या समाधानको औषधि होइन । विष्टले अगाडि भने, ‘पछाडि परेको क्षेत्र र वर्गलाई हेर्ने सवालमा जात, भूगोल र भाषाका आधारमा विभाजन गर्ने होइन । त्यो पीछडाको समस्या समाधानको औषधि हुँदै होइन भन्ने हाम्रो मान्यता हो ।’ विकेन्द्रीकरण होइन शक्तिको हस्तान्त्रण गरिनुपर्छ भन्ने हो । डिसेन्टरलाइजेशन होइन कि डिभोलुशन गरिनुपर्छ । स्थानीय स्वायत्त शासनको अधिकार दिदा शक्तिको हस्तान्त्रण हुनुपर्दछ ।  

विकेन्द्रीकरणको अभ्यास फलदायी हुँदैन, उनले भने, ‘विकेन्द्रीकरण भनेको शक्ति हस्तान्त्रण होइन । चाहेको केन्द्रले बेला अधिकार फिर्ता लिन सक्ने व्यवस्था हो ।’ २० वर्ष सम्म स्थानीय चुनाव हुन नसक्नुको कारण केन्द्रमै अधिकार भएर हो । यस्तै, परराष्ट्र सम्बन्ध तथा योजना आयोजना तयार पार्नेबारे पनि छलफल भइरहेको बताइएको छ ।

को–को छन् लोहनीसँग ?
नयाँ पार्टीमा केशरबहादुर बिष्ट, श्याम सिंह सिन्हा, तारानाथ लुईँटेल,राम प्रसाद साह ‘भोला’ ,मिन कुमार कुँवर, रञ्जन खनाल, कमल चुडाल , डा. सुरेश बस्नेत, वृजलाल यादव, नानी मैया आचार्य, झनक प्याकुरेल, कृष्ण खरेल ,प्रभाकर सिंह , रुप सिंह थापा र डा.सुष्मा शर्मा लगायतका व्यक्तिहरु रहेका छन् ।

झण्डा र चुनाव चिन्ह
पार्टीको झण्डामा चार वटा रंग हुने बताइएको छ । निलो, सेतो, हरियो र पहेंलो । निलोले आकाश, सेतोले हिमाल, हरियोले पहाड र पहेंलोले तराई बुझाउने बताइएको छ । झण्डाको बिचैमा चक्र र हलो रहने उल्लेख छ । चक्रले मजदुर र हलोले किसान बुझाउने बरिष्ठ नेता विष्टले बताए । चुनाव चिन्ह भने हलो नै रहने बताइएको छ ।

याे पनि पढ्नुस् : राप्रपा त्यागेका लोहनीको पार्टी घोषणा हुँदै, कमल थापा छोड्नुको यस्तो छ कारण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ