arrow

डोटीमा सक्रिय पत्रकारदेखि सामाजिक कार्यकर्तासम्म चुनावी चर्चामा, काे कताबाट ?

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
three-party-news.png

डोटी । आसन्न स्थानीय तहको निर्वाचनमा देशभर उम्मेद्वारी चर्चा चुलिन थालेको छ । डोटी जिल्लाको गाउँपालिका र नगरपालिकामा सञ्चारकर्मी र सामाजिक कार्यकर्ताहरु पनि चुनावी चर्चामा आएका छन् । सरकारले वैशाख ३१ गतेका लागि तय गरेको स्थानीय तह निर्वाचनका लागि २२ वर्षदेखि पत्रकारिता गरेका पत्रकारदेखि सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरु उम्मेद्वारी दिन कस्सिएका हुन् ।

सक्रिय पत्रकार शंकर थापा जोरायल गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने तयारीमा छन् । २०५१ सालको स्ववियु निर्वाचनमा डोटी क्याम्पसको सभापतिमा विजयी भएका थापा विद्यार्थी जीवनमा एमाले निकट अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य पनि रहे । स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न सञ्चार माध्यममा काम गरिसकेका थापा आफ्नै क्षेत्र जोरायल गाउँपालिकामा चुनाव लड्ने चर्चा छ । थापाले लामो समय रेडियो नेपालको संवाददाता भएर काम गरे भने कान्तिपुर पत्रिकामा समेत रिपोर्टिङ गरेका थिए । थापा पत्रकार महासँघ डोटी–अछाम संयुक्त शाखाको संस्थापक सभापति समेत हुन् ।

यस्तै, १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा युद्ध पत्रकारको भूमिका निभाएका भरत बोहराले पनि गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने चर्चा छ । बोहरा पछिल्लो समय पत्रकारिता छोडेर कृषि र उद्यमशीलतातिर लागेका छन् । उनी पूर्वीचौकी गाउँपालिकाको अध्यक्षको दावेदार छन् । बोहराले समेत सामाजिक सञ्जाल फेसबुकमा आफु उम्मेद्वार हुने संकेत गरेका छन् । पछिल्लो समय बोहरा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आवद्ध छन् ।

यस्तै, जिल्लामा क्रियाशील पत्रकार लोकेन्द्र अधिकारी समेत उम्मेद्वारीको चर्चामा छन् । लामो समयदेखि पत्रककारिता पेशामा सक्रिय अधिकारी प्रेस सेण्टर नेपालको डोटी जिल्ला अध्यक्षसमेत हुन । भूमिगत हुँदा तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीतिमा प्रवेश गरेका अधिकारी पत्रकारिता संगसँगै माओवादी केन्द्रको जिल्ला सदस्य समेत छन् । अधिकारी शिखर नगरपालिकाको  ५ नम्बर वडामा वडाध्यक्षको उम्मेद्वारी दिने तयारीमा छन् ।

यस्तै, रेडियो डोटीका प्रबन्धक चक्र कुँवर समेत उम्मेद्वारी दिनेहरुको चर्चा सूचीमा छन् । कुँवर पछिल्लो समय नेपाली काँग्रेस निकट मानिने प्रेस युनियनमा समेत आवद्ध छन् । रासस, माउन्टेन टेलिभिजन लगायत सञ्चार माध्यममा काम गरिसकेका कुँवर नेपाल पत्रकार महासंघ डोटी शाखाकाको वहालवाला सदस्य समेत हुन् । कुँवर बोगटान गाउँपालिका ४ नम्बर वडाको वडाध्यक्षको उम्मेद्वारी चर्चामा छन् ।

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय शेरवहादुर मल्लले नगरपालिकाको मेयरमा उम्मेद्वारी दिने चर्चा छ । एमाले निकट युवा संघको जिल्ला अध्यक्ष समेत रहिसकेका मल्ल शिखर नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिने चर्चा चलेको हो । करीव दुई दशक अघि एमाले निकट अनेरास्ववियुबाट राजनीति सुरु गरेका मल्लले विभिन्न सामाजिक संस्थामा काम गरेका छन् । मल्लसँग पत्रकारितामा जोडिएको पनि अनुभव छ । उनी जिल्ला शिक्षा सरोकार समूहका अध्यक्ष समेत हुन् ।

यस्तै, विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका अर्का सामाजिक कार्यकर्ता धर्मराज जोशी पनि उम्मेद्वारी चर्चामा छन् । २०५७ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट डोटी क्याम्पस सभापतिको उम्मेद्वार भएका जोशी सायल गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने तयारीमा छन् । राजनीतिकर्मी संगसँगै सामाजिक क्षेत्रमा पहिचान बनाईसकेका जोशी नेपाली काँग्रेस निटक हुन् । पछिल्लो समय जोशी कैलालीमा सामाजिक संघ संस्थाहरुमा सक्रिय रहँदै आएका छन् ।

डोटीको पर्यटकीय विकासका लागि सक्रिय भूमिका खेल्दै आएका होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपक खड्का पनि चर्चाको शिखरमै छन् । डोटी उद्योग वाणिज्य संघका सदस्य समेत रहेका खड्काले आदर्श गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने चर्चा छ । नेपाली काँग्रेस निकट खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेद्वारी घोषणा समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ