arrow

प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपतिले दिए 'वान वेल्ट वान रोड'मा जोड

logo
अजय अलौकिक,
प्रकाशित २०७३ चैत १४ सोमबार
prachanda_xi_meet_chait14.jpeg
बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्राध्यक्ष सीजिङपिङ्गबीच सोमबार जनवृहत्तसभा भवनमा भेटवार्ता भएको छ । भेटको क्रममा राष्ट्राध्यक्ष सीले चीन र नेपालको मैत्रीपूर्ण सहयोग दुई मुलुक र दुई मुलुकका जनताको मूलभूत हितसित अनुकूल भएको बताउँदै हाल चीन र नेपालबीचको सम्बन्ध गहन रुपमा विकास भएको बताएका छन् । 
 
सीले दुई पक्षबाट नै दुर्इ देशबीचको सम्बन्धको विकासका सकारात्मक प्रवृत्तिको संरक्षण गर्न तथा चीन र नेपालको मैत्रीपूर्ण सहयोगको नयाँ अध्याय उघार्न प्रयास गर्नुपर्ने बताएका छन् । 
 
यसका साथै सीले “एक पाटो एक बाटो” (वान वेल्ट वान रोड) लाई विशेष जोड दिँदै नेपालले यसलार्इ सुअवसरको रुपमा लिएर अन्तरसञ्जाल तथा अन्तरकार्य, स्वतन्त्र व्यापार, कृषि,  ऊर्जा स्रोत, प्रकोपपछिको पुनःनिर्माण आदि क्षेत्रहरुको सहयोगलाई अगाडि बढाउन तथा पर्यटन, सँस्कृति, युवा, सञ्चार-माध्यमआदि क्षेत्रहरूको सहयोग तथा आदानप्रदानलाई सबल गर्नुपर्ने पनि बताएका छन्।
 
चीनले नेपालसँग संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय अन्तरराष्ट्रिय संस्थाहरूबीचको सहयोगलाई बढाउने, जलवायु परिवर्तन, दिगो विकासआदि समस्याहरूका अडानलाई समन्वय गर्ने, साझा हितको संरक्षण गर्ने आशा लिएको पनि भेटको क्रममा चीनका राष्ट्राध्यक्ष सीले व्यक्त गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले तातोपानी नाका, रेलवे लाइन लगायतका विषयमा चिनियाँ राष्ट्रपतिसँग कुरा राखेका थिए । 
 
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्राध्यक्ष सीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए। यसै भेटमा चिनियाँ पक्षले स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन चिनियाँ युयान सहयोग गर्ने प्रतिबद्धता गरेको छ। 
 
त्यस अघि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्ता व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ लगानीकर्ताहरुलाई ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन् । 
 
चिनियाँ लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेको प्रष्टयाउँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्तालाई जलविद्युत, पर्यटन, कृषि पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान पनि गरे। 
प्रधानमन्त्री प्रचण्डले नेपालमा चीनको लगानी बढिरहेको तथा प्रत्यक्ष वैदेशिक लगानीका हिसाबमा चीन नेपालको ठूलो स्रोत र व्यापारका हिसाबमा दोस्रो साझेदार भएको र विकासको दिशामा अघि बढिरहेकाले नेपाललाई चीनको सहयोग अपरिहार्य रहेको पनि बताएका थिए।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ