arrow

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, स्थानीय तहको चुनाव मुख्य एजेन्डा

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लामो समयपछि पहिलो पटक आइतबार बिहान पार्टी मुख्यालय सानेपामा सुरु भएको छ । बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचन रहेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बताएका छन् ।
 
त्यसबाहेक चुनावमा जानुअघिको सन्दर्भमा संविधान संशोधन पनि एजेन्डामा परेको छ । तर पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हालेको एक वर्ष पनि नाघिसकेको सन्दर्भमा अहिलेसम्म पार्टीको आन्तरिक संगठन विभाग व्यवस्थापन र कार्यसमितिलाई पूर्णता दिने एजेन्डा भने पुछारमा रहेको छ । 
 
स्रोतका अनुसार काँग्रेस सरकारमा गइसकेपछि भएका प्रगतिका बारेमा समेत गम्भीर रुपमा असन्तुष्ट पक्षले कुरा उठाउने जनाइएको छ । पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा सरकारमा गएपछि काँग्रेसको वरियतासमेत घटेको महसुस भइरहँदा सभापति देउवामाथि जमेर आक्रमण हुने बताइएको छ । 
 
त्यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एक वर्षमा संगठन शिथिल भएको सन्दर्भलाई पनि चर्को रुपमा उठाउने बुझिएको छ । 
 
देउवाले सभापति भएपछि एक महिनाभित्र कार्यसमितिलाई पूर्णता दिनेसहित संगठन पूर्ति गर्ने कसम खाएका थिए । तर एक वर्ष नाघ्दासमेत उनको कसम पूरा भएको छैन । 
 
आइजीपी नियुक्ति प्रकरणलेसमेत काँग्रेस पछाडि धकेलिएको अवस्थामा देउवाले धेरै कुराको अपजश बोक्नुपर्नेछ ।
 
बैठक बिहान ८ बजे सुरु हुने भनिए पनि देउवा नै बैठकमा ढिला गरी पुगेपछि बिहान ९ बजेपछिमात्र सुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ