arrow

ऊर्जामन्त्रीले गरे युवा शक्तिलाई जलविद्युत् उत्पादनमा लाग्न आह्वान

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
urjajanardan.jpeg
काठमाडौँ। ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरेका छन् । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा सबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताए । 
 
ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक-एक लाखको सेयर दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सोही योजना मुलुकभर नै अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक समृद्धि गर्ने सरकारको चाहना भएको मन्त्री शर्माले स्पष्ट पारे। 
 
वैदेशिक रोजगारीमा रहेका युवालाई समेत स्वदेशमा फर्काउने एउटा मात्रै विकल्पको रुपमा जलविद्युत् आयोजना र त्यसमा गरिने लगानी भएको स्पष्ट पार्दै उनले भने, “ राजनीतिक दलको घेराभन्दा माथि उठेर सम्पूर्ण युवा शक्ति अगाडि आउने हो भने नेपालको समृद्धि धेरै टाढा छैन । ऊर्जा मन्त्रालय सोही लक्ष्यका साथ काम गरिरहेको छ ।” क्षमताअनुसारको काम दिने र युवा शक्तिलाई मुलुक निर्माणको अभियानमा जोड्ने एउटा मात्रै विकल्प जलविद्युत् मात्रै भएको भन्दै बुढेसकालमा पेन्सन पाउने, आर्थिक रुपमा समृद्ध हुने आधार क्रमशः तयार भएको बताए । 
 
परिवर्तनको एजेण्डालाई संस्थागत गर्ने लक्ष्यका साथ माओवादी केन्द्र नेतृत्वको सरकारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले पनि स्थानीय तहमा युवाले जित्नैपर्ने आवश्यकता औँल्याए । उज्यालो नेपालको अभियानले नेपाली जनतामा विश्वासको वातावरण तयार भएको भन्दै त्यसैका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन र परिवर्तनको एजेण्डालाई विजयी गराउन लाग्नुपर्नेमा उनको जोड थियो । आर्थिक समृद्धिबिनाको राष्ट्रवादको नारा केवल हावादारी गफ मात्रै हुने भएकाले यथार्थमा आउन र मुलुकलाई समृद्धिको दिशामा लैजान तर्कसङ्गत कुरा अगाडि सार्न उनले नेकपा(एमाले)लाई आग्रह गरे। 
 
सो अवसरमा नेकपा(माओवादी केन्द्रका नेता झक्कुुप्रसाद सुवेदीले परिवर्तनको कार्यभार पूरा गर्नका लागि आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा विजयी हुनैपर्ने धारणा राखे । उनले माओवादी आन्दोलनले उठाएको विषय लागू हुने चरणमा रहेको र स्थानीय तहलाई दिइएको अधिकार त्यसैको एउटा स्वरुप भएको बताए । 
 
माओवादी केन्द्रका अर्का तथा काठमाडौँ जिल्ला इन्चार्ज नेता लेखनाथ न्यौपानेले माओवादी विजयी हुने लक्ष्यका साथ जनताका माझमा जान सबै नेता तथा कार्यकर्ताको दायित्व भएको बताए । 
 
आइतबारसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै स्थानीय तहको निर्वाचन सफल बनाउन वाइसियल परिचालित हुने वाइसियलका नेता युवराज दुलालले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ