arrow

हेटौंडा उपमहानगरपालिकाको मेयरमा आकांक्षा देखाउनेहरु कुन् पार्टीका को-को ?

पत्रकारदेखि सांसद्का उम्मेदवारहरुसम्मको दाबेदारी

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७३ चैत १२ शनिबार
four_party.jpeg
हेटौंडा । सरकारले बैशाख ३१ गतेको लागि स्थानीय तहको निर्वाचनको तयारी गरेसँगै देशभरका स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख तथा उपप्रमुखको लागि उम्मेदवारी दिन चाहनेहरुको बाढी आउन थालेको छ । चुनाव आउन अब डेढ महिना मात्रै बाँकी रहँदा टिकट पाउनको लागि शक्तिकेन्द्र धाउने कि भोट पाउनलाई जनताकहाँ जाने भन्ने विषयमा मेयरका दाबेदारहरु नै अन्यौलमा देखिन्छन् ।
 
यस्तै अवस्थामा विभिन्न दलहरुबाट हेटौंडा उपमहानगरपालिकामा मेयरको लागि उम्मेदवारी दिन चाहनेहरुको समेत चर्चा चल्न थालेको छ । अन्तिममा पार्टीबाट कसले टिकट पाउने हो भन्ने निश्चित नभएपनि विभिन्न पार्टीबाट एक भन्दा बढी व्यक्तिले नै उपमहानगरपालिकाको मेयरको लागि दाबेदारी प्रस्तुत गरेका छन् । 
 
यस विषयमा जिल्लाका राजनीतिक दलमा पनि गम्भीर छलफल सुरु भएको छ । दलको बैठकमा समेत स्थानीयस्तरमा लोकप्रिय व्यक्तिलाई निर्वाचनमा टिकट दिलाउनुपर्छ भन्ने र आफ्ना व्यक्तिहरुलाई टिकटको लागि लविईङ गर्नेको समेत उपस्थिती देखिएको छ । अहिले विशेषगरी मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु मध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँ शक्ति लगायतका पार्टी र पार्टीमा आवद्ध उम्मेदवारका आकांक्षीहरुले हेटौँडा उपमहानगरको मेयरका लागि आन्तरिक दौडधुप सुरु गरेका छन् । 
 
व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको तर्फबाट हेटौँडा उपमहानगरमा २ जनाले मेयरमा उम्मेदवारीको लागि आकांक्षा देखाएको देखिएको छ । उनीहरुको आन्तरिक दौडधुपको आधारमा कांग्रेस मकवानपुरका  वर्तमान नगर सभापति एंव युवा नेता आनन्दराम पराजुली र कांग्रेस मकवानपुका पूर्व उपसभापति अशोक शाक्य मेयरको उम्मेदवारको रुपमा चर्चामा छन् । निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका आनन्द पराजुली आफू नगर अध्यक्ष समेत रहेकोले पार्टीबाट टिकट पाउने सम्भावना बढी देखिन्छ भने शाक्यले पनि टिकट हात पार्ने सम्भावना उत्तिकै रहेको काँग्रेस निकट स्रोतले बताएको छ । उनीहरुबाहेक अहिलेसम्म नेपाली काँग्रेसको तर्फबाट कसैको पनि नाम चर्चामा छैन । 
 
त्यस्तै, दोस्रो ठूलो दल नेकपा एमालेमा पनि दुई पक्षीय गुटका कारण कसले माजी मार्छ भन्ने विषयमा यकीन गर्न सकिने अवस्था छैन । अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई जनाले नै मेयरमा उम्मेदवारीको आकांक्षा देखाएको पाईएको छ । मकवानपुरलाई एमालेले आफ्नो लाल किल्ला दाबी गर्दै आएको छ । सोही जिल्लामा झण्डै आधा दर्जन उम्मेदवारका आकांक्षीहरुबीच रस्साकस्सी पर्ने देखिएको हो ।
 
यस बाहेक एमालेका आकांक्षीहरुमा तत्कालीन हेटौँडा नगरपालिकाका पूर्व उपमेयर हरिबहादुर महत पनि रहेका छन् । उनले केही दिन अगाडि एमाले ६ नम्बर वडाले आयोजना गरेको वनभोज कार्यक्रममा आफु उपमहानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए । यता नेपाल निकट मानिएकी मकवानपुर एमाले अध्यक्ष मुनु सिग्देलले पनि मयेर उम्मेदवारको रुपमा आकांक्षा राखेकी छिन् । उनलाई उपमेयरमा व्यवस्थापन गर्न सकिने भन्दै पार्टीले उनको नाममा खासै चर्चा गर्ने गरेको छैन । अन्य केही नेताहरु उम्मेदवारका लागि पार्टीसँग छलफलमा रहे तापनि महत वा सिग्देल मध्येबाटै मेयरको उम्मेदवार बन्ने  करिव निश्चित रहेको एमाले स्रोत बताउछ । 
 
उता, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहानगरपालिकाको मेयरमा कसले उम्मेदवारी दिँदैछ भन्ने विषय चर्चामा नरहेको भएपनि केन्द्रका नेता प्रकाश पाण्डे लाई मोटामोटी मेयरमा उम्मेदवारी दिलाउने तयारी भईरहेको स्रोतको दाबी छ । यद्यपि केन्द्र निकट मानिएका पत्रकार महासंघका पूर्वअध्यक्ष कौशल पाण्डे र  बालकृष्ण चौलागाईंसमेतले मेयरको लागि आकांक्षा देखाईरहेका छन् ।  यता पार्टी भित्र छलफल नभएकाले माओवादी केन्द्र मकवानपुरका अन्य पार्टीबाट आधिकारीक उम्मेद्वार घोषणा भएपछि मात्रै आफ्ना उम्मेद्वारहरु सार्वजनिक गरिने रणनीतिमा रहेको एक नेताले जानकारी दिए । 
 
उता, राप्रपालाई पनि हेटौंडामा आफ्नो प्रभाव जमाउनुपर्ने समय आएको छ । राप्रपाको गढ मानिने मकवानपुर र त्यसको पनि केन्द्रको रुपमा रहेको हेटौंडामा राप्रपाले सुझबुझका साथ उम्मेदवार उठाउने तयारी गरिरहेको छ । यद्यपि अहिलेसम्म राप्रपाबाट मेयरका लागि दोस्रो संविधानसभा निर्वाचनका उम्मेदवार दीपकबहादुर सिंहलाई नै उठाउने भन्ने चर्चा चलिरहेको छ । तर, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा पनि मेयरको आकांक्षी रहेको र उनलाई मिलाउन पार्टी भित्र लविङ्ग भईरहेको राप्रपा मकवानपुरका एक नेताले बताए ।     
 
त्यस्तै, नेकपा मालेबाट पार्टी मकवानपुर सचिव भीमसेन महत नै मेयरको उम्मेदवार बन्न सक्ने जनाईएको छ । यद्दपी पार्टीमा छलफल भईरहेकोले को उम्मेदवार हुने भन्नेमा पछि नाम सार्वजनिक गरिने माले मकवानपुरले जनाएको छ ।
 
यता नेकपा माओवादी फुटेर बनेको नयाँ शक्ति मकवानपुले जनतामाझ परिचित रहेका व्यक्तित्वलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । नयाँ शक्ति निकट स्रोतका अनुसार सामाजिक रुपमा नगरमा परिचित व्यक्ति मध्यबाट मेयरको उम्मेदवार बनाइने बताएको छ जसमा । राजेन्द्र सिम्खडा र काँग्रेस परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका राजन मैनालीको नाम चर्चामा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ