arrow

यस्तो आश्वासनः चीन भ्रमणबाट फर्कने बित्तिकै सहमति

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
govt-morcha.jpeg
काठमाडौं । प्रतिपक्षीसहित प्रमुख दलहरू सीमांकनबाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केलगत्तै सहमतिको सम्भावना देखिएको छ । 
 
प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा र राप्रपाका दीपक बोहोरासम्मिलित कार्यदललाई एमाले र मधेसी मोर्चासँग सहमति तयार गर्न निर्देशनसमेत दिएका छन् ।
 
महिनौंपछि प्रतिपक्षी एमाले र मोर्चाका शीर्ष नेता छलफलका लागि एउटै टेबुलमा बसेकाले बिहीबारको बैठक सौहार्दपूर्ण देखिएको थियो ।
 
प्रधानमन्त्री दाहालले आन्दोलनरत मधेसी मोर्चाले राख्दै आएको परिमार्जनसहतिको संविधान संशोधन प्रस्तावलाई निकास दिएर चीन जाँदा मुलुककै कद उच्च हुने बताएका थिए । 
 
तर सहमतिको डकुमेन्ट तयार नभएकाले कार्यदलले त्यो तयार गरेपछि सम्भवतः प्रधानमन्त्री चीनबाट फर्केलगत्तै संशोधनका लागि निर्णय हुनेछ ।
 
प्रधानमन्त्री दाहालले भने, ‘चीनका नेताहरूबीच र चीनमा हुन लागेको बोआवो सम्मेलनमा उभिएर नेपालको समस्यालाई निकास दिएको सन्देश दिन सक्दा मेरो होइन, यो मुलुककै कद उच्च हुनेछ । मुलुकमा राष्ट्रिय एकता र मेलमिलाप रहेको सन्देश चिनियाँहरूले मन पराउँछन् ।’
 
बैठकमा प्रधानमन्त्रीले सीमांकन थाती राख्दै बाँकी विषयमा सहमित गरौं भन्ने प्रस्ताव राखेका थिए । 
 
प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओली भने बैठकमा अनुपस्थित थिए । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘अन्तर्राष्ट्रिय भ्रमणमा म विजेता भएर जान चाहन्छु । मुलुकको प्रधानमन्त्रीको व्यक्तित्व बढ्नु भनेको राष्ट्रको कद उच्च हुनु हो ।’
 
दुई दशकसम्म हुन नसकेको स्थानीय निर्वाचन कुनै पनि हालतमा गर्नु र गराउनु सबैको साझा कर्तव्य भएकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले थपे, ‘यसका लागि संसद्मा रहेको संशोधन प्रस्ताव पारित गर्नैपर्छ । त्यसो भएमा संविधानमा सबै पक्षको स्वामित्व रहेको सन्देशसमेत जान्छ ।’
 
एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूहरू सहमतिका पक्षमा भए पनि तत्कालै सहमति गर्न नसक्ने बताएका थिए । 
 
सहमति गर्ने विषयवस्तुका बारेमा आफूहरूलाई ज्ञान नभएकाले प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि सहमतिको बाटोमा जानु उपयुक्त हुने सुझाव गौतमले दिएका थिए ।
 
सरकारले सहमतिका लागि तयार गरेको डकुमेन्ट एमालेलाई उपलब्ध गराउन गौतमले माग गरेको जानकारी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले दिए ।
 
उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले प्रधानमन्त्रीले राखेको छलफल सकारात्मक भए पनि आफूहरू सहमतिका विषयमा अनभिज्ञ रहेकाले विषयवस्तुका बारेमा पार्टीमा छलफल गर्ने समय दिन माग गरेका थिए ।
 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता पक्ष र प्रमुख प्रतिपक्षलाई नै प्रधानमन्त्रीको सहमितका बारेमा ज्ञान नभएपछि अहिले सहमति हुने अवस्था नभएको बताएका थिए ।
 
यादवले भने, ‘सहमति बिगार्ने काम मोर्चाले नभएर एमालेले गरेको हो । एमाले मोर्चासँगको बैठकमा बसी छलफल गरेर धन्यवादको पात्र बनेको छ ।’ 
 
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल निर्माणमा मधेसको भूमिका उच्च रहेकाले कुनै पनि राष्ट्रिय एजेन्डाबाट मधेसलाई अलग्याउने कार्य ठीक नहुने बताएका थिए ।
 
एमालेले मधेसलाई होच्याउँदा मुलुक डुब्ने उनले बताए । उनले भने, ‘ढिलै भए पनि एमाले मोर्चासँगको बैठकमा बस्नु सकारात्मक कुरा हो ।’
 
यसअघि प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए ।
 
नेताद्वयबीच संशोधन र स्थानीय निर्वाचनका विषयमा गम्भीर वार्ता भएको जानकारी स्रोतले दिएको छ ।
 
प्रधानमन्त्रीले ओलीलाई सीमांकनबाहेक अन्य विषयमा सहमति गरी संविधान संशोधन गर्न मोर्चा तयार रहेको जानकारी दिएका थिए ।
 
एमालेका उपाध्यक्ष वामदेव गौतमले भने, ‘प्रधानमन्त्रीले सीमांकन थाती राख्दै अन्य विषयमा सहयोगका लागि आग्रह गर्नुभयो । ओलीजीले संविधानविपरीत भएको संशोधन प्रस्तावको विरोध गरेका हौं । संवैधानिक प्रक्रियामा हाम्रो विरोध रहँदैन भन्नुभयो ।’ 
 
यसैगरी फोरम नेपालका अध्यक्ष यादवसँग पनि प्रधानमन्त्रीले सीमांकनबाहेकका विषयमा सहमतिका साथ अघि बढ्न प्रस्ताव गरेका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ