arrow

बोआओ मञ्चमा भाग लिन प्रधानमन्त्री प्रचण्ड चीनमा, यस्ता छन् कार्यक्रम

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
prachanda-china.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका छन् ।  
 
प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित थिए ।
 
सो अवसरमा प्रधानमन्त्रीका सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अपर्ण गरेको थियो । 
 
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी रहेका छन् । 
 
प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
बोआओमा रहँदा प्रधानमन्त्रीले शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्नेछन् ।  
 
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्नेछन् ।
 
प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । 
 
सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् । 
 
भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । 
 
त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । 
 
प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कने छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ