arrow

गगन चुलिंदैछन्, हिंड्दै जनताको साथमा, सरकार भएको आभास

logo
बाबु नेपाली,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । पछिल्लो एक हप्तालाई मुल्यांकन गर्ने हो भने नेपालीलाई दशा लागेको छ । सोमबार भएको सप्तरीको राजनीतिक घटना, बिहीबार भएको कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको ज्याजती र जाजरकोटमा भएको यात्रुबाहक बस दुर्घटना । यी तीनवटै घटनामा नेपालीकै ज्यान गएको छ । तर नेपाली मर्दा पनि झट्ट सरकारले उपस्थिति जनाएर त्यसको समाधानका लागि पहल गरेको पाइँदैन । यो नेपाली राजनीतिको दुर्भाग्य नै हो । 
 
यसबीचमा पनि बिहीबार रातभर स्वास्थ्य मन्त्री गगन थापाले देखाएको सक्रियताले भने पक्कै पनि आशा अझै मरेको छैन भन्ने संकेत दिएको छ । उनले सामाजिक संजाल ट्वीटरमा कहिले सप्तरीको घटना त कहिले कञ्चनपुर घटनाको सम्झना गरिरहेका थिए । त्यतिमात्र होइन उनले जाजरकोटमा भएको भयानक बस दुर्घटनाको पछिल्लो अपडेट ट्वीटरबाट दिइरहेका थिए ।
 
सूचनाबाट कोही बञ्चित नहोउन् भनेरै उनले कतिबेला के भइरहेको छ भनेर ट्वीटरमार्फत सक्रियता जनाइरहेका थिए । कतिबेला उनले घटनाबारे चिन्ता जनाइरहेका हुन्थे त कतिबेला यसो गर्न सकेको भए घाइतेको उपचारमा सहज हुने बाटो देखाइरहेका हुन्थे । 
 
मन्त्री गगन थापाको यो सक्रियताको सामाजिक सञ्जालमा प्रशंसा पनि भएको छ । केहीले ट्वीटरमा घतलाग्दौ ट्वीट गर्ने क्रममा ‘ए ! देशमा सरकार पनि रहेछ !’ भन्दै थापाको प्रशंसा गरेका हुन् । सरकार भएको आभास गरिनुको मतलव हो मन्त्रीहरु जनताका पीडामा साथ छन् ।
 
अधिकांश मन्त्रीहरु प्रतिक्रिया जनाउँदा पनि बिना आम्दानी किन बोल्नु भनेजस्तो गर्छन् । तर मन्त्री बनेदेखि नै गगन थापाले प्रत्यक्ष जनसरोकारका कुरा नै गरेका छन् । 
 
त्यसो त नेपाल स्वास्थ्य सेवा दिनमा निकै कमजोर छ । त्यसैले पनि गगन थापाले प्रत्यक्ष रुपले जनतालाई सेवा दिने कदम चलाउँदा समाचारमा आउँछन् । यसअघिका मन्त्रीहरु चर्चामा नआउने तर गगन थापा आउनुले उनले केही नयाँ काम त अवश्य गरेका छन् भन्ने हो ।
 
गगन थापाले गर्न बाँकी धेरै छ । तर जति गरिरहेका छन् त्यसले उनकोमात्र होइन नेपालीको अधिकारको भविष्य पनि उज्ज्वल हुँदै गएको संकेत हो । उनले बिहीबार रातिको एक ट्वीटमा भनेका छन्, ‘सप्तरीको दुस्खद घटना, कन्चनपूरमा एसएसबीको ज्यादती र जाजरकोटको दुर्घटनास् प्रार्थनाले यी क्षतिहरु फेरिदैंनन्, फेर्ने हामी सबैको प्रयत्नले नै हो।’
 
यसले प्रत्यक्ष संकेत गर्छ कि प्रयत्न गर्ने हो भने सबै कुराको समाधान गर्न सकिन्छ । त्यसका लागि उनले सुतेको सरकारलाई सरकारमै बसेर जगाउने प्रयत्नमात्र गरेका छैनन् जनतालाई जाग्न पनि प्रेरित गरेका छन् । 
आखिर कोही त अग्रसर भएर अगाडि आउनै पर्छ ।
 
त्यो गगन चुम्न स्वयं गगन थापानै आएका छन् । बस् उनीबाट अझै राम्रा काम हुँदै जाउन् । उनले चर्चाका लागि हैन मानिसको गरिबी मानसिकता फेर्न मद्दत गरुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ