arrow

लोकमानले पदकाे दुरुपयोग गरेको पुष्टि

संसदीय समितिको प्रतिवेदन तयार

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
lokman-ji-haa.jpeg

काठमाडौँ । संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार पारेको छ । व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिअन्तर्गत गठित उपसमितिले गरेको अनुसन्धान, छानबिन र प्राप्त कागजातबाट कार्कीमाथि लागेका अधिकांश आरोप पुष्टि भएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए  ।

सर्वोच्च अदालतबाट कार्की अयोग्य ठहर भई पदमुक्तसमेत भइसकेकाले महाभियोग प्रस्तावमा उल्लिखित विषयलाई छोडेर उपसमितिले पदीय दुरुपयोगका बारेमा मात्र अनुसन्धान गरेको बताइएको छ । उपसमितिले १५ दिन लगाएर कार्कीविरुद्धको प्रस्तावमा लगाइएका आरोपहरुमाथि छानबिन गरेको हो । उपसमितिले तयार गरेको प्रतिवेदन समितिको विहिबारको पूर्ण बैठकमा प्रस्तुत हुनेछ ।

उपसमितिले महाभियोग प्रस्तावमा काठमाडौँ विश्वविद्यालय र मेडिकल काउन्सिलमा भएको हस्तक्षेपलगायतका विषयमा लगाइएको आरोप पुष्टि भएकाले संसद्ले प्रचलित कानुन बमोजिम सम्बन्धित निकायलाई थप छानबिन गरी कारबाही गर्न निर्देशन दिन सक्ने सांसद भण्डारीले जानकारी दिए

व्यवस्थापिका–संसद्का १५७ जना सांसदको हस्ताक्षरसहित गत कात्तिक ७ गते दर्ता गराइएको महाभियोग प्रस्तावमा संविधान र कानुनको उल्लङ्घन, पदीय दुरुपयोग, कर्तव्य बिमुख तथा आचार संहिताको उल्लङ्घनको आरोप लगाइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट पदमुक्त भए पनि महाभियोगको प्रस्ताव दर्ता गराउने पक्षले प्रस्ताव फिर्ता नलिएको अवस्था विद्यमान रहेका कारण समितिले प्रतिवेदन पारित गरेर व्यवस्थापिका–संसद्को पूर्ण बैठकमा पठाउन चाहेको हो ।

उपसमितिले तयार गरेको प्रस्तावका बारेमा भोलि बस्ने समितिको बैठकमा छलफल भई परिमार्जनपछि मात्र संसद्मा पठाइने बताइएको छ । संसद्ले उक्त विषयबारेमा सम्बन्धित निकायको ध्यानाकर्षण वा निर्देशन गर्न नचाहेमा संसद्को सम्पत्तिका रुपमा प्रतिवेदन सुरक्षित रहनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ