arrow

मध्य भोटेकोसीको बीस प्रतिशत मात्र काम सम्पन्न

logo
राम केसी,
प्रकाशित २०७३ माघ ८ शनिबार
Hydro-Power.jpg.jpeg
चौतारा। सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ । जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक÷पटक अवरोध पुर्‍याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताए । 
 
सन् २०१३ बाट सुरु भएको सो आयोजना सन् २०१७ को जुनमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर विनाशकारी भूकम्प र नाकाबन्दीका कारण करिब १५ महिना काम रोकिएकोले सन् २०१८ को अन्त्यसम्ममा सो कार्य सकिने लक्ष्य लिएको छ । गएको असारमा आएको बाढीले बाह्रबिसे तातोपानी सडक खण्ड पूर्णरुपमा क्षति भई केही महिना काम रोकिएकाले उक्त समयमा पनि काम सम्पन्न हुने नदेखिएपछि आयोजना पुनः एक वर्षपछि धकेलिएको छ । 
 
मुआब्जा र राजनीतिक दलसँगको असमझदारी समस्या समाधान भए पनि कुनै बाधा व्यवधान नआएमा सन् २०१९ को अन्त्यसम्ममा सम्पन्न हुने आयोजना प्रमुख डा लामाले  बताए । 
 
सिभिल इन्जिनियरिङको काम चीनको ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनी र मेकानिकल इन्जिनियरिङको काम अस्ट्रियाको एनब्रीज हाइड्रोकम्पनीले ठेक्का लिएको छ । विद्युत् गृह र हेड वर्कको काम सुरु भएको छ भने ८ कि.मि सुरुङमध्ये १२०० मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । 
 
त्यसैगरी डाइभर्सन टनेलको काम सम्पन्न भएको छ । मार्मिङ गाविसको चाकु बजारस्थित ३१ घर परिवारलाई क्षतिपूर्ति प्रदान गरी २० घरपरिवार अन्यत्र सारिसकेका छन् । क्षतिपूर्ति पाएर पनि बसोवासका लागि अतिरिक्त जग्गा माग गरेकाले एक विद्यालय र एक स्वास्थ्य चौकीसहित ११ घरपरिवारलाई थप चार आनाका दरले जग्गा उपलब्ध गराएको आयोजनाले जनाएको छ । 
 
मार्मिङ गाविसको चाकु बजारको दोभानमा बाँधबाँधी ८ कि.मि. सुरुङ मार्गद्वारा गाती गाविसको जम्बुमा निर्माण गरिने विद्युत् गृहमा पानी लगिने १०२ मेगावाटको सो आयोजना रु १४ अर्बको लागतमा निर्माण गरिने भएको छ । 
 
त्यसैगरी मुनलाइट हाइड्रोपावर कम्पनीद्वारा निर्माण भइरहेको १० दशमलव ६ मेगावाटको बलेफी ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म २५ प्रतिशत सम्पन्न भएको कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले बताए । 
 
१ अर्ब ७४ करोडमा निर्माण भइरहेको सो आयोजना सन् २०१८ को जुलाइमा सम्पन्न हुने सम्झौता भएको छ । सेलाङ गाविसको कुम्भेस्वरमा इन्टेक बनाई सेलाङकै कुमाले भन्ने ठाउँमा विद्युत् गृह निर्माण गरिने छ । उक्त आयोजनाका लागि १० कि.मि प्रवेश मार्गको निर्माणकार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ