काठमाडौं । रेमिटन्स कम्पनी आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रा.लि वीच औपचारिक रेमिटेन्स सेवा सुरु भएको छ । बुधबार काठमाडौंमा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डियाका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाबिच रेमिटेन्स सम्झौता भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले डिजिटल्स फाईनान्सीयल सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र विस्तारै डिजिटल्स फाईनान्सीयल सेवामा प्रवेश गर्दै गरेको आईएमईवीच भएको सेवा शुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपाली दाजुभाईहरुको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्राउन सहज हुने विश्वाश व्यक्त गरे । ढकालले भने - 'यो सहकार्यले डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको वाध्यतालाई थोरै भएपनि कम गर्ने छ ।
कार्यक्रममा अक्सिजन इण्डियाका अध्यक्ष प्रमोद सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरु मार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र आईएमई लिमिटेडवीच भएको सेवा शुभारम्भले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने विश्वास लिइएको आईएमईले जनाएको छ ।
आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिंग साझेदार हुन । अक्सिजन आरबीएल बाट मान्यता प्राप्त भारतको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालन गर्ने संस्था हो जसले वार्षिक ६ करोडभन्दा बढी कारोबार गर्दै आएको छ ।