arrow

पहुँचमा नभएका अपाङ्गलाई परिचयपत्र

अपाङ्ग दिवसमा परिचयपत्र शिविर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
apanga-parichaya.jpeg
स्याङ्जा । स्याङ्जामा २५ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर एकदिने अपाङ्ग परिचयपत्र वितरण शिविर आयोजना गरिएको छ । पहुँचभन्दा बाहिर र जिल्ला सम्म पुग्न नसक्ने अपाङ्गहरुका लागि भिरकोट नगरपालिकाको समन्वयमा स्याङ्जा अपाङ्ग समाज र महिला तथा वालवालिका कार्यालयको आयोजनामा सो शिविर संचालन गरिएको हो । १६ दिने लैङिगक हिंसाको अवसर र अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ््गहरुलाई परिचयपत्र वितरण गरिएको थियो । 
 
उक्त शिविरमा चार प्रकारका अपाङ्गहरुलाई अपाङ्ग परिचयपत्र वितरण गरिएको महिला तथा वालवालिका कार्यालयकी प्रमुख चन्द्राकुमारी व्याञ्जनकारले जानकारी दिइन् । पूर्ण अशक्त अपाङ्गका लागि रातो, अति अशक्त अपाङ्गका लागि निलो, मध्यम अपाङगका लागि पहेलो र सामान्य अपाङ्गका लागि सेतो परिचयपत्र उपलव्ध गराइएको थियो । महिला तथा बालवालिका कार्यालयकी प्रमुख व्याञ्जनकारले सुस्त मनस्थितिका डिलबहादुर रानाभाटलाई रातो अपाङ्ग परिचयपत्र दिएर शिविरको उदघाटन गरेकी थिइन् । 
 
अपाङ्गता चाहेर हुने होइन शिविरको उदघाटनमा कार्यालय प्रमुख व्याञ्जनकारले भनिन्,“कोही जन्मजातबाट अपाङ्ग हुने गर्छन् भने कोही विरामी र दुर्घट्नामा परेर अपाङ्गता हुने गर्छन् ।” अपाङ्गहरुलाई हेला भन्दा पनि माया गर्नुपर्ने आवश्यकता अझै पनि समाजमा देखिएको उनको भनाई थियो । परिवारमा अपाङ्ग भयो भने पुर्वजन्मको पाप हो भन्ने अझै पनि बुढापाकाहरुको बुझाईले गर्दा पनि अधिकांश अपाङ्गता भएका व्याक्तिहरुको पहिचान पाउन नसकिएको व्याञ्जनकारको भनाई थियो । 
 
जिल्लामा अझै पनि अपाङ्गता भएका अधिकांश व्याक्तिहरुले अपाङ्गता परिचयपत्र नपाएको बताइएको छ । आफ्नो पहुँच भन्दा बाहिर भएकै कारणले अधिकांशले परिचयपत्र पाउन नसकेको सरोकारवालाहरुको भनाई छ । राज्यले अहिले बनाएको अपाङ्गता नीति सच्चाउनु आवश्यकता देखिन्छ स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष युवाराज पराजुलीले भने,“ अहिलेको नीतिले अधिकांश अपाङ्गता भएका व्याक्तिहरुले रातो र निलो परिचयपत्र पाउनबाट बन्चित भएका छन् ।” महिला तथा बालवालिका कार्यालयको पहुँच भन्दा बाहिर रहेका अपाङ्ग व्याक्तिहरुलाई बेला बेलामा यस्तो शिविरबाट परिचयपत्र वितरण गनुपर्ने आवश्यकता देखिन्छ अध्यक्ष पराजुलीले भने । 
 
गरिवी र पारिवारिक चेतनाको कमीका कारण धेरै अपाङ्गता भएका व्याक्तिहरु अपाङ्ग परिचयपत्र पाउनबाट वन्चित रहेको बताइएको छ । यस्ता अपाङ्ता भएका व्याक्तिहरु खोज्नु जरुरी छ भिरकोट अपाङ्ग समाजका समन्वय समितिका अध्यक्ष श्यामप्रसाद अर्यालले भने,“राज्य र संघसंगठन तथा गैह्र सरकारी संस्थाहरुले लुकेका अपाङ्गहरुको पहिचान गर्नुपर्छ ।” राज्यको सेवा सुविधाबाट बन्चित हुने अवस्था अपाङ्ग भएका वयक्तिहरुले पाउनु दुःखद भएको अर्यालको भनाई थियो । 
 
एक दिने शिविरबाट ३५ जना अपाङ्गले परिचयपत्र पाएर लाभान्वित भएका छन् । भिरकोट नगरपालिका र आसपासकाका गाविसका गरी रातो परिचयपत्र पाउने ४, निलो परिचयपत्र पाउने ८, पहेलो परिचयपत्र पाउने १२ र सेतो परिचयपत्र पाउने ११ जना रहेका छन् । परिचयपत्र सम्म लिन जान नसक्नेका लागि यो शिविरले फलदायी काम गरेको सहभागीहरुले बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ