arrow

विदेशी डिग्रीका नाममा ५ सय विद्यार्थी ठगिए

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
student-degree.jpeg
काठमाडौं । विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ ।
 
मान्यता नपाएपछि विद्यार्थीको मिहिनेत खेर गएको छ भने उनीहरूको शैक्षिक भविष्यसमेत अन्यौलमा परेको छ । पढाई सकिए पनि प्रमाणपत्रले मान्यता नपाएपछि सयौ विद्यार्थी ठगिएका छन् ।
 
भारतको कर्नाटका स्टेट ओपन युनिभर्सिटीको कार्यक्रम सञ्चालन गर्ने राजधानीको इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आइसीएचएम) मा स्नातक तहमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुको प्रमाणपत्रले मान्यता नपाएको हो । 
 
यसबाट विद्यार्थीहरु माथिल्लो तह अध्ययन गर्नबाट वन्चित भएका छन् ।
 
भारतको विश्वविद्यालय अनुदान आयोगले कर्नाटका स्टेट ओपन युनिभर्सिटीलाई २०१२ देखि नै विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो ।
 
तर, आइसीएचएमले दुई बर्षअघिसम्म उक्त विश्वविद्यालयको कार्यक्रममा विद्यार्थी भर्ना लिइरहेको थियो । यो कलेजले ६ बर्षअघि देखि स्नातक तहमा बीएस्सी एचसीएमको कार्यक्रम चलाउन थालेको हो ।
 
कलेजले यो कार्यक्रमका लागि ३ लाखदेखि ५ लाख रुपैयाँसम्म लिएको विद्यार्थीहरुले जनाएका छन् । मन्त्रालयका अनुसार यो कलेजबाट पाँच सयभन्दा बढी विद्यार्थीले अध्ययन गरेका छन् ।
 
कलेजले आफूलाई ठगेको भन्दै विद्यार्थीहरूले कलेजविरुद्ध छानविन गर्न प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् ।
 
यो विश्वविद्यालयलाई अन्य देशका विश्वविद्यालयले मान्यता नदिएकाले विद्यार्थीहरुको भिसासमेत अस्वीकृत हुने गरेको छ ।
 
विद्यार्थीहरु अनन्तराज अधिकारी र बिजय तिमल्सिनासहितले अष्टेलिया जाने प्रयास गर्दा भिसा अस्वीकृत भएको कागज पेस गर्दै प्रहरी कार्यालयमा गुहारेका छन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ