arrow

व्यवसायीको सिन्डिकेटले ट्रकको बिक्री ठप्प

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
truck.png
बारा । निजी क्षेत्रको दबाबले मुलुकमा ढुवानीको प्रमुख साधन ट्रक बिक्री ठप्प भएको छ । नेपाल ट्रक यातायात व्यावसायी महासंघले मुलुकभर नया ट्रक दर्ता रोकेपछि ट्रकको बिक्री रोकिएको हो । 
 
संघले मुलुकभरका आफ्ना सदस्य संस्थालाई मालबाहक सवारी साधन सञ्चालनका लागि सदस्यता नदिन परिपत्र पनि गरेको छ ।
 
व्यवसायीहरूले मुलुकको आवश्यकताभन्दा बढी ढुवानीका साधन भित्रिएको भन्दै नयाँ दर्ता रोकेका हुन् । व्यवसायीको खुला सिन्डिकेटका कारण सञ्चालनमा अवरोध हुने त्रासले नयाँ खरिद गर्ने आँट अन्यले गर्न सक्दैनन् ।
 
सडकको क्षमता भन्दा ५ गुणा बढी सवारी साधन सञ्चालन हुँदा दुर्घटना बढेको, सडक साँघुरो भएको जस्ता कारण देखाउँदै महासंघले आफैं अन्तर्गतका २७ संस्थामा नयाँ ट्रक दर्ता बन्द गरेको छ ।
 
ट्रक सञ्चालनमा राज्य प्रशासनको उपस्थिति नै नरहेको जस्तो देखिने भएकाले व्यवसायीको निर्णयले नै नीति निर्धारण गर्ने परिस्थिति उत्पन्न गरेको छ ।
 
मालवाहक सवारी बिक्री गर्ने कम्पनीहरूको व्यवसाय यतिबेला ठप्प छ । मुलुकमा  विभिन्न १० बटा कम्पनीहरूको ट्रक बिक्री हुने गरेको छ । सबै कम्पनीहरूको ट्रक असोज १ गतेबाटै बिक्रि बन्द भएको छ ।
 
“महासंघले असोज १ गतेबाट देशभरका सदस्य संस्थाहरूमा नयाँ मालबाहक कुनै पनि प्रकारका सवारी साधन ट्रक दर्ता नगर्नु भनेर रोकेको छ,” महासंघका केन्द्रीय उपाध्यक्ष शंकरकुमार बिष्ट भन्छन्, “सडक विस्तारमा राज्यको ध्यान पुगेन, दुर्घटना व्यापक भयो । थेग्नै नसक्ने भएपछि हामीले नया ट्रक देशभरका संस्थामा दर्ता नगर्ने निर्णय गरेका हौं ।”
 
उनले अर्को निर्णय नभएसम्मका लागि दर्ता बन्द गर्ने निर्णय भएको जानकारी दिए । कम्पनीहरूको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा मासिक करिब ३ सय विभिन्न प्रकारका मालबाहक सबारी साधन बिक्री गर्ने गरेका छन् ।
 
सिप्रदी ट्रेडिङले मात्रै प्रत्येक महिनामा २ सय ५० भन्दा बढी संख्यामा नयाँ ट्रक बिक्री गरी डेढ अर्ब रुपैयाँ बढीको कारोबार गर्ने गरेको थियो । हाल सिप्रदीको टाटा ट्रकले यस सेगमेन्टमा ८० प्रतिशत बजार हिस्सा ओगटेको छ ।
 
सिप्रदीका प्रोडक्ट म्यानेजर दिवशबाबु सुबेदीले देशभरका सिप्रदीका शाखाबाट महिनामा न्यूनतम २ सय ५० देखि ३ सयको हाराहारीमा ट्रक बिक्री हुने गरे पनि असोज १ गतेदेखि एउटै बिक्री नभएको बताए ।
 
महासंघअन्तर्गतका संस्थाले देशभर नयाँ सदस्य दर्ता रोकेपछि ट्रक बिक्री बन्द भएको बताउँदै सुबेदीले संघको सदस्य बिना व्यवसायी आफैंले ट्रक चलाउन जोखिम हुने भन्दै खरीद गर्न कोही नआएको बताए ।
 
टाटा, भारतबेन्ज, मेन, आइसर, अशोक लेलण्डलगायतका ब्रान्डका १ टनदेखि ४० टन भारवाहन क्षमताका मालबाहक सवारीका साधनहरू  बिक्री हुने गरिएको छ । 
 
आयात गरिएका ट्रकसमेत बिक्री गर्न समस्यामा पर्न थालेका कम्पनीहरूले आफ्नै नयाँ योजना बनाउन थालेका छन् ।
 
सिप्रदीका सुवेदी भन्छन्, “अब हामी पुराना ट्रक नयासँग साट्ने वा अरु केही सोचमा छौं ।” यसरी लामो समय विक्रि रोकिँदा आयात कम्पनीलगायतका कर्मचारी, बैंक, राजस्वलगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । 
 
महासंघको दर्ता बन्दसम्बन्धी निर्णयलाई ट्रक व्यवसायीहरूले नै आशंकाको दृष्टिले हेरेका छन् ।  एक व्यवसायी भन्छन्, “यो यातायात माफियाहरूको चाल हो, ट्रक बिक्री गर्ने कम्पनीसँगको लेनदेन नमिल्दा यस्तो अवस्था आएको हो ।”
 
उनले ३ वर्षअघि पनि केही समय बन्द गरेर नयाँ ट्रक दर्ता संघले खोल्दा यस्तै समस्या आएको स्मरण गरे । 
 
तर, वीरगन्ज भन्सार कार्यालय प्रमुख सेवन्त पोखरेलले भने विक्रि नभएको विषयमा अनभिज्ञता प्रकट गर्दै आयातमा कुनै कमी नआएको जानकारी दिए । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ