arrow

बुबा आमालाई वृद्धाश्रममा राख्ने परिपाटी अन्त्य हुनुपर्छ : राष्ट्रपति भण्डारी

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
bidyadevi.jpg.jpeg
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई जन्म दिने र हुर्काउने बुबा आमालाई वृद्धाश्रममा राख्ने परिपाटी अन्त्य हुनुपर्ने बताएकी छन् । 
 
विराटनगरमा शानिबारबाट शुरु भएको जेष्ठ नागरिक महोत्सवको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले आजका शिक्षित पुस्ताबाटै जेष्ठ नागरिकलाई स्नेह र माया दिनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले अबको शैक्षिक पाठ्यक्रममा वृद्धवृद्धालाई श्रद्धा र सम्मान गर्ने खालका पाठ्यसामाग्री राख्नुपर्नेमा समेत जोड दिइन् । 
 
राष्ट्रपति भण्डारीले भनिन्, ‘राज्यले पर्यटन र तीर्थाटनमा जाने वृद्धवृद्धाका लागि विशेष व्यवस्था गर्नु पर्छ । जेष्ठ नागरिकहरुका लागि मनोरञ्जन पार्क स्थापना गरिनु पर्छ ।’ आवश्यकता अनुसार सामाजिक कानून निर्माण गरी वृद्धवृद्धा तथा बालबालिकाको सुरक्षामा ग्यारेण्टी गर्नु पर्दछ ।
 
राष्ट्रपति भण्डारीले नयाँ संविधानले जेष्ठ नागरिकको अधिकारलाई मौलिक अधिकारको रुपमा संस्थागत गरेको समेत बताइन् । तत्कालिन मनमोहन सरकारले वृद्धवृद्धाका लागि अबलम्बन गरेको सामाजिक सुरक्षा भत्ता दक्षिण एसियाकै नमूना भएको भन्दै राष्ट्रपति भण्डारीले यसले जेष्ठ नागरिकको जिवनयापनमा सहजता आएको उल्लेख गरिन् । 
 
कार्यक्रममा बोल्दै एमाले नेता एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेष्ठ नागरिकको औषधि उपचारका लागि सातवटै प्रदेशमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्नुपर्ने बताइन् । यस्तै, सवारी साधनमा यत्रा गर्दा जेष्ठ नागरिकलाई छुट दिने व्यवस्था कार्यान्वयन गर्नु पर्नेमा राष्ट्रपति मण्डारीको जोड थियो । 
 
जेष्ठ नागरिक समाज राज्यको अमूल्य सम्पती भएकाले परिवारका सवैले माया र स्नेह दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाई छ । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले जेष्ठ नागरिकको मनोवल उच्च राख्दै उनीहरुको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
 
मनमोहन स्मृति प्रतिष्ठानको आयोजानमा दुई दिनसम्म चल्ने सो महोत्सवको पहिलो दिन शनिबार १ नम्वर प्रदेशका ३ हजार सातसय जेष्ठ नागरिकलाइ प्रतिष्ठानले सम्मानपत्र दिई तथा दोसल्ला ओढाएर सम्मान गरेको छ । 
 
जसमध्ये १ सय वर्ष बढी उमेर पुगेका २२ जना राष्ट्रपति भण्डारीबाट सम्मानित भए । महोत्सवमा जेष्ठ नागरिकको  मनोरञ्जनका लागि ख्याती प्राप्त कलाकारहरुले साँस्कृतिक प्रस्तुतीहरु राखे । महोत्सवमा १ नम्वर प्रदेशको १४ वटा जिल्लाका ३ हजार सात सय जेष्ठ नागरिकको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ