arrow

काठमाडौं म्याराथनमा भूमि र कान्छिको उत्कृष्ट प्रदर्शन

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Bhumi-ra-kan6imaya.jpeg
काठमाडौं । नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी कान्छीमाया कोजुले १०औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर) मा आ–आफ्नो प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो भए ।
 
भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दूरी २ घण्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे । यसअघि नेपालमा भएको कुनैपनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गरेका छैनन् ।
 
पुरुष म्याराथनको राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । उनले भारतमा भएको तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए । यो कीर्तिमान दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ । भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं रोड रनर्स क्लब अल्मुनाईका सल्लाहकार एवं स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौं म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले बोनस स्वरुप छुट्टै १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
 
नेपाल आर्मीका कृष्ण बस्नेत (२ घण्टा २१ मिनेट ४६ सेकेन्ड) दोश्रो तथा राजन खत्री (२ घण्टा २९ मिनेट २२ सेकेन्ड) ले तेश्रो स्थानमा दौड टुंगाए । कान्छीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ५७ सेकेन्ड समयमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । कान्छीले लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी स्वरुपा खड्काले सिकागो म्याराथन– २०१३ मा बनाएको २ घण्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।
 
स्वरुपाले २०१४ मा भएको इन्चोन एसियाड र २०१६ मा भारतमा भएको १२ औं सागमा पनि नेपालबाट प्रतिनिधित्व गरेसकेकी छन् । राष्ट्रिय कीर्तिमान वापत कान्छीलाई रोड रनर्स अल्मुनाईले छुट्टै ५० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । प्रो स्पोर्ट्सले गरेको प्रतियोगितामा आर्मीका सरिता वासी (३ घण्टा १९ मिनेट ५२ सेकेन्ड) दोश्रो तथा लालकुमारी घर्ती (३ घण्टा ४४ मिनेट १४ सेकेन्ड) तेश्रो स्थानमा रहे ।
 
म्याराथन विजेताले ५० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार पाउने छन् । चौथोदेखि दसौं स्थानमा दौड सकाउनेलाई क्रमशः ७, ६, ५, ४, ३, २ र १ हजार नगद पुरस्कार प्रदान गरिने छ । हाफ म्याराथन (२१.०९७५ किलोमिटर) मा आर्मीको वर्चस्व रह्यो । पुरुष÷महिला दुवैमा आर्मीका खेलाडीले शीर्ष तीन स्थानमाथि कब्जा जमाए ।
 
पुरुषमा हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी १ घण्टा ०८ मिनेट ४७ सेकेन्डमा सिध्याए । ज्ञानप्रसाद भट्टराई (१ घण्टा ९ मिनेट २८.९५ सेकेन्ड) दोश्रो तथा लालबहादुर थापा (१ घण्टा १० मिनेट ३६ सेकेन्ड) तेश्रो बने ।
 
त्यस्तै महिलामा १ घण्टा २७ मिनेट १९ सेकेन्ड समय खर्चदै दौड पूरा गरेकी सानुमाया कार्की पहिलो भइन् । पुष्पा भण्डारी (१ घण्टा ३२ मिनेट २३ सेकेन्ड) दोश्रो तथा विन्द्रा देशार श्रेष्ठ (१ घण्टा ३४ मिनेट ४० सेकेन्ड) तेश्रो भए । हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १३ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
 
पुरुष ५ किलोमिटर खुला दौडमा रामजी बस्नेत पहिलो भए । उनले १९ मिनेट ०३.२७ सेकेन्ड समय खर्चे । टीकाराम कट्वाल (१९ मिनेट १३.२८ सेकेन्ड) दोश्रो तथा छत्र दाहाल (१९ मिनेट ३२.४८ सेकेन्ड) तेश्रो भए । खेलाडीत्रय आर्मीका हुन् ।
 
सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २२ मिनेट ३५.२४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । एपीएफकी फुलमति राना (२३ मिनेट ३०.०२ सेकेन्ड) दोश्रो तथा काठमाडौंकी सन्तोषी श्रेष्ठ (२५ मिनेट ४०.७७ सेकेन्ड) तेश्रो बने । पहिलो हुनेले १० हजार, दोश्रोले ६ हजार र तेश्रोले ४ हजार नगद पुरस्कार हात पार्ने छन् ।
 
स्कुलतर्फ ५ किलोमिटर छात्र दौडमा अजितकुमार यादवले स्वर्ण जिते । उनले २१ मिनेट १९ सेकेन्ड समय लगाए । राजेन्द्र तामाङ २१ मिनेट ४५ सेकेन्ड समयसाथ दोश्रो तथा जगत नेपाली २२ मिनेट ४० सेकेन्ड समयसाथ तेश्रो भए ।
 
त्यसै स्पर्धाको छात्रामा हुमी बुढा मगरले दूरी २४ मिनेट ५९.६ सेकेन्डमा तय गर्दै पहिलो बनिन् । संगीता खड्का (२५ मिनेट ४८.३ सेकेन्ड) दोश्रो तथा सर्मिला क्षेत्री (२७ मिनेट २९.३ सेकेन्ड) तेश्रो भए । पहिलोले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार नगद पुरस्कार जिते ।
 
कुल पुरस्कार राशी ३ लाख ८६ हजार रहेको प्रतियोगिताको म्याराथनमा ३१ पुरुष र ७ महिला तथा हाफ म्याराथनमा ६६ पुरुष र १७ महिला खेलाडी सहभागी थिए । ५ किलोमिटरको खुलामा १ हजार २ सय ८५ तथा स्कुलमा १ हजार ४ सय २८ खेलाडीले भाग लिएको आयोजकले जनाएको छ । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः रंगशालामै आएर सकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ