arrow

दलीय विवादबीच ताप्लेजुङबाट स्थानीय तहको खाका आयो , मुख्य तीन दलमै भाँडभैलो

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
news-taplejung-nana.jpeg
काठमाडौं । स्थानीय तहको खाका निर्माणमा दलीय सहमति जुटाउने प्रयास विफल भएपछि ताप्लेजुङले सीमांकन आयोगले नै तोकेको स्थानीय तहको संख्याको खाका आयोगमा पेश गरेको छ । 
 
राजनीतिक सहमति नजुटेपछि प्रविधिक सहयोग समितिले आयोगले जिल्लालाई तोकेको ८ वटा स्थानीय तहकै खाका कोरेर आयोगमा पेश गरेको समितिका संयोजक एवं स्थानीय विकास अधिकारी केशव भट्टराईले जानकारी दिए । 
 
समितिले शुक्रबारमात्र स्थानीय तहको खाका आयोगमा पेश गरेको भट्टराईले बताए । आयोगले जिल्लालाई ८ वटा स्थानीय तह गठनको लागि सिलिङ दिएको थियो । 
 
योसँगै ताप्लेजुङमा १ नगरपालिकासहित ७ वटा गाउँपालिका रहने छ । नगरपालिकामा ताप्लेजुङ नगरपालिका रहने छ, भने गाउँपालिकाहरुमा सिदिङ्वा गाउँपालिका, फावाखोला गाउँपालिका, तमोरखोला गाउँपालिका र मेवाखोला गाउँपालिका रहेको छ ।
 
यस्तै, गाउँपालिकाहरुमा मिल्केजलजले गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र आठराई गाउँपालिका रहने छ । राजनीतिक दलहरुले भने फरक–फरक स्थानीय तहको संख्या प्रस्ताव गरेका छन् । सबै राजनीतिक दलहरुले प्रस्ताव गरेको स्थानीय तहको संख्या पनि खाकामा समेटेर आयोगमा पेश गरेको भट्टराईले बताए । 
 
सबै दलहरुले आ–आफ्नै अडान राखेका थिए । कांग्रेसले ११ वटा र  नेकपा एमाले र माओवादी केन्द्रले ८ वटा स्थानीय तहको प्रस्ताव गरेको थियो । एमाले र माओवादी केन्द्रबीच संख्यामा कुरा मिलेपनि नामांकन, सीमांकन र केन्द्रमा मत बाझिँएको थियो । 
 
संयोजक भट्टराईले एउटा दलले प्रस्ताव गरेको संख्यामा अर्को दलले छलफल गर्न नचाँहेको बताए । दर्जनौं पटक छलफल गर्दा पनि सहमति जुट्न नसकेपछि समितिले बाध्य भएर आयोगले नै तोकेको संख्या कायम गरी खाका पेश गर्नुपरेको भट्टराईले बताए । 
 
भट्टराईले भने, ‘सहमति जुटाउन दर्जनौं पटक छलफल गरौं तर दलहरु आफ्नो अडानबाट हलचल गर्नु भएन । समितिलाई तीन भित्र खाका पेश गर्नु भन्ने आयोगको निर्देशन थियो । हामीले अन्तिमसम्म पनि सहमति जुटाउन प्रयास  गरेका थियौं । तर, सफल भएन।’ 
 
शुक्रबार आयोगमा खाका पेश गर्ने क्रममा आफुले दलहरुको फरक मत र प्रस्तावलाई मौखिक रुपमा पनि पेश गरेको भट्टराईले जानकारी दिए । उनले भने, ‘पछि समितिलाई अप्ठ्याँरो नपरोस भनेर सबै कुरा आयोगमा प्रष्ट राखेको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ