arrow

बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको विद्यालय भवनमा पठनपाठन थालियो

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
गोरखा । बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनःनिर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ ।  “पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो” प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भने – “भवन पुनःनिर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।”
 
ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनःनिर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ । “भवनमा रङ लगाउन बाँकी छ” – उनले भने ।  नेपालमा आफ्नो छदिने औपचारिक भ्रमण सकेपछि राजकुमार ह्यारीसहितको टोली स्कुल पुनःनिर्माणमा सघाउन भन्दै गत चैत १० गते लापुबेँसी पुगेको थियो । लापुबेँसीमा छ दिनको बसाइमा ह्यारीले डोकोमा ढुङ्गा र काठ बाकेर विद्यालय भवन पुनःनिर्माणमा सहयोग गरेका थिए  ।
 
ह्यारीसहितको १८ जनाको टोलीले विद्यालयको १२ कोठे भवन पुनःनिर्माणमा श्रमदान गरेका हुन् । स्थानीय कामदारसँग मिलेर ह्यारीले वनबाट काठ बोक्ने, ढुङ्गा बोक्ने काम गर्दै भवन पुनःनिर्माणमा सहयोग गरेपछि स्थानीयवासी खुसी भएका थिए । बेलायती परोपकारी संस्था टिम रुविकन युकेले पुनःनिर्माण सुरु गरेको विद्यालय भवन पुनःनिर्माणमा सघाउन ह्यारी सडक मार्गबाट करिब चार घन्टा पैदल हिँडेर लापुबेँसी पुगेका थिए ।
 
भूकम्पपछि छिमेकी विद्यालयका भवन पुनःनिर्माणमा दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था ओइरिएका बेला विकासको दृष्टिले पछाडि परेको उक्त विद्यालयको टहरो पनि बनाउन सकिएको थिएन । त्यसैबेला टिम रुविकन युकेमार्फत एक टोली विद्यालय पुनःनिर्माणमा सघाउने भन्दै गाउँ पुगेको थियो । पछि सोही संस्थाले राजकुमार ह्यारीलाई विद्यालय पुनःनिर्माणमा श्रमदान गराउन गाउँ पुर्‍याएको हो । १९८ विद्यार्थी पठनपाठन गर्दै आएको विद्यालयमा तीनजना शिक्षकमात्रै सरकारी दरबन्दीका छन् । अन्य आठजना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिक दिनुपर्दा विद्यालय समस्यामा छ ।
 
विद्यालयको समस्या 
 
राजकुमार ह्यारीले श्रमदान गरी पुनःनिर्माण गरिएको उक्त विद्यालयमा चर्चा भएजति भौतिक संरचना छैन । विद्यालय भवन पुनःनिर्माणको जिम्मा लिएको संस्थाले तीव्र गतिमा काम अघि बढाउन नसक्दा विद्यालयको पुनःनिर्माण सक्न अझै समय लाग्ने देखिन्छ । टिम रुविकन युकेले विद्यालयमा सौर्य बत्ती पनि जडान गरिदिएको छ ।
 
“विद्यालयमा खानेपानीको सुविधा छैन । टेबुल, कुर्सी, डेक्स, बेन्च छैन”, प्रअ गुरुङले गुनासो गरे – “भूकम्पले विद्यालय भत्कँदा फर्निचर पुरियो । काम भएका पनि नलाग्ने छन् ।” हालै युके नामक संस्थाले  दुई लाखमा पाँचकोठे शौचालय निर्माण गरेपछि विद्यार्थी तथा शिक्षकलाई सहज भएको छ । 
 
दश कक्षासम्म चलेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक कम हुँदा आन्तरिक स्रोतबाटै पारिश्रमिक दिनुपर्ने शिक्षक बढी भएकाले आफूले चिनेका राजधानीस्थित ट्रेकिङ कम्पनीबाट विद्यालय सञ्चालनमा सहयोग गरिदिन चन्दा माग्नुपरेको छ भन्दै प्रअ गुरुङले एक महिनाका लागि रु एक लाख खोज्नुपर्छ, दसैँ आइसक्यो तलब खुवाउन सकेको छैन भने । 
 
विद्यालयमा टाढाबाट पढ्न आउने विद्यार्थीका लागि छात्रावासको सुविधा थियो । भूकम्प पछि विद्यार्थी टेन्ट तथा त्रिपालले बनाइएको छात्रावासमा बसेका थिए । तर त्रिपाल टाँगिएको बारीमा खेती लगाएपछि अहिले स्थानीयवासीको घर घरमा विद्यार्थी बस्दै आएका छन् । “विद्यालयको तर्फबाट विभिन्न निकायमा विद्यार्थीलाई दाल, चामल सहयोग माग गरेको छु” – प्रअ गुरुङले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ