arrow

काँग्रेस निकट ‘भाषा–साहित्य सङ्घ नेपाल’ को गठन

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
sahitya-sang.jpeg
काठमाडौँ। नेपाली भाषा र साहित्य विकासको लागि स्रष्टाहरुले ‘भाषा–साहित्य सङ्घ नेपाल’ स्थापना गरेका छन् ।  नेपाल सांस्कृतिक सङ्घअन्तर्गत रहने गरी प्रजातन्त्र र लोकतन्त्रप्रति आस्था राख्ने साहित्यकारहरुको सहभागितामा उक्त संस्थाको स्थापना भएको हो । 
 
वरिष्ठ साहित्यकार एवं पत्रकार हरि अधिकारीको अध्यक्षतामा गठन गरिएको संघको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राजधानीमा सम्पन्न एक विशेष समारोहमा उद्घाटन गरे । कार्यक्रममा कार्कीले नेपाली भाषामा देखिएको विवादलाई सम्बोधन गर्न यो सङ्घले ठूलो भूमिका खेल्ने बताए ।  उनले  नेपाल बहुभाषी, बहुजाति, बहुसांस्कृतिक मुलुक रहेकाले यसलाई देशको सम्पत्ति ठानेर अगाडि बढ्नुपर्ने बताए  । कार्कीले नेपाली भाषा र साहित्यलाई जोगाउन नेपाली काँग्रेसले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पारेका छन् । 
 
सांस्कृतिक संघको पहलमा गठन गरिएको संघको स्थापना सभामा बोल्दै नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले नेपाली भाषा साहित्यको विकास र विस्तारमा प्रजातन्त्रको ठूलो भूमिका रहेको बताए । यस्तै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले साहित्य र पत्रकारिता एकापसका परिपूरक भएको भन्दै साहित्यको विकास भएमात्र पत्रकारिताको विकास हुने जिकिर पारे । 
 
नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापा, साहित्यकार हरि अधिकारी, सन्ध्या पहाडी, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, कलाकार प्रभाकर शर्मा, लोकगायक विमलराज क्षेत्रीलगायतले नेपाली भाषा र साहित्यको विकास र विस्तारमा लागेका व्यक्तिको संरक्षणमा यो सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे  । 
 
नव गठित संघको  अध्यक्षमा साहित्यकार एवम् पत्रकार हरि अधिकारी निर्विरोध चयन भएका छन् । सङ्घको उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा ठाकुर बेल्बासे, सचिवमा सरिता अर्याल र कोषाध्यक्षमा मोतिराम बम रहेका छन् । 
 
यस्तै सदस्यमा ध्रुव सापकोटा, वनमाली निराकर, गोकुल अधिकारी, सरु सुवेदी, श्याम रेग्मी, केशव सिग्देल, चन्द्रमान योङ्हाङ, धु्रव मधुकर्मी, मन्दिरा मरासिनी र शान्ति सापकोटा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ