arrow

नारायणकाजीको हुललाई नभेटी सुखै पाएनन् प्रचण्डले

प्रम दाहालको दिनचर्या : हमेसा भेट, हमेसा निर्देशन

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
narayen-kajiko-hul.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सपथ ग्रहरण गरेकै दिन आफ्ना लागि समय कम रहेको भन्दै एक–एक सेकेन्ड जनहितमा लगाउने प्रण गरेका थिए । यद्यपि, दाहालको अधिकांश समय भेट घाट र निर्देशनमै वित्ने गरेको छ । 
 
दाहालले दैनिक कुनै न कुनै व्यक्ति वा समूहलाई भेटेकै हुन्छन् । यस्तै, कुनै न कुनै व्यक्ति वा निकायलाई निर्देशन दिएकै हुन्छन् । भनौ यो उनको दैनिक कार्यसूची नै हो । 
 
दाहाल शैलीलाई विपक्षीले ‘सेलिब्रेटी’को संज्ञा दिएका छन् । यद्यपि, दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य दाहालको भेटघाटको समय विहान केही घण्टा र कहीले काँही साँझमात्रै हुने भन्दछन् । 
 
उनले हाम्राकुरासंग भने, ‘विहानको केही घण्टा मात्रै हो । समय खेर फाल्नु भएको छैन । त्यो पनि उपयोग नै गरिरहनु भएको छ ।’ जिल्ला र दूर दराजका गुनासा सरकारी निवास तथा प्रधानमन्त्री कार्यालयमै सुन्नु त राम्रै कुरा हो होइन र ?–उनले प्रतिप्रश्न गरे । उनले थपे, ‘प्रधानमन्त्री ज्यू स्थानीय स्तरका गुनासा सुन्न प्रत्यक्ष कुराकानी नै गर्नु पर्छ भन्नु हुन्छ । भेट्न आएका सबैले भेट् पाइरहेका छन् । उहाँले भेटसंगै काम र निर्देशन पनि दिइरहनु भएको छ ।’ यसलाई अनर्थ लगाउनु हुँदैन । 
 
भेट्नेमा बढिजसो कार्यकर्ताकै हुल 
शनिबार विहानमात्रै प्रधानमन्त्रीले तीन समूहसंग भेट गरे । जसमध्ये एउटा समूह माओवादी केन्द्रका हेडक्वार्टर सदस्य नारायणकाजी श्रेष्ठले नै बोकेर गए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार श्रेष्ठले गोरखाको आरुघाटको टोलीलाई बोकेर गए । श्रेष्ठको हुललाई  नभेटी सुखै पाएनन् दाहालले । 
 
दाहाल श्रेष्ठको कुनै निर्णय काट्न सक्दैनन् । केही दिन अघि शिक्षामन्त्री समेत कांग्रेसलाई दिन तयार भएका दाहाललाई श्रेष्ठले घेरेरै आफु नजिकका सांसदलाई मन्त्री बनाउन सफल भए । यसअघि केपी ओली नेतृत्वको सरकारमा पनि उनले दाहाललाई आफु निकट नेतालाई मन्त्री बनाउन लगाएका थिए । 
 
आरुघाटको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री भावुक भए । दाहालले २३–२४ वर्षको उमेरमा आरुघाटको बसाई र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैं उर्जाको काम गरिरहेको सुनाए । 
 
आरुघाटको प्रतिनिधि मण्डलको सामूहिक बधाई थाप्दै प्रधानमन्त्रीले आरुघाटको बसाई निकै पवित्र, आत्मीय र उर्जापूर्ण भएको समेत बताए । उनले भने, ‘२३–२४ वर्षको उमेरमा आरुघाटमा अढाई–तीन वर्ष अध्यापन गरें । त्यो बसाई मेरो राजनीतिक जीवनमा सधैं उर्जाको स्रोत बनिरह्यो । जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईहरुसँग बिताएका दिनहरु कहिल्यै बिस्मृतिमा गएनन् ।’
 
उनले आफू दोस्रोपटक जोखिमपूर्ण अवसरका रुपमा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिवद्धता गरे ।  उनले भने, ‘जोखिमपूर्ण अवसरका रुपमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको छु । यो कार्यकाललाई उपलब्धिमूलक र परिणाममूखी बनाउने संकल्प गरेको छु ।’
 
भेटमा आरुघाटका स्थानीयले प्रधानमन्त्रीलाई बधाई र सम्मान गर्नुका साथै भूकम्पको शिघ्र पुनःनिर्माण गर्न, बुढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्न, आयोजनाका कारण डुवानमा परेका र पर्नसक्ने बस्तीहरुको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री भएको साउन २० गतेबाट पार्टीका नेता कार्यकर्ताहरु निवास र कार्यालयमा भीड लाग्दै आएका छन् । 
 
यस्तै, शनिबार विहानै चितवन उद्योग संघका प्रतिनिधिहरुले समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । उनीहरुले चितवनको शक्तिखोरलाई ‘औद्योगिक नगरी’ बनाउन माग गरे । शक्तिखोर तत्कालिन माओवादी द्वन्द्वको समयमा एक लाल किल्ला थियो । 
 
भेटमा प्रधानमन्त्रीले चिवतनलाई ‘औद्योगिक नगरी’ बनाउने कुरा रणनीतिक महत्वको विषय भएको बताए । प्रधानमन्त्रीले भने, ‘चितवन औद्योगिक नगरी बनाउने प्रस्ताव धेरै रणनीतिक महत्वको कुरा हो । यसमा आवश्यक पहल गर्छु । सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ ।’
 
दाहालले यसरी दैनिक भेट्न आउनेलाई विभिन्न आश्वासन दिँदै पठाउँदै गरिरहेका छन् । यद्यपि, मन्त्रिपरिषद्ले अझै पूर्णता नपाएकाले दाहालको एक महिना काममा वित्यो वा भेटघाटमा त्यसको लेखाजोखा हुन बाँकी नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ