arrow

नेपाली जनतामा सेनाप्रतिको विश्वास बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ : मन्त्री खाँण

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
bal-krishna-khad-minister-defence.jpeg
काठमाडौँ। नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्बद्र्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
 
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उनले भने–“मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ।’’
 
अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै नवनियुक्त रक्षामन्त्री खाँणले भने–“नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भनाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ।”
 
नेपाली सेना र जनताबीच रहँदै आएको आत्मीय सम्बन्ध विस्तार गर्ने, सङ्गठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने गौरव र प्रतिष्ठा बढाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा नेपाली सेनाले गरेको कार्यमा सहयोग पुर्‍याउनु हामी सबैको दायित्व हो भने।
 
स्याङ्जाको मल्याङकोट गाविसमा २०१७ सालमा जन्मिएका नवनियुक्त मन्त्री खाँण २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
 
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पार्टीका तर्फबाट युवा पुस्ताको पटकपटक नेतृत्व गरेका खाँण नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको पूर्व अध्यक्ष हुन्।
 
नेपाली काँग्रेसका केन्द्रीय समिति सदस्यसमेत रहेका नवनियुक्त रक्षामन्त्री खाँणले यसअघि २०६६ सालमा सिँचाइ मन्त्री र २०६१ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका थिए।
 
उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
 
नेपाल सरकारका पुराना मन्त्रालयमध्ये एक रहेको रक्षा मन्त्रालयको स्थापना २००७ सालको क्रान्तिपछि भएको हो। रक्षा मन्त्रालयले मुख्यतयाः राज्यको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता सुदृढ गराउने कार्यक्रमको नीतिगत व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको छ।
 
राष्ट्रिय सुरक्षा नीति, रणनीति÷प्रतिरक्षा नीतिको तर्जुमा एवम् कार्यान्वयन गर्ने गराउने कार्य र नेपाली सेनाको व्यवस्थापनमा सहयोग एवम् सहजीकरण गर्नु मन्त्रालयको मुख्य कार्य हो।
 
उक्त मन्त्रालय मातहत चारवटा महाशाखा रहेका छन् भने कर्मचारीको दरबन्दी १०१ भए पनि हाल ६३ जना कर्मचारीबाट मन्त्रालयको कार्यसम्पादन हुँदै आएको छ।
 
यसअघि नवनियुक्त रक्षामन्त्री खाँणलाई मन्त्रालयमा सचिव महेशप्रसाद दाहाल र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्वागत गरेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ