arrow

नियमित कर नतिर्नेलाई कारबाही गर्न विभागलाई सकस, महत्वाकांक्षी लक्ष्य सधैं फ्लप !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ ९ बिहिबार
ird.jpg.jpeg
काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७०÷७१ सालमा आफ्नो कार्यालयमा भ्याटमा दर्ता भएर नियमित रूपमा कर नतिर्ने करदाताहरूको संख्या वर्षेनी घटाउँदै लैजाने लक्ष्य लियो । २०७०÷७१ सालको वार्षिक कार्ययोजना बनाउने उद्देश्य सहित जारी भएको गोदावरी घोषणापत्र २०७१मा यसरी दर्ता भएर पनि वर्षाैसम्म कर नतिर्ने करदाता (ननफाईलर)को संख्या घटाएर १५ प्रतिशतमा झार्ने लक्ष्य लियो । तर, विडम्बना नै भन्नुपर्ला ३१ प्रतिशतमा रहेको नन फाईलरको संख्या बढेर ३३ प्रतिशतमा पुग्यो । अर्थात् आधाभन्दा कम घटाउने लक्ष्य लिएको आन्तरिक राजश्व विभागमा कर नतिर्ने करदाताको संख्या सो वर्ष झनै थपियो । 
 
तरपनि विभागले आफ्नो लक्ष्य लिन कन्जुस्याईँ गरेन । भ्याटमा रहेका ननफाईलरको संख्या ३३ प्रतिशतबाट पनि १५ प्रतिशतमा झर्ने लक्ष्य पुनः दोहो¥यायो । तर, गत आर्थिक वर्ष अर्थात् २०७२÷७३ मा नन फाईलर कति पुगे भन्ने कुरा सार्वजनिक भएको छैन । तर, विभागले भने सो लक्ष्य पूरा नभएको ठहर गरेर फेरि पनि नन फाइलरको संख्या १५ प्रतिशतमा झार्ने लक्ष्य लिईसकेको छ। 
 
विभागले आर्थिक वर्ष २०७२÷७३ को वार्षिक कार्य योजना बनाउनको लागि गरेको सम्मेलनबाट अघिल्लो आर्थिक वर्षमा ललितपुर घोषणापत्र भनेर सार्वजनिक पनि ग¥यो । त्यही घोषणा पत्रको ६ नं दफामा करदाता शिक्षा एवं संचारलाई प्रभावकारी बनाई नन फाईलरको सीमा ठूला करदाता कार्यालय तथा आन्तरिक राजश्व कार्यालय १,२ र ३ मा एक प्रतिशत भन्दा कम र अन्य कार्यालयको हकमा १५ प्रतिशतमा सीमित गराईने छ भनेर लक्ष्य लियो । 
 
विभागको त्यो वर्षको लक्ष्य पूरा भएको नभएको टुङ्गो नलाग्दै फेरि अर्को लक्ष्य सार्वजनिक भयो दफा ६ मा नै १५ प्रतिशतमा ननफाईलर सीमित गर्ने भन्ने सवालमा । यसको लागि पनि कस्ता कस्ता संयन्त्र परिचालन गरेर कस्तो कामगर्ने भन्ने कार्ययोजना समेत बनिसकेको छैन । जसले गर्दा यो वर्ष पनि नन फाइलरको संख्या कम होला भन्न सकिने अवस्था रहेको छैन । 
 
के हो नन फाइलर ?
कुनैपनि करदाताले भ्याटमा आफ्नो व्यवसाय दर्ता गरेर एक आर्थिक वर्षभित्र भ्याट बापतको कर नतिर्ने करदाताहरूको संख्यालाई नन फाईलर भन्ने गरिएको छ । यस्ता ननफाईलरहरूमा कतिपयले कम्पनी दर्ता गरेर कम्पनीबाट काम गर्न छाडेको विदेश गएको र कतिपयले कारोबार गरेर पनि विवरण नबुझाउनेहरू समेटिने गरेको आन्तरिक राजश्व विभागका अधिकारीहरू बताउँछन् र अहिले कम गर्न लागिएको नन फाईलरको संख्या पनि यस्तैको संख्या रहेको विभागका अधिकारीहरू बताउने गर्दछन् । 
 
कतिछन् कर नतिर्ने करदाता ?
आन्तरिक राजश्व विभागको तथ्याङ्क अनुसार विगत ५ वर्षयतादेखि नै भ्याटमा ननफाईलरको संख्या ३० प्रतिशतको हाराहारीमा रहेको र विगत ३ आर्थिक वर्षदेखि नै १५ प्रतिशतमा झार्ने लक्ष्य लिईँदै आएको भएपनि अहिलेसम्म पनि कुनै प्रगति हाँसिल गर्न नसकिएको विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७१÷७२ मा अनुमानित ५५ अर्ब ५० करोड ४० लाख रूपैयाँ नन फाईलर रहेको विवरण विभागको २०१५÷१६–२०१७÷१८ को रणनीतिक लक्ष्य प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदनका अनुसार सन् २०१०मा ३३ प्रतिशत रहेको ननफाइलर २०११÷१२ मा आईपुग्दा ३२, २०१२÷१३ मा आईपुग्दा ३१ र २०१३÷१४मा आईपुग्दा कूल भ्याटमा दर्ता कम्पनीको ३१ प्रतिशतमा सीमित भएको जनाईएको छ । यसरी वर्षेनी १५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिईएको भएपनि लक्ष्य केवल लक्ष्यमै सीमित हुने गरेको छ । 
 
किन सकिएन घटाउन ?  
विभागका उपमहानिर्देशक एवं प्रवक्ता राममणि दुवाडी ननफाईलर एकैपटक कटाउन पनि समस्या रहेको बताउँछन् । अहिले विभागले प्रचारप्रसार र सूचनाको माध्यमबाट मात्रै करदातालाई सतर्क गराउने गरिरहेको छ । यतिले नै करदातामा जागरण नछाएको खण्डमा एउटा विकल्प हुन्छ कम्पनी खारेज गर्ने । 
 
कम्पनी खारेज गर्ने सवालमा पनि कम्पनी बन्द गरेर बसेकाहरूको र विभागलाई तिरने तिर्न बाँकी नरहेकोहरूको कम्पनी खारेज गर्न कठिन नरहेको भएपनि कारोबार गरेर पनि कर नतिर्नेलाई एक्कासी कारबाही गर्ने हो भने उनीहरूबाट उठ्ने पैसा उठाउन नै समस्या पर्ने भन्दै यसमा नयाँ रणनीतिक योजना बोकेर अघि बढ्ने तयारीमा विभाग रहेको पनि उनले जानकारी दिए । उनले यो वर्षमा भने ननफाईलरको संख्या कम हुने सम्भावना रहेको पनि स्पष्ट पारे । 
 
यसरी वर्षेनी महत्वाकांक्षी लक्ष्य लिँदा पनि सधैंभरी आफ्नो लक्ष्यमा भने विभाग चुकिरहेको छ । वर्षेनी १५ प्रतिशतको ननफाइलर कमगर्ने लक्ष्य लिँदा पनि प्रगति हुनुको सट्टा उल्टै अधोगति गईरहेको बेलामा १५ प्रतिशत कमगर्ने लक्ष्य लिनु महत्वाकांक्षी रहेको विश्लेषण गर्न सकिन्छ । 
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ