arrow

इन्जिनियरिङ पढ्न प्रमाणपत्र पनि धितो राख्न सकिने

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
nmb-education-loan.jpg.jpeg
काठमाडौं। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ, च्यासल, ललितपुर र एनएमबी बैंक लिमिटेड, काठमाडौँका बीचमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने छात्रछात्रालाई लक्षित गरी शैक्षिक प्रमाणपत्र पनि धितो राखेर पढ्न सकिने शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
 
हस्ताक्षर पत्रमा कलेजका तर्फबाट अध्यक्ष विष्णुप्रसाद शर्मा र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलले एक समारोहका बीच हस्ताक्षर गरे। आर्थिक अभावले इन्जिनियरिङ पढ्न समस्या परेका जेहेन्दार विद्यार्थीहरुले यो सुविधा लिन सक्नेछन्। यो योजनामा ग्रामीण, पिछडिएको क्षेत्र र महिलालाई प्राथमिकता राखिनेछ। सीमित विद्यार्थीलाई मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउन सकिनेछ। साथै, अचल सम्पत्ति धितो राखेर सहुलियत दरमा ऋण लिएर पढ्न चाहने विद्यार्थीका लागि पनि सहज शैक्षिक कर्जाको व्यवस्था हुनेछ।
 
सम्झौताअनुसार, शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशतसम्म यो योजनाअनुरुप सहुलियत ऋण लिन सकिनेछ। सामान्यतः ऋणको अवधि ४ वर्षको हुनेछ। अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को ४ वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्नेछ। ४ वर्षपछिको किस्ताबन्दी सम्बन्धी सुविधा लिनका लागि बैंक र विद्यार्थीबीच अलग्गै सम्झौता गर्नुपर्ने बैङकले जनाएको छ। ब्याजदर विद्यार्थीको अवस्था हेरी ५ देखि ८ प्रतिशत हुनेछ। 
 
मुलुकको आर्थिक समृद्धि एवम् भौतिक पूर्वाधार क्षेत्रका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्ति गर्ने र समाजको पिछडिएको समुदायलाई उच्च प्राविधिक शिक्षाको पुहँचमा पुर्‍याउने उद्देश्यले यो योजना अघि सारिएको हो । 
 
“यस योजनाले दक्ष जनशक्ति उत्पादन गर्ने काममा सघाउ पुग्नेछ । आगामी वर्षहरुमा यसमा मात्र सीमित नरही अन्य शैक्षिक कार्यक्रमहरुमा पनि लागू गर्नेछौँ,” कलेजका निर्देशक रामेश्वर अर्यालले भने, “यस योजनाले विद्यार्थीलाई पढाइ र आफ्नो भविष्यप्रति पनि थप जिम्मेवार बन्ने विश्वास लिएका छौँ । हाम्रो मूल उद्देश्यचाहिँ जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावले उच्च प्राविधिक शिक्षा आर्जनको आकांक्षालाई बाधा पुर्‍याउँदैन भन्ने सन्देश ग्रामीण र विपन्न वर्गसम्म पुर्‍याउनु हो।”
 
सांसद एवम् संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति सदस्य उमेश श्रेष्ठले हस्ताक्षर कार्यक्रममा भने, “हिमालय कलेज अफ इन्जिनियरिङले सुरु गरेको प्रयास सराहनीय रहेको तर एउटा संस्थाको प्रयास मात्र पर्याप्त नहुने भएकाले अन्य शैक्षिक संस्थाहरूले पनि सिक्दै अझ धेरै विद्यार्थीलाई लाभान्वित गर्न सक्नुपर्छ। साथै राज्यले पनि यसमा सहयोग र सहजीकरण गर्नुपर्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ