arrow

‘अबिरल यात्रा–२०७२ यादव खरेल’

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
Yadav-Kharel.jpg.jpeg
काठमाडौँ । गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले रचना गरेका गीतहरुको एकल साङ्गीतिक कार्यक्रम ‘अबिरल यात्रा–२०७२ यादव खरेल’ यही साउन ३१ र ३२ गते गरिने भएको छ । 
 
सर्वनाम थियटरमा आज आयोजित ‘नेपाली सुगम सङ्गीत विगत र वर्तमान’ अन्तक्र्रिया कार्यक्रममा हिडन ट्रेजरले आर्मी अफिसर्स क्लबमा उक्त कार्यक्रम गर्ने जानकारी दिइयो । उक्त कार्यक्रममा गीतकार खरेलले रचना गरेका ५४-५५ वर्षअघिका पुराना गीत प्रस्तुत हुनेछन् । 
 
ती गीतलाई नयाँ सङ्गीतकारको सङ्गीत र गायक गायिकाले गाउनेछन् । जसमा सङ्गीतकारमा राजु सिंह र गायक गायिकामा लोचन भट्टराई, सत्यराज आचार्यलगायत रहेका छन् । 
 
गीतकार खरेलले २०१६ सालदेखि आफूले गीत लेखन सुरु गरेको बताउँदै त्यतिबेलादेखि अहिलेसम्म पनि गीतका गायक-गायिकालाई सबैले याद गर्ने भए पनि गीतकारलाई भने ध्यान नदिने प्रवृत्ति नहटेको बताए । 
 
उनले एउटा गीत रेकर्डिङ गर्न भारतको कोलकता पुग्नुपर्ने र वर्षौपछि गीत गाउने पालो आयो भने गायक-गायिका खुसी हुनुपर्ने, कोही एक जनाले केही बिगारे पुरै गीत दोहोर्‍याएर गाउनुपर्ने अवस्था रहेको विगत स्मरण गरे । त्यो अवस्था अहिले नरहेको बताउँदै उनले भने , “अहिले त्यसको स्वरुप, संरचनामा आमूल परिवर्तन आइसकेको छ । प्रविधिले अहिले त्यस्तो झन्झटिलो अवस्थाबाट पार लगाइसकेको छ ।” 
 
सङ्गीतकार राजु सिंहले साहित्य र सङ्गीत एक अर्काबिना बाँच्न नसक्ने र यी दुई एकअर्काको परिपुरक रहेको बताउँदै सिर्जना गर्दा जहिले पनि सकारात्मक सोच राख्नुपर्नेमा जोड दिए  । 
 
गायिका लोचन भट्टराईले पुराना स्रष्टाले सिर्जना गरेका साधना कुनै निश्चित कालखण्डका लागि मात्र हुने जस्तो अहिले देखिएकाले तिनको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै गायनका क्रममा शब्द उच्चारणमा विशेष ध्यान दिन गायक-गायिकालाई आग्रह गरे । 
 
गायक सत्यराज आचार्यले सो कार्यक्रममा उदितनारायण झाका पुराना गीत गाउने तय भएकाले कतै उदित नारायणको गीत ‘कपी’ पो हुने हो की भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने , “आफ्ना पिता भक्तराजको आवाज त मेरो आवाजमा नमिलोस् भन्ने चाहन्छु भने उदित नारायणको आवाज किन मिलाउँ ?” 
 
हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले करिब छ वर्षअघि नै सो कार्यक्रम गर्ने योजना रहेपनि यसैवर्ष मात्र उक्त कार्यक्रम गर्न लागिएको र कार्यक्रममा भिडियोग्राफी गरी सङ्ग्रह गरिनुका साथै गीतकार खरेलको बायोग्राफीसमेत निकाल्ने जानकारी दिए । रासस 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ