arrow

युनिलिभर किन गर्दैछ उपभोक्तालाई वेवास्ता ?

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
unilever.jpg.jpeg
काठमाडौं।अघिल्लो बिहीबार युनिलिभरको लोगो लागेको नक्कली सामान उद्योग विभाग र प्रहरीको टोलीले काठमाडौंको न्यूरोडबाट पक्राउ गर्‍यो। थप अनुसन्धानको लागि भनेर विभागको कार्यालयमा अहिले झण्डै १० बोरा कस्मेटिक सामान राखिएको छ। बजारमा गएको सामान प्रहरीले पक्राउ गर्नु अघि आफ्नो नामको ट्रेडमार्कमा अर्कै कम्पनीले नक्कली सामान बनाएको आरोप लगाउँदै युनिलिभर नेपालले नै उद्योग विभागमा उजुरी पनि दर्ता गरेको थियो। यो युनिलिभरकै उत्पादनमा नक्कली सामान भेटिएको हो या त अर्कै कम्पनीले यस्तो सामान उत्पादन गरेर बेचेको हो भन्ने विषयमा विभागले छानविन पनि सुरू गरेको जनाएको छ। 
 
यसरी नक्कली सामान भेटिएको एक हप्ता नाघिसक्दा पनि न त कम्पनीले यस्ता नक्कली सामानप्रति सचेत हुन उपभोक्ताहरूलाई नै भनेको छ न त यस्तो सामान आफ्नो कम्पनी होइन भनेर नै भनेको छ। बरू उल्टै यस्तो विषयमा उपभोक्तालाई जानकारी गराउने फुर्सद् नरहेको भन्दै यस विषयमा युनिलिभर उम्किने प्रयास गरिरहेको छ।  
 
यसरी नक्कली सामान भेटिँदा पनि कम्पनी चुपचाप रहनु उपभोक्ता माथिको घात रहेको भन्दै उपभोक्ता अधिकारबादीहरू भने यस विषयमा युनिलिभरसँगै सरकारको समेत कमजोरी र बेइमानी रहेको कुरा बताउँछन्। उनीहरू उपभोक्ता माथि न्याय गर्ने हो भने आफ्नो उत्पादनमा कुनै समस्या नरहेको भनेर प्रमाणित गर्नुको साँटो गुपचुप गरेर बस्नु गैरजिम्मेवारीको पराकाष्ठा रहेको बताउँछन्। 
 
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले यसरी सामान बरामद गर्दा सरकार र कम्पनी दुबैले यस विषयमा उपभोक्तालाई जानकारी दिनुपर्नेमा यसरी गुपचुप बस्नुले उपभोक्ताप्रति दुबैको बेवास्ता रहेको स्पष्ट देखिएको बताए। यस्तै प्रवृत्ति मौलाउँदै जाँदा जस्तो सुकै कम्पनीले पनि उपभोक्ता ठग्ने काम भइरहेको र पछि पनि हुनसक्ने उनले बताए। 
 
कसरी झुक्याइन्छन् त उपभोक्ता ?  
नेपालमा आफ्ना उत्पादनहरूको विक्री गर्ने बहुराष्ट्रिय कम्पनीले उपभोक्ताबादीलाई कसरी झुक्याउछ त  भन्ने विषयमा काठमाडौंको घट्टेकुलोका व्यापारी सविन भट्टराईले आफ्नो अनुभव सुनाएका छन्। ‘झण्डै ६ महिना अगाडि युनिलिभरले नै मार्केटिङ गर्न आउने बेलामा आफ्नो सामानको म्याद सकिएपछि फिर्ता गर्न आग्रह गरेको थियो। युनिलिभरकै १३ बट्टा सनस्लिक स्याम्पु मिति सकिएको भन्दै फिर्ता गरेँ र त्यसको सट्टामा नयाँ म्याद लेखिएको स्याम्पू राखेँ। ’तर उनले पाएको नयाँ सामानमा टाँसिएको नयाँ म्यादको लोगो भित्र पनि पुरानै म्यादको स्टिकर पनि थियो।  उनी भन्छन्  ‘भित्रका सामानलाई कत्तिको परिवर्तन गरे त्यो त थाहा छैन। तर यसरी पुरानै मितिमाथि नयाँ मिति थपेर पठाएको बट्टामा भित्री सामान कस्तो होला त्यो भन्ने हाम्रो वशको कुरा हैन्।’ 
 
यस्ता नक्कली काम मल्टीनेशनल कम्पनीहरुकै धेरै देखिन थालेका छन्। यस विषयमा गुणस्तर नापजाँच गर्ने सवल निकायको अभाव हुँदा युनिलिभर लगायतका धेरै मल्टिनेशनल कम्पनीले उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर पार्ने आफ्ना उत्पादनहरू बजारमा पठाउने गरेको भेटिन्छ। युनिलिभरको लोगो लागेको सामान उद्योग विभागले जफत गरेपछि त झनै यो विषय सत्य सावित हुन पुगेको छ।
 
यस्ता मल्टीनेशनल कम्पनीहरूले भित्री सामानको गुणस्तरीयतामा ध्यान नदिई बाहिरी आवरणलाई मात्रै झकिझकाउ गर्ने र भित्री सामानमा भने म्याद सकिएको समेत वास्ता नगर्ने प्रवृत्ति देखिएको छ। पछिल्लो समय नेपाली बजारमा आफ्नो सामान विक्री गर्ने कम्पनीहरूमा मौलाउँदै गएको यो प्रवृतीले उपभोक्ताहरु भने थाहै नपाइकन ठगिने गरेका छन्। त्यसैले पनि युनिलिभर लगायतका मल्टीनेशनहरुलाई लुटेराको संज्ञा दिएर योगगुरु रामदेवले भारतमा अभियान नै चलाएको वानेश्वरका एक उपभोक्ता रामकृष्ण यादव बताउँछन्। 
 
युनिलिभरले नेपाल र अन्य देशमा सामान पठाउँदा प्रयोग गर्ने म्यादमा पनि फरक राख्ने गरेको पाइएको छ। एउटै सामान अन्य अन्तराष्ट्रिय बजारमा १२ महिनाको म्याद राखेर पठाउने गरेको भएपनि त्यही सामानलाई नेपाली बजारमा पठाउँदा २४ महिनाको म्याद राखेर पठाउने गरिएको छ। 
 
जति बढी म्याद भएको सामान हुन्छ त्यो स्वास्थ्यका लागि त्यति नै फाइदाकारी हुन्न। युनिलिभरका सामानमा पनि त्यस्तै हितकारी नहुने केमिकलहरु बढी प्रयोग भएको खाद्य प्रविधी क्षेत्रमा कार्यरतहरु बताउँछन्। त्यो म्याद सकिएपछि पनि नयाँ स्टिकर टाँसेर पठाउने प्रबृत्ति मौलाउँदै जाँदा मारमा परेका उपभोक्ताहरुले आफूहरुसँग गुनासो गर्ने गरेको व्यवसायीहरुले बताउने गरेका छन्। अहिले पछिल्ला दिनमा यस्ता कम्पनीको सामान प्रयोग गर्दा कपाल झर्ने अनुहारमा चाँया देखिने लगायतका खरावी देखिने गुनासो यसैको उपज भएको व्यवसायीहरुको भनाई छ। 
 
व्यापारीहरू भने उपभोक्ता अधिकारको लागि छुट्टै अदालतको व्यवस्था नहुँदा यस्ता मल्टी नेशनल कम्पनीले गरेका कर्तुतहरूको विरूद्धमा मुद्दा दर्ता गर्न समेत समस्या हुने गरेको बताउँछन्। यस्ता मल्टीनेशनल कम्पनीहरू झनै नक्कली सामान बेच्ने काममा बढी संलग्न हुने गरेको व्यवसायी भट्टराईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ