arrow

गणतन्त्रको पक्षमा वकालत गर्दा नेबिसंघको केन्द्रीय समितिबाट हटाइयो : क्षितिज भण्डारी

'महाधिवेशनमा म अध्यक्षमा उठ्छु'

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
chitthi-bhandari.JPG.jpeg
वि सं २०५९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका  जागरूक विद्यार्थी नेताका रूपमा आफ्नो छवि बनाएका विद्यार्थी नेता हुन् क्षितिज भण्डारी। केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै तात्कालीन अध्यक्ष गुरूराज घिमिरे लगायतका नेताहरुसग मेची महाकाली अभियान यात्रामा समेत निस्किएका भण्डारी तत्कालीन शाही शासनको विरूद्धमा लड्दा धेरै पटक जेल र नेलको सजाय भोगिसकेको सुनाउँछन् उनी। आफ्नै ढङ्गबाट प्रचारप्रसार गरेर अघि बढेका भण्डारी यो महाधिवेशनमा अध्यक्षका आकांक्षी बताउछन् । आफूलाई रामचन्द्र पौडेल तथा शशांक कोइराला पक्षको आधिकारिक उम्मेदवार रहेको दाबी गर्ने भण्डारी नेविसंघमा सुधारका धेरै पक्ष आवश्यक रहेको भन्दै यसको सुधारको लागि पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको दाबी गर्छन् । तिनै अध्यक्षका आकांक्षी भण्डारीसँग महाधिवेशनको माहोल उनको उम्मेदवारीको विषयमा हाम्रा कुरा डटकमका सुदर्शन अयालदले गरेको कुराकानीको सम्पादित अंश :
 
तोकिएको मितिमा निर्वाचन तथा महाधिवेशन सम्पन्न हुनेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?
पछिल्लो विकासका चरणहरू हेर्दा त मैले तोकिएकै मितिमा महाधिवेशन हुन्छ भन्नेमा आफू विश्वस्त छु । महाधिवेशनको लागि पार्टीले पनि निर्देशन समिति गठन गर्ने तथा निर्देशन समितिले पनि गम्भीर तरिकाले  काम अगाडि बढाएको हुनाले पनि म यो महाधिवेशन यस पटक चाँहि तोकिएकै मितिमा हुन्छ भन्नेमा विश्वस्त छु । अब अन्तिम समयमा आएर महाधिवेशन हुन नदिने पक्षले यसमा केही बाधा व्यवधान सिर्जना गरेर यसलाई रोक्ने काम गर्छ भने यो दुखद् हो यसले नेपाल विद्यार्थी संघ र समग्र पार्टीलाई नै समस्यामा पार्दछ। 
 
यो महाधिवेशनमा टीके प्रथा दोहोर्याउने हो कि भन्ने शंका गर्नेहरु पनि छन् नि त यसको सम्भावना कतिको देख्नुहुन्छ ? 
यो अवश्य पनि हुनु हुँदैन । हामी विद्यार्थीका नेताहरू चयन गर्ने काम पनि विद्यार्थीमाझबाट नै हुनुपर्छ । कुनै पनि यो वा त्यो बाहानामा अब हामीले नेविसंघलाई आफ्नाहरूको संगठन बनाउनु हुँदैन । हामी सबै मिलेर पनि नेविसंघ महाधिवेशनमा निर्वाचनबाट नै नेतृत्व चयन गर्ने व्यवस्था मिलाउनु पर्छ । चुनाव हुने बाटोमा पनि अघि बढेको छ । २३ गते पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २४ गते हाम्रो बन्द शत्र हुन्छ र हामी २५ गते मतदानमा जाँदैछौ । हाम्रो यो महाधिवेनमा तपाईँले भने जस्तो टीकेप्रथाको सम्भावना छैन । 
 
अबको १० दिनमा सम्भव छ सबै प्रक्रिया पूरा गरेर महाधिवेशन सम्पन्न गर्न ?  
महाधिवेशन भनेको मतदाताहरूले आफ्नो प्रतिनिधि छनोट गर्न पाउने अधिकारको कुरा हो । अहिले पनि ६४ जिल्लाका मतदाताहरूको टुङ्गो लागि सकेको छ । बाँकी जिल्लामा पनि कसरी निर्विवादित रूपमा प्रतिनिधिको कुरा टुङ्गाउने भन्ने विषयमा पनि संघका केन्द्रीय अध्यक्ष एवं निर्देशन समितिले पनि छलफल चलाईरहेको छ । यसैबाट समाधानको कुरा टुङ्गिन्छ भन्ने मलाई लागेको छ । अब अर्को कुरा आउने प्रतिनिधिहरूलाई खान र बस्नको ब्यबस्था पार्टीले गरेको छ । यसलाई कुनै ठूलो कुराको रूपमा लिनुपर्ने अवस्था छैन । अब अरू कुरा भनेको विधानको कुरा, शिक्षा नीतिको कुरा लगायतको विषयमा पार्टीले पाँचै विकास क्षेत्र र अबको ७ वटै प्रदेशमा समेत प्रशिक्षण कार्यक्रम चलाएकोले पनि यसमा धेरै मान्छे अब्बल भईसकेका छन् भन्ने मलाई लागेको छ । अबको कुरा भनेको महाधिवेशन स्थलमा गएर भोटिङ गर्नुको विकल्प छैन । 
 
तपाईको अबको यो महाधिवेशनमा उम्मेदवारी कुन पदको लागि हो ? 
अबको महाधिवेशनमा मैले स्वभाविक रूपमा पनि यसभन्दा अगाडि मैले दिएको उम्मेदवारी र विशेष कारणले फिर्ता लिनु परेको उम्मेदवारीका कारणले पनि र आफूले जेलनेल भोगेको तथा यो समयसम्म संघलाई दिनको समय र अनुभवको आधारमा पनि मैले अध्यक्ष बाहेकको विकल्पमा अरू पदमा उम्मेदवारी दिन सक्ने अवस्था छैन । त्यसैले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु । 
 
यसरी अध्यक्षको पदमा उम्मेदवारी दिईरहँदा तपाईँको आफ्नो भिन्न एजेण्डाहरू के–के छन् ?
मेरो सबैभन्दा बढी कुरा त के हो भने समानतामा आधारित शिक्षाको सवालमा यावत सुधारका पक्षहरू खोतल्ने प्रयास गरिरहेको छु । मैले गाउँमा रहेको एउटा गरिब छोराको शिक्षाको कुरा र काठमाडौंमा धनीको छोराले पाउने शिक्षामा फरक हुनु भएन भन्ने मेरो पहिलो एजेण्डा हुनेछ । मैले अध्यक्षमा जीत हाँसिल गरेँ भने यसलाई सबैभन्दा पहिले कार्यान्वयन तहमा लैजाने काममा लाग्नेछु । त्यस्तैगरी, निशुल्क शिक्षाको कुरा, राज्यले गरिबीको पहिचान गरोस् । गरिब भनेर राज्यले पहिचान गरेकाहरूले पैसा तिर्न सक्दैनन् भने उनीहरूलाई विश्वविद्यालयतहसम्म पनि निशुल्क शिक्षाको व्यवस्था गर्नु पर्छ । चाहे त्यो मेडिकल होस् चाहे त्यो इन्जिनियरिङ क्षेत्र नै किन नहोस् । शैक्षिक मुद्दाबाट भागेर कोही पनि विद्यार्थी राजनीतिमा खेल्न सक्दैन भन्ने मेरो बुझाई हो । त्यसैले मेरो सबैभन्दा पहिलो एजेण्डा पनि यही नै हुनेछ । त्यस्तैगरी, १२ बुँदे समझदारीदेखि अहिलेसम्म विकास भएका राजनीतिक घटनाक्रमहरूलाई कार्यान्वयन तहमा लैजाने सबैभन्दा मूलभूत दायित्व नेपाली काँग्रस र त्यसको भातृसंगठन भएको नाताले नेविसंघमा रहेको कुरा सबैलाई ज्ञात नै छ । तर यसलाई सफल कार्यान्वयनको लागि मेरो नेतृत्व नेविसंघमा आवश्यक पनि छ र मैले पनि यसलाई मूलभूत एजेण्डका रूपमा अगाडि बढाउनेछु । अब कसैले यो मुलुकमा फेरि हतियार नउठाउने गरी समस्याको समाधान गर्ने लगायतका कुरासँगै विद्यार्थीले अहिले त गाडीमा यात्रा गर्दा विद्यार्थी परिचयपत्रको सहुलियत समेत नपाएको पर्याप्त घटनाहरू देखिने गरेको छन । यि कुरामा म लाग्नेछु । ग्यासमा कालोबजारी मासुको विशुद्धता, विद्यालयमा यही पव्लिकेशनको किताब किन्नुपर्छ भनेर सिण्डिकेट लाद्ने लगायतका कुरासँगै अन्य जनजीविकाका सवालमा पनि मैले सक्रियाताका साथ कार्यान्वयन तहमा पु¥याउने छु । हामीले धेरैसँग सहमति गरेका छौं । तर कार्यान्वयन भईरहेका छैनन् । तर म अब कार्यान्वयन तहलाई महत्वका साथ अगाडि बढाउने तयारीमा लाग्नेछु । 
 
अब अन्त्यमा तपाईले सुक्ष्म र शान्त पाराले प्रचारप्रसार गरिरहनुभएको छ । तपाईँले आफ्नो जीतको आधार के लाई देख्नु भएको छ ?
मेरो नेविसंघ प्रतिको सक्रिय सहभागिता नै मेरो जीतको सबैभन्दा महत्वपूर्ण आधार हो भन्ने मैले सोचेको छु  । तत्कालिन समयमा हातखुट्टा भाँचिएर उपचारको लागि जाँदा यहाँको केन्द्रीय समितिले गणतन्त्रको पक्षमा वकालत गरेको आरोपमा केन्द्रीय समितिबाट निस्कासित गरेको कुरा मैले नेपाल १ टेलिभिजनबाट थाहा पाएँ , पछि मैले किन मलाई यस्तो गरियो भन्दा तँ गणतन्त्रको पक्षमा लागिस् त्यो हाम्रो एजेण्डा होइन भन्ने कुरा पनि गरे । यसरी मैले तत्कालिन समयमा गणतन्त्रको पक्षमा लाग्दा आफ्नै पार्टीबाट समेत अवहेलनाको शिकार बन्नुपरेको यथार्थ सबैले बुझेका नै छन् । त्यसैले मेरो दूरदर्शिताको कारणलाई पनि मैले आफ्नो विजयको आधार मानेको छु। धेरै साथिहरूले मेरो पक्षमा हुनुहुन्छ । यसलाई पनि मैले आफ्नो जीतको आधार मानेको छु । मैले अन्तिम समयमा गिरिजा बाबुले तिमी उम्मेदवारी फिर्ता लेउ भनेर आग्रह गरेपछि मैले फिर्ता लिएँ । यससँगै मेरो इमान्दारिता संगठन गर्नसक्ने क्षमता र मेरो दूरदर्शिताको कारणले पनि मैले जित्छु भन्ने अपेक्षा राखेको छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ