arrow

सिन्धुलीमा पशु बिमाले ब्यवसायीक पशुपालनमा वृद्धी

logo
राजन परियार,
प्रकाशित २०७३ साउन १४ शुक्रबार
Boergoat.JPG.jpeg
सिन्धुली। पशु बिमाले जिल्लामा व्यवसायीक पशु पालन गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको पाइएको छ। आर्थिक वर्ष २०७२/७३ सम्ममा पशु सेवा कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार १ सय १९ गाई फार्म, २ सय ८२ बाख्रा पालन फार्म, १ सय ५३ बंगुर पालन फार्म र १६५ व्यवसायीक कुखुरा पालन फार्म दर्ता भई सञ्चालनमा रहेका छन्। कार्यालयले गत आर्थिक वर्षमा पशु पालन व्यवसायलाई प्रबद्र्धन गर्न गाई, वंगुर तथा बाख्रा पाल्ने जिल्लाका ४९ जना कृषकहरुलाई ५१ लाख अनुदान रकम वितरण गरेको थियो।
 
पशुपालन व्यवसायमा सरकारले दिएको अनुदानका कारण ग्रामीण क्षेत्रका कृषकहरु पशुपालनमा आर्कषित बन्दै गएका छन्। जिल्लामा बढी मात्रामा कृषकहरुले बाख्रा पालेका छन भने गाई र वंगुर पाल्ने कृषकहरुको संख्या पनि पछिल्लो समयमा बृद्धि हुँदै गएको कार्यालयले जनाएको छ। 
 
गाउँ–गाउँमा कृषकहरुले फार्म दर्ता गरी व्यवसायीक रुपमा पशुपालन सुरु गरेसँगै पशु विमा समेत बढ्दै गएको छ। गत वर्ष भन्दा यस आर्थिक वर्षमा पशु बिमा ४३ प्रतिशतले बृद्धि भएको कार्यालय प्रमुख डा.हरिकुमार रघु श्रेष्ठले जानकारी दिए। कार्यालयले गत वर्ष कृषकहरुको ६ सय ४८ पशुको बिमा गरेको थियो भने यस वर्ष त्यो संख्यामा बृद्धि भएर ११ सय ३८ पुगेको छ। 
 
आर्थिक वर्ष २०७२/०७३ मा १ सय ७६ गाई, १ सय २५ भैसी, ४ सय बंगुर र ४ सय ८२ बाख्राको बिमा गरिएको र रु १० लाख ३४ हजार ९३ रुपैयाँ प्रिमीयम रकम जम्मा भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। 
 
सरकारले पशुपालक किसानलाई हौसला प्रदान गर्दै व्यवसायीक पशु पालनमा बृद्धि गर्न अगाडि सारेको पशु विमा कार्यक्रम प्रभावकारी बन्दै गएको जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ। पशुपालन व्यवसायमा हुन सक्ने विभिन्न जोखिमबाट ढुक्क बन्न आफुले पालेका पशुको बिमा गराउन किसानलाई कार्यालयले आग्रह समेत गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ