arrow

अहोरात्र खटेर बस्ती बनाउँदै धुर्मुस–सुन्तली

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
dhurmus.jpg.jpeg
मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोेकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । 
 
देश विकासको मूल प्रक्रिया भनेको एकीकृत नमुना बस्ती विस्तार भएकाले ‘क्लिन सिटी’ र ‘ग्रिनसिटी’ को अवधारणाअनुरुप भूकम्पपीडितका साथसाथै अपाङ्गमैत्री तथा बालमैत्री र वातावरण मैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माणकार्य भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । 
 
गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरी नमुना बस्ती निर्माण कार्य थालनी गरिएको हो । 
 
मेलम्ची नगरपालिका–८ स्थित विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्नेगरी ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ वटा भवन, पाँचवटा चिल्डे«न पार्क र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण कार्यमा कलाकार धुर्मुस र सुन्तली लागिपरेका छन् । 
 
निर्माणको लागि जम्मा रु पाँच करोडको बजेट निर्धारण गरेको भए पनि सुरुमा आफ्नो धुर्मुस सुन्तली फाउन्डेसनको अक्षयकोषमा रु एक लाख ७४ हजार हुँदै गर्दा निर्माण कार्य थालेको कट्टेलले बताए । 
 
देश विदेशमा रहनुभएका नेपाली, विदेशी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा अहिलेसम्म रु पाँच करोड सङ्कलन भइसकेको छ । 
 
असार महिनासम्ममा निर्माण कार्यका लागि चाहिने सिमेन्ट, रड, बालुवा, गिट्टीलगायतका अन्य सामग्री गरी रु ५९ लाख खर्च भइसकेको र साउन महिनाको खर्चको विवरण यसै महिनाको अन्तिममा आउने फाउन्डेसनले जानकारी दिएको छ । 
 
नमुना बस्ती निर्माणका लगि २०७३ वैशाख १२ गते शिलान्यास गरिएको भएपनि सम्पूर्ण तयारीका साथ बस्ती निर्माण कार्य जेठ ९ गते सुरु भएको र दसैंको घटस्थापनाको दिन हस्तान्तरण हुने गरी निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ । 
 
निर्माण कार्यका लागि प्रत्येक ६५ घरधुरीका एक जना तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवकका रुपमा रहेका गरी जम्मा १०० जनाले दैनिक श्रम गर्ने गरेका छन् भने शनिबारको दिन २०० सम्म पुग्ने गरेका छन् । 
 
असार साउनको समयमा निकै वर्षा हुने हुँदा ढुवानी गरेर ल्याउने कच्चा पदार्थ सिमेन्टलगायतका वस्तु भिजेर डल्लो पर्ने हुँदा प्रयोग बिनै नष्ट हुने गरेको छ । हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब पाँच किलोमिटरमा माथि रहेको उक्त बस्तीमा पुग्नको लागि सडकको अतिनै दयनिय अवस्था रहेको छ जसका कारण कच्चा पदार्थ लैजान प्रयोग हुने सवारीसाधन जानको लागि निकै कठिनाइ पर्ने गरेको छ । 
 
उक्त क्षेत्रमा खानेपानीकोे लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब ८०० मिटर गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउनको लागि पाइप बिछ्याउने कार्य भइरहेको छ । 
 
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले धुर्मुस एकीकृत नमुनाबस्ती निर्माण कार्य सरकारलाई सघाउने अभियान भएको र राम्रो इच्छाशक्ति भएकाले पनि यस निर्माण कार्यमा दरिलो भएर लाग्नुपर्ने बताए ।
 
उनले डाँडाकाँडा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माण कार्यमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने र भुइँचालोले यो ठूलो अवसर दिएको कुरा बताए । 
 
समाजका र देश निर्माणका लागि केही गरौँ भन्ने हेतुका साथ कलाकार जोडी धुर्मुस–सुन्तली अहोरात्र खटेर बस्ती निर्माणमा जुटेको र यो देशको लागि धेरै ठूलो उदाहरणीय कार्य बनेको मेलम्ची नगरपालिकाका युवा धीरेन गुरुङले बताए । 
कलाकारिता क्षेत्रको विषयमा कुरा गर्दै सीताराम कट्टेलले आफ्नो कलाकारिता क्षेत्रलाई केही समयको लागि विश्राम गरेको र एकीकृत बस्ती निर्माणपछि पहिलेजस्तैे आफ्नो कलाकारिता क्षेत्रमा फर्कने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ