arrow

सँधै ठट्टा चल्ने साथीहरुले नै पेट्रोल छर्केर आगो लगाए, बब्लु जले–अपराधी फरार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
335655076.jpeg
विराटनगर । धेसी मोर्चाका कार्यकर्ताले मोरङमा एकजना युवालाई पेट्रोल छर्केर जिउँदै जलाएका छन् । सीमावर्ती भारतीय बजारबाट जर्किनमा पेट्रोल लिएर आउँदै गरेका मोरङ भातिगन्ज–७ का बब्लु राजवंशीलाई चिनेजानेकै साथीहरुले पेट्रोल छर्केर आगो लगाएका हुन् । 
 
आफ्नै दाजुको मोटरसाइकल ग्यारेजका लागि जर्किनमा ३० लिटर पेट्रोल ल्याइर फर्किदै गरेका थिए । राजवंशीलाई मोर्चाको आन्दोलनमा लागेका चिनेकै साथीभाईले मोरङ, भातिगन्ज–२ रामजानकी चोकमा रोकेर उनैले बोकेका पेट्रोल छर्केर आगो लगाएका हुन् ।
 
उनीहरु आगो लगाएर भागेलगत्तै स्थानीयहरुले राजवंशीको शरीरमा लागेको आगो निभाएका थिए । उनले होस भए सम्म हतार हतारमा लगाएको ज्याकेट र पेन्ट फुकाल्न भ्याए ।
आधा शरीर डढेका राजवंशीलाई तत्काल कोशी अञ्चल अस्पताल लगिएकामा उक्त अस्पतालले अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको छ । 
 
राजवंशीमाथिलाई पेट्रोल छर्केर आगो लगाउने व्यक्तिहरुको पहिचान भए पनि पक्राउ पर्न सकेका छैनन् ।  घटनामा संलग्न मधेसी मोर्चाका कार्यकर्ताहरु अजय सिंह, जुगेन्द्र मुखिया र जितेन्द्र मुखियाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता एवं डीएसपी प्रमोद खरेलले जानकारी दिए । 
 
कस्ता साथीभाई ? 
बब्लुले आफ्नै चिनेजानका र सधैं हासो मजाक गर्ने साथीहरुले नै मधेस आन्दोलनको नाममा आफैंलाई पेट्रोल खन्याएर आगो नै लगाइदेलान् भन्ने कल्पना समेत गरेका थिएनन् । तर, त्यसो भएन । उनले सोचे विपरित मधेस आन्दोलनमा लागेका साथीभाईबाटै बिहीबार बिहान १० बजे आफैंले भारतको सीमा बजारबाट ल्याएको पेट्रोल खन्याएर आगो लगाई दिए । उनको दायाँ हात र खुट्टाका औंलाहरु जलेर काम नलाग्ने भएका छन् । अनुहार जोगिएपनि पेट, हात खुट्टा, तिघ्रा ढाड आगोले डढेका छन् ।
 
मोरङको खोर्सानेस्थित दाजुको ग्यारेजका लागि उनले को १५ प २४५० नम्बरको मोटरसाइकलमा ३० लिटर जति पेट्रोल लिएर फर्किरहेका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षको बेडमा पल्टिरहेका बब्लुले नाकाबन्दी, बन्द हड्तालपछि पेट्रोलको हाहाकार भएकाले मोटरसाइकलमा पेट्रोलको ग्यालेन लिएर फर्किरहेको सुनाए । अचानक भातिगन्ज–२ रामजानकी चोकमा रोकेर आगो लगाएको उनले बताए ।
 
बब्लुले भने,‘पेट्रोल लिएर फर्कँदा साथीहरुले आज बन्दको बेला किन पेट्रोल ल्याएको भनेर सोधे ।’ जवाफमा बब्लुले दाजु हिराकाजी राजवंशीको आफ्नै ग्यारेजका लागि पेट्रोल ल्याएको साथी हो । मलाइ त छाडि देउन यार भनेको सुनाए । त्यति भन्दा सबै साथीहरु चुपचाप लागे । त्यसबेला उनी मोटरसाइकलसँगै उभिएकै थिए । पछि, एकजनाले मोटरसाइकलको दुइ तिर झुण्ड्याएर राखेको ग्यालेन निकालेर खुकुरीले हाने । ग्यालेन फुटे पछि सबै तेल जताततै पोखियो । आफ्नो शरीर भरी पेट्रोल परेको बब्लुले बताए । त्यस लगतै एकजनाले सलाई कोरेर आगो लगायो । अनि सबै भागे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ