arrow

महन्थ र राजेन्द्रसंग रिसाए उपेन्द्र, ‘वार्ता मोर्चासँग होईन संघीय गठबन्धनसँग हुनुपर्छ’

चुनाव ज्ञानेन्द्रले पनि गराएका थिए, केपी ओली पञ्चायती फर्मुलामा चलिरहेका छन्

logo
प्रकाशित २०७३ असार १५ बुधबार
upendra-yadav--cunab-spek.jpg.jpeg
काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकाले समस्या समाधानका लागि वार्ता आफुहरुसंगै गर्नु पर्ने स्पष्ट पारेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र मोर्चाको अलग्गै अस्तित्व रहेकोले अलग्गैपनि वार्ता गर्न सकिने धारणा बाहिर आइरहेको बेला राजधानीमा आयोजित साक्षात्कारमा उनले भने,‘मधेसी मोर्चा पनि संघीय गठबन्धनमै छ ।
 
गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै वार्ता गर्नु पर्छ । अलग–अलग वार्ता गरेर समस्याको समाधान निस्कँदैन । सकेसम्म आन्दोलनमा रहेका र संविधासभाको निर्वाचनमा नरहेका सवैसँग वार्ता गरे मुलुकले निकास पाउँछ । मोर्चासँग वार्ता गरेर समस्याको समाधान हुँदैन । यदी सरकारले वार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै गरेर निकास निकाल्नुपर्छ ।’
 
यादवले गठबन्धनको आन्दोलनमा मधेसी मोर्चाको समेत समर्थन रहेको जिकिर  गर्दै मोर्चाका घटकका कार्यकर्ताहरु अनसनमा सहभागि भइरहेको अवस्थामा राजेन्द्र महतो र महन्थ ठाकुर किन सहभागि नभएको भन्ने विषय उहाँहरुलाई नै सोध्न सुझाव दिए । उनले गठबन्धनमा आवद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको जिकिर गर्दै गठबन्धनका दलले भने जो संयोजक भए केही फरक नपर्ने र संयोजकले आन्दोलन भने हाक्न सक्नु पर्ने धारणा राखे । 
 
यादवले भने,‘ मलाई गठबन्धनमा रहेका २८ दलले संयोजक चयन गरेको हो । यसमा सबैको समर्थन छ तर कसैलाई व्यक्तिगत रुपमा इश्र्या भए मलाई केही भन्नु छैन ।’उनले आफूले भन्ने गरेको संविधान पुनःलेखन र संशोधन फरक विषय नभएको भन्दै संशोधन समस्या समाधानको प्रक्रिया र पुनःलेखन परिणाम भएको तर्क गरे । उनले भने,‘ संशोधनको प्रक्रियाबाट विमत्ति रहेका संविधानका धारालाई पुनःलेखन गर्ने हो ।
 
संविधानका गलत प्रावधान सच्याउनै पर्छ । पुनःलेखन नगरी समस्या समाधान नै हुँदैन, मुलुकले निकास पाउँदैन ।’यादवले गठबन्धनले जारी राखेको सत्याग्रह आन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समर्थन रहेको जिकिर गर्दै एमाले बाहेकका सबै दल र नागरिक समाजले समर्थन गरिसकेकाले गठबन्धनको आन्दोलन जितिसकेको ठोकुवा गरे । 
 
उनले भने,‘ सत्याग्रह आन्दोलनमा सबैले समर्थन गरिसकेपछि आन्दोलनले जित्छ ।’ यादवले सबैले समर्थन गरिसकेको आन्दोलनलाई सम्बोधन नगर्ने हो भने राज्यले शान्तिपूर्ण रुपमा कुरा सुन्दैन भन्ने पुष्टि हुने र त्यसपछि मुलुक हिंसात्मक रुपमा जाने चेतावनी दिए । 
उनले भने, ‘शान्तिपूर्ण रुपमा राज्यले नसुने आन्दोलनलाई हिंसातिर धकेल्न खोजेको पुष्टि हुन्छ । राज्यको गलत नीतिले यस्तो हुन्छ ।’
 
यादवले असार मसान्तसम्म आफूहरुको आन्दोलन सत्याग्रहकै रुपमा अघि बढ्ने र त्यसपछि पनि नसुने आन्दोलनको स्वरुप परिवर्तन हुने स्पष्ट पार्दै मुलुकमा विभेद कायम रहेसम्म आन्दोलन जारी रहने चेतावनी दिए । गठबन्धनको आन्दोलनले पहाडे विरुद्ध र विखण्डनको लागि आन्दोलन भन्ने हल्लालाई चिरेको सुनाउँदै आफूहरुको आन्दोलन राष्ट्रिय आन्दोलन भएको जिकिर गरे । 
 
उनले वार्ता प्रधानमन्त्री केपी ओलीले फागुन ४ गते आफै एकतर्फी रुपमा भंग गरेको आरोप लगाउँदै आफूहरु वार्ताबाट कहिल्यै नभाग्ने तर अबको वार्ता फलदायी भने हुनुपर्ने धारणा राखे । यादवले भने,‘ सरकार पुनःलेखन र विगतमा भएका सम्झौता कार्यान्वयन गर्न तयार भए वार्ताको लागि हामी तयार छौ । सरकारले आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरी क्षतिपूर्ति, घाईतेको उपचार, अंगभंग भएकालाई राहत र झुठा मुद्दा फिर्ता लिए वार्ताको वातावरण बन्छ ।’
 
उनले यथास्थितिमा सरकार तयारी गरेको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नहुने र आफूहरुले हुन समेत नदिने स्पष्ट पार्दै यथास्थितिमा मुलुकले निकास नपाउने दावी गरे । यादवले भने,‘ मुलुक संघीयतामा गएपछि स्थानीय निकाय प्रदेशको जिम्ममा जान्छ । केन्द्रले चुनाव गराउन खोज्नु संघीयता धरापमा पार्ने खेल हो । स्थानीय निकायको पुनःगठन नगरी, ऐन नबनाई कसरी निर्वाचन हुन्छ ?’
 
उनले थपे,‘ जवरजस्ती संविधान जारी गरेर गल्ती गरे । अब अर्को गल्ती चुनाव गराउन खोजेर गर्दैछन । चुनाव ज्ञानेन्द्रले पनि गरेका थिए । केपी ओली पञ्चायती फर्मुलामा चलिरहेका छन् ।’यादवले सत्तामा रहेका दलहरु गैरजिम्मेवार भएकोले समस्या खडा भएको आरोप लगाउँदै अहिले पनि सत्तामात्रै ओगटेर बस्ने हो भने मुलुकमा विद्रोहबाहेक अरु कुनै विकल्प बाँकी नरहने चेतावनी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ